सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब वैदेशिक रोजगारीमा जान पालिकाबाटै श्रम स्वीकृति

२०८० असार २४, ०७:०१ नारायण अवस्थी

धनगढीः सरकारले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति पालिकाबाटै पाइने व्यवस्था गरेको छ। स्थानीय तहको रोजगार सेवा केन्द्रले  विदेश जानेहरूलाई श्रम स्वीकृति प्रदान गर्नेछ। पालिकाबाटै श्रम स्वीकृतिको काम हुने भएपछि प्रक्रियागत झन्झट कम हुने तथा समय र पैसाको बचत हुने भएको छ। धनगढी उपमहानगरपालिकामा भने नमुना रोजगार सेवा केन्द्र स्थापना भएको छ। गत बैशाख १ गतेबाट उपमहानगरले नमुना रोजगार सेवा केन्द्र स्थापना गरेको हो।

बैशाख १ गतेबाट नै अनलाइनमार्फत व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृति दिने काम हुन थालेको छ। धनगढी उपमहानगरपालिकाले रोजगार रणनीति २०८०/८५ को मस्यौदा तयार गरेको छ भने स्थानीय रोजगार संवाद मञ्चको गठन र सञ्चालन गरेको रोजगार संयोजक चन्द्रबहादुर महराले बताए। ‘नमुना रोजगार सेवा अन्तर्गत हामीले बेरोजगारहरूको तथ्याङ्क राख्ने गरेका थियौँ। आगामी आर्थिक वर्षबाट उद्योग व्यवसाय र दक्ष, अर्ध दक्ष र अदक्ष जनशक्तिको पनि विवरण तयार गर्नेछौँ,’ उनले भने, ‘रोजगारीको नक्साङ्कन र अभिलेखिकरण पनि गर्ने काम हुनेछ।

बैशाख १ गतेदेखि श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको निस्सा उपलब्ध गराउने काम पनि भइरहेको छ।’ कानूनमा तीनै तहका सरकारले बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगार प्रदान गर्न आवश्यक रोजगार कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था छ। न्यूनतम रोजगारी दिन स्थानीय सरकारले रोजगार सेवा केन्द्र स्थापना र सञ्चालनग गर्नुपर्ने व्यवस्था छ। यस्तै, रोजगारी चाहनेले रोजगार केन्द्रमा नाम लेखाउनुपर्ने र रोजगारदाताले रोजगार सेवा केन्द्र मार्फत श्रमिक माग गर्न सक्ने कानूनी व्यवस्था छ। 

स्थानीय तहमा सञ्चालित रोजगार सेवा केन्द्रले बेरोजगार व्यक्तिको निवेदन माग गर्ने, सूची तयार गर्ने र प्रतिवेदन तयार गर्नुपर्छ। यस्तै, श्रमिकको माग भएमा सूचना उपलब्ध गराउने, बेरोजगार व्यक्तिलाई रोजगारी दिने, काम गर्न इन्कार गरेमा बेरोजगारको सूचीबाट हटाउने र निर्वाह भत्ताको गणना तथा भुक्तानी प्रक्रियामा सहयोग गर्ने कार्य रोजगार सेवा केन्द्रले गर्ने रोजगार संयोजक महराले बताए।

स्थानीय तहमा स्थापना भएका रोजगार सेवा केन्द्रले बेरोजगार व्यक्ति तथा रोजगारदाताहरूको तथ्याङ्क सङ्कलन, प्राथमिकीकरण र प्रमाणीकरण गरी अध्यावधिक राख्ने काम तोकिएको छ। रोजगार सेवा केन्द्रले बजारको माग अनुरुपको सीपमूलक तथा व्यावसायिक तालिमको पनि सञ्चालन गर्नेछन्। सम्बन्धित स्थानीय तहमा उपलब्ध रोजगारीको विवरण तयार गर्ने, रोजगारदाता पहिचान गर्ने र रोजगारी गर्न सीप सिकाउने काम रोजगार सेवा केन्द्रले गर्नुपर्ने छ। 

यस्तै, वैदेशिक रोजगारीमा जान इच्छुक र गएकाहरूका लागि अनलाइन मार्फत श्रम स्वीकृति र पुनः श्रम स्वीकृति सेवा पालिकामा रहेको रोजगार सेवा केन्द्रबाट प्राप्त गर्ने व्यवस्था मिलाइएको छ। जसका कारण श्रम स्वीकृतिका लागि सुदूरपश्चिमका ८८ पालिकाबाट धनगढीको श्रम तथा रोजगार कार्यालय धाउनुपर्ने बाध्यताको हटेको छ। आफ्नो पालिकाबाटै श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिन सकिने व्यवस्था गरिएकाले सेवाग्राहीलाई सहज भएको श्रम तथा रोजगार कार्यालय धनगढीका निमित्त प्रमुख जनकसिंह उखेडाले बताए।

‘वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ भने आफ्नो पालिकाबाट सूचना लिने र श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिको काम गर्न सक्नेछन्,’ उनले भने, ‘वैदेशिक रोजगारी सम्बन्धि सूचना र तालिम दिने काम पनि रोजगार सूचना केन्द्रबाट हुने भएको छ।’ सरकारले स्थानीय तहबाटै श्रम तथा रोजगार सम्बन्धि सेवा प्रदान गर्ने उद्देश्य अनुरुप सुदूरपश्चिमका ८८ वटै पालिकामा श्रम तथा रोजगार सेवा केन्द्र स्थापना भएका छन्। व्यावसायिक सीप विकास, रोजगारी प्रबद्र्धन, उत्पादनशील रोजगारीको सिर्जना, उद्यमशीलता प्रबद्र्धन र आप्रवासनमा काम गर्न हरेक स्थानीय तहमा रोजगार सेवा केन्द्र खोलिएका छन्।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस