सुदूर नेपाललाई विश्वसँग जोड्दै

मनसुनका कारण सुदूरपश्चिममा ३३ हजारभन्दा बढी नागरिक प्रभावित हुने अनुमान

२०८३ जेठ १७, ०३:४६ खबर संवाददाता

धनगढीः यस वर्षको मनसुनका कारण सुदूरपश्चिम प्रदेशमा ३३ हजारभन्दा बढी नागरिक प्रभावित हुने अनुमान गरिएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सुदूरपश्चिमका अनुसार बाढी, पहिरो र डुबानजस्ता विपद्बाट प्रदेशका ७ हजार ६ सय ३ घरधुरी प्रत्यक्ष प्रभावित हुनसक्ने आँकलन गरिएको हो।

मन्त्रालयका विपद् सम्पर्क व्यक्ति जनक धामीका अनुसार करिब ३३ हजार २ सय २७ जना नागरिक विपद्को जोखिममा छन्। प्रदेश सरकार र सरोकारवाला निकायहरूले सम्भावित क्षति न्यूनीकरणका लागि पूर्वतयारी र प्रतिकार्य योजना तीव्र बनाएका छन्। प्रभावित हुने स्थान र घरधुरीको पहिचान गरिसकिएको र छिट्टै कार्यविधि बनाएर जिम्मेवारी बाँडफाँट गरिने धामीले बताए।

भौगोलिक अवस्थाका कारण सुदूरपश्चिमका जिल्लामा विपद्को स्वरूप फरक–फरक रहने देखिएको छ। यस वर्ष तराईका कैलाली र कञ्चनपुर मनसुनबाट सबैभन्दा बढी प्रभावित हुने अनुमान गरिएको छ, जहाँ नदी कटान, डुबान र बाढी मुख्य चुनौती रहनेछ।

पहाडी तथा हिमाली भू–भागमा डुबानको जोखिम कम भए पनि पहिरोको सम्भावना उच्च रहेको मन्त्रालयको निष्कर्ष छ। विगतमा जथाभाबी सडक निर्माण र कमजोर भू–बनोटका कारण सामान्य वर्षामा समेत ठूला पहिरो जाने गरेको अनुभवका आधारमा यस वर्ष पनि पहाडी जिल्लामा उच्च सतर्कता अपनाउनुपर्ने धामीले बताए।

मन्त्रालयको तथ्यांकअनुसार कञ्चनपुरमा ७ हजार १ सय ३२, कैलालीमा ६ हजार १ सय ९५, डोटीमा ४ हजार ८ सय २०, बाजुरामा ३ हजार ७ सय ७६, बैतडीमा ३ हजार ३ सय ६२, डडेल्धुरामा ३ हजार १ सय ८, बझाङमा १ हजार ७ सय ७४, अछाममा १ हजार ६ सय २ र दार्चुलामा १ हजार ४ सय ६७ जना प्रभावित हुने अनुमान गरिएको छ।

मनसुन सुरु हुन लागेकाले नागरिकको जीउधन जोगाउन मन्त्रालयले विशेष कार्यदल गठन गरी सम्भावित विपद् व्यवस्थापन र प्रतिकार्यका लागि विस्तृत मस्यौदा तयार गरिसकेको छ। मनसुन सक्रिय हुनु अगावै उक्त मस्यौदालाई मन्त्रिपरिषद्बाट पारित गरी पूर्ण रूपमा कार्यान्वयनमा लैजाने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

कमेन्ट लोड गर्नुस