सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा विद्यूत उत्पादन बढ्यो, बिजुली ‘ट्रिपिङ’बाट भने उपभोक्ता हैरान

२०८० असार २७, १२:३४ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा विद्युत उत्पादन बढेको छ। ५२ मेगावाटबाट बढेर अहिले एक सय ५ मेगावाट विद्युत उत्पादन भइरहेको छ। तर अनियमित विद्युत कटौति भने झन बढेको छ। बिजुली ट्रिपिङबाट सर्वसाधारण उपभोक्तासँगै यहाँका उद्योगी व्यवसायी हैरान छन्। वर्षायाम लागेर बिजुली उत्पादन बढ्न थाले पनि उपभोक्ताले पूर्ण रूपमा बिजुली नपाएको र ट्रिपिङको समस्या बढेको गुनासो गरेका छन।

कैलाली र कञ्चनपुर क्षेत्रमा सञ्चालित ठूला तथा साना उद्योगले पर्याप्त बिजुली नपाएको र ट्रिपिङको समस्या निकै बढेको सञ्चालकहरुको गुनासो छ। यहाँका साना ठूला सबै उद्योग ट्रिपिङ तथा कटौतीको समस्याबाट गुज्रिरहेका छन्। सुदूरपश्चिममा सरकारी र निजी क्षेत्रबाट गरी एक सय ५ मेगावाट विद्युत उत्पादन भइरहेको छ। तर अनियमित विद्युत कटौति रोकिएको छैन्।

निजी क्षेत्रबाट अपर चमेलिया, नौगाड, नौगाड–२ र मकरीगाड जलविद्युत् आयोजनाको निर्माण भइरहेका छन्। ४० मेगावाटको अपर चमेलिया, १५/१५ मेगावाटका नौगाड–१ र नौगाड–२, १० मेगावाटको मकरीगाड जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन भइरहेको छ। तर पानी प¥यो भने प्राधिकरणले लाइन दिने, नत्र काटिदिने अवस्था यथावत रहेको धनगढीका व्यवसायी विनोद खत्रीको गुनासो छ। यसले कैलाली र कञ्चनपुरमा सञ्चालित उद्योग निकै संकटमा परेको उनले बताए।

अनियमित, अपर्याप्त एवं विद्युत् ट्रिपिङको समस्याका कारण उद्योगी व्यवसायी धराशायीकै अवस्थामा पुगेको सञ्चालकको गुनासो छ। विद्युत उत्पादन बढे पनि विद्युतको माग पुरा गर्न प्राधिकरण अझै सक्षम छैन्। पहिला साँझ ५ देखि ९ बजे ट्रिपिङ हुन्थ्यो। अहिले त राति १२ बजे पनि ट्रिपिङको समस्या रहेको कञ्चनपुरका व्यवसायी किसन भाटले बताए। ‘राति त धेरै उद्योग बन्द भएका हुन्छन्। यस्तो बेला लोड नधानेको पनि भन्न मिल्दैन। बरु तालिका बनाएर १६ घण्टा बत्ती दिन्छु भनेर तालिका दिए कुनै आपत्ति हुँदैन।’

विद्युत् अनिमियत हुँदा उपभोक्ता निकै समस्यामा छन्। पछिल्लो समय ट्रिपिङको समस्या धेरै बढेको र यसले उद्योगका मेसिनरी सामग्रीमा समेत ठूलो क्षति पु¥याएको सञ्चालकको दाबी छ। कोभिडको असरबाट केही तंग्रिन थालेको व्यवसायमा बिजुलीको समस्याले झन् दुःख दिएको छ। बिजुली आउने–जाने गर्दा निकै समस्या भएको छ। मेसिन तातेको बेला झ्याप्प बत्ती जान्छ। फेरि ५ मिनेटमा आउँछ। यसले मेसिन बिग्रने समस्या झन् बढेको छ। दिनमा १०/१२ पटकसम्म ट्रिपिङ भएको छ। यसले उद्योगहरूको उत्पादनमा झनै ह्रास हुँदै गएको छ।

ट्रिपिङ र लो–भोल्टेज तथा उल्टो फेजको समस्याले निकै दुःख दिएको व्यवसायीको गुनासो छ। प्राधिकरणले बिल पठाएको एक सातामा पैसा नतिरे जरिवाना गर्छ। तर, ट्रिपिङ, लो–भोल्टेजलगायत समस्याले मालसामान खत्तम हुँदा प्राधिकरणलाई मतलब हुँदैन। तर नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख जंगबहादुर चन्दले भने बिजुली ट्रिपिङको समस्या त्यति धेरै नभएको र पुराना विद्युत तारका कारण कहिँ टुटफुट र चुँडिदा कहिलेकाँही यस्तो समस्या आउने गरेको दाबी गर्छन।

अहिले अत्तरिया–धनगढी ३३ केभी विद्युतको नयाँ प्रसारण लाइन निर्माणको काम भइरहेको छ। यसका लागि दुई करोड २२ लाख ८१ हजारमा ठेक्का सम्झौता गरिएको छ। १३ किलोमिटरभित्र नयाँ ३३ केभी प्रसारण लाइन विस्तार गर्न चार करोड ६१ लाख ९३ हजार लगानी अनुमान गरिएको छ। ६ महिनाभित्र विद्युत लाइन विस्तारको काम सक्ने गरी सम्झौता भएको प्रमुख चन्दले बताए। चैतमा पूरा हुने भनिएको काम असार सकिनै लाग्दा समेत लाइन विस्तारको काम जारी नै छ।

कमेन्ट लोड गर्नुस