सुदूर नेपाललाई विश्वसँग जोड्दै

किर्ते अभियोगमा पूर्वसभासद्सहित २ जना पक्राउ

२०७६ वैशाख ६, १०:३२

पूर्व सभासद् तथा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय सदस्य वीपी यादव सरकारी छाप किर्ते अभियोगमा पक्राउ परेका छन्। यादवसँगै सप्तरीकै राजगढ गाउँपालिका– ३ नर्घो निवासी अर्का केन्द्रीय सदस्य हरि मण्डललाई पक्राउ गरिएको छ। छिन्नमस्ता गाउँपालिका– २ मोहनपुर निवासी यादव पहिलो संविधानसभामा मधेशी जनअधिकार फोरम नेपालका तर्फबाट समानुपातिक सभासद् थिए।

यादव र मण्डलसहितको संलग्नतमा अग्निसाईर कृष्णसवरण गाउँपालिकाको लेटर प्याड, प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्र यादव, २ नम्बर वडाअध्यक्ष पशुपति चौधरी र ३ नम्बर वडा अध्यक्ष अरुणकुमार चौधरीको छाप किर्ते गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। घटनाको अनुसन्धानका क्रममा दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र विष्टले जानकारी दिए।

प्रदेश नम्बर २ सरकारद्वारा सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका वडा नम्बर २ र ३ मा सञ्चालित विकास योजनाको रकम निकाल्न लेटरप्याड र छाप किर्ते गरिएको जनाइएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सडकमा माटो तथा ग्राभेल गर्न स्वीकृत योजनाको २५ लाख रुपैयाँ निकाल्न कागज तथा छाप किर्ते गरी उपभोक्ता समिति समेत किर्ते खडा गरिएको स्थानीयहरुको भनाइ छ। 

गाउँपालिकाको लेटरप्याड र छाप किर्ते गरेको भन्दै उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय सप्तरीले प्रहरीलाई पत्राचार गरी घटनाको अनुसन्धान गर्न निर्देशन दिएको थियो। पक्राउ परेका दुवै जनालाई म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। साभार - उज्यालोअनलाइन

कमेन्ट लोड गर्नुस