सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरका दुई जिल्ला पहिरोको उच्च जोखिममा, बाढीको सामना गर्दै थप दुई जिल्ला

२०८० असार २५, ०१:३८ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका पाँच जिल्ला पहिरोको जोखिममा छन्। दार्चुला, बझाङ, बाजुरा, डोटी र डडेल्धुरा पहिरोको जोखिमा छन्। त्यस्तै पहिरोको उच्च जोखिमा दुई जिल्ला छन्। बैतडी र अछाम पहिरोको उच्च जोखिममा छन्। साथै बाढीको उच्च जोखिममा रहेका दुई जिल्ला हुन कैलाली र कञ्चनपुर। मनसुन सुरु भएको एक महिनामै विपद्का घटना दोहोरिएका छन्।

विपद्का कारण विभिन्न राजमार्गका सडकमा नोक्सान भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। बाढीपहिरोबाट खेतीयोग्य जमिन र बालीनालीमा भएको क्षतिको विवरण सरकारले निकालेको छैन। अचानक हुने वर्षा र पहिरोको घटनाका सम्बन्धमा तयारी अझै पुगेको छैन। कुन ठाउँमा कुन बेला पहिरो जान्छ भन्नेबारे जानकारी कम छ।

वर्षाजन्य प्राकृतिक विपद्बाट ठूलो मानवीय क्षति हुँदै आए पनि सम्बन्धित निकायहरू तयारीमा गम्भीर देखिँदैनन्। जसका कारण हरेक वर्ष जीउधनको ठूलो क्षति हुने क्रम रोकिएको छैन। विज्ञहरूका अनुसार मनसुन सुरु भएको ४ देखि ६ सातासम्म पहिरोको घटना वृद्धि हुने र धेरैको ज्यान जाने गरेको बताउँछन्। कमजोर र भिरालो जमिन भएको क्षेत्रमा जथाभावी सडक निर्माण, अवैज्ञानिक भूउपयोग, प्राकृतिक स्रोतको अनियन्त्रित दोहनलगायत कारणले पहिरोको जोखिम बढाएको उनीहरूको भनाइ छ।

२०७९ सालको मनसुनजन्य विपद्बाट बाजुरा, दार्चुला र अछाम जिल्ला बढी प्रभावित भएका थिए। बाढीपहिरोमा परेर कसैको मृत्यु भए सरकारले परिवारलाई दुई लाख रुपैयाँ राहत दिने गर्छ। एकै परिवारका दुई वा सोभन्दा बढी मृत्यु भए पहिलोका लागि दुई लाख र दोस्रो–तेस्रो व्यक्तिका लागि एक/एक लाख रुपैयाँ दिने गर्छ। कुनै परिवारका सबै सदस्यको मृत्यु भए राहत वितरण गरिँदैन। बेपत्ता भएकाका लागि पनि सरकारले मृत्युसरह नै मानेर दुई लाख रुपैयाँ राहत दिने गरेको गरेको छ।

एक अनुसन्धानले देखाएअनुसार १० घण्टासम्म नियमित रूपमा १२ मिलिमिटर वर्षा हुँदा पहिरो जान सक्छ। यस्तै २ मिलिमिटर प्रतिघण्टाको दरले कुनै पनि स्थानमा सय घण्टा वर्षा भयो पनि पहिरो जान सक्छ। हिमालय क्षेत्रमा कुनै पनि ठाउँमा १४४ मिलिमिटर वर्षा भए पहिरो जान्छ। पहिरो गएपछि जोखिम कम गराउने किसिमका विकल्प विज्ञहरूले सुझाउन सक्छन् तर विज्ञहरूको कुरा नसुनीकन पहिरो गएकै स्थानमा सामान्य तरिकाले नै पुनः सडक बनाउँदा हरेक वर्ष समस्या निम्तिने गरेको छ।

कमेन्ट लोड गर्नुस