सुदूर नेपाललाई विश्वसँग जोड्दै

मेयर नै ठेकेदार भएपछि कैलालीमा सडक निर्माणको काम अलपत्र

२०८० असार २७, ०६:५६ कमल सावद

धनगढीः मेयर नै आफै ठेकेदार भएपछि कैलालीमा सडक निर्माणको काम अलपत्र परेको छ। जिल्लाको लम्की–टीकापुर सडकको लम्बाई ३० किलोमिटर छ। दुई खण्डमा सहरी विकासले सडक कालोपत्रको काम पूरा गरेको छ। बाँकी तीन खण्डमा हुलाकी राजमार्ग आयोजना कार्यालय, धनगढीले कालोपत्रका लागि २०७७ जेठ २८ गते सम्झौता गरेको थियो। पहिलो खण्डको ८ किलोमिटरको काम पूरा भएको छ।

पहिलो खण्डमा ४० करोड १९ लाख ९१ हजारमा कुमार–कालिका जेभीले काम पूरा गरेको हो। कुमार–कालिका जेभीका लागि असार ५ गतेसम्म समय अवधि रहेको थियो। सम्झौताको समयभित्र निर्माण कम्पनीले लम्की क्षेत्रको पहिलो खण्डको काम पूरा गरेको हो। साढे तीन किलोमिटर चार लेनको सडकसमेत निर्माण गरिएको छ। हुलाकी राजमार्ग आयोजना कार्यालयका सूचना अधिकारी दीपक सुनारले पहिलो खण्डको काम पूरा भएको बताए। उनका अनुसार लम्की क्षेत्रको काम सकिएको छ।

लम्की–टीकापुर सडक खण्डको दोस्रो र तेस्रो खण्डको काम ७० प्रतिशत बाँकी छ। दोस्रो र तेस्रो खण्डको पनि २०७७ जेठ २८ गते नै सम्झौता भएको हो। दोस्रो खण्डको १० किलोमिटर सडक निर्माणका लागि ४० करोड ९९ लाख ९ हजारमा ठेक्का सम्झौता भएको थियो। पुससम्म समय अवधि रहेको दोस्रो खण्डको ३५ प्रतिशत मात्र काम भएको छ। जाजरकोटको छेडागडा नगरपालिकाका मेयर रत्नबहादुर खड्काको निर्माण कम्पनीले जिम्मा लिएको सडक निर्माणको काम अलपत्र छ।

जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले पहिलो चरणको छलफल भएको बताए। उनले भने, ‘केही क्षेत्रमा काम भयो। केही क्षेत्रमा बाँकी छ। पालिका मार्फत ठेक्का भएको हैन। हामीले आफ्नो तर्फबाट कुरा राखेका छौ।’ उनले समस्या भए पालिकासँग सहकार्यका लागि भनिएको चौधरीले बताए। यात्रुहरुलाई हैरानी भएको उनले बताए। लम्की–टीकापुर सडकको तेस्रो खण्डमा साढे ११ किलोमिटर राइमाजीले काम गर्दैछ।

३३ करोड २० लाख ६६ हजारमा सम्झौता गरिएको तेस्रो खण्डको ३० प्रतिशत मात्र काम पूरा भएको छ। पुस १३ गतेसम्म समय अवधि रहेको छ। बर्दियाको ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराज लम्साल सञ्चालन रहेको निर्माण कम्पनीले काम अलपत्र पारेको हो। सम्झौताको समय सकिन ६ महिना मात्र बाँकी रहेका बेला ७० प्रतिशत काम बाँकी छ। बर्खाको हिलोका कारण नागरिकले सास्ती पाएका छन्।

जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले पहिलो खण्डको काम पूरा भएपनि दोस्रो र तेस्रो खण्डको काम पूरा नभएको बताए। उनले भने, ‘लम्की–टीकापुर सडकको कतिपय काम सकियो। कतिपय क्षेत्रमा ठेकेदारले काम अलपत्र छोडेका छन्। नागरिकलाई सास्ती छ।’ लम्की–टीकापुर सडकलाई हुलाकी राजमार्गमा समावेश गरिएको थियो।

हुलाकी राजमार्ग र पूर्व–पश्चिम राजमार्गको शाखा सडकमा रहेको लम्की–टीकापुर सडकलाई हुलाकीमा समावेश गरेर कालोपत्रको काम थालिएको हो। लम्की क्षेत्रको पहिलो खण्डको सडक निर्माणको काम पूरा हुँदा दोस्रो र तेस्रो खण्डको काम ७० प्रतिशत अझै बाँकी छ। समयमा सडक निर्माणको काम नहुँदा स्थानीयले सास्ती खेप्नु परेको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस