सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा सशस्त्र प्रहरीकै संलग्नतामा कुखुरा तस्करी

कारवाही गर्न छोडेर उन्मुक्ति

२०८० असार २३, ०६:५६ कमल सावद

धनगढीः कुखुरा व्यवसायी संघ, कैलालीले शुक्रवार बिहान एक जनालाई भारतीय कुखुरासहित नियन्त्रणमा लियो। कैलालीको त्रिनगर भन्सार नाकाबाट धनगढी उपमहानगरपालिका–३ का सुरेश थापामगरलाई साढे २७ किलोग्राम कुखुराको मासुसहित नियन्त्रणमा लिइएको हो।

कञ्चनपुरको पुर्नवास नगरपालिका–११ को युवा कृषि तथा पशुपंक्षी फर्मबाट १४ दशमलव दुई किलोग्राम मासु खरिद गरेको बिल थापामगरसँग थियो। तर कुखुरा व्यवसायी संघले सशस्त्र प्रहरी त्रिनगरमा बुझाएपछि मासुको तौल साढे २७ किलोग्राम भयो। युवा कृषि तथा पशुपंक्षी फर्ममा बोइकल कुखुरा नरहेको पत्ता लाग्यो। उक्त फर्मका सञ्चालक सुदाम श्रेष्ठले कुखुरा खरिद गरेको बिलसमेत पेस गर्न सकेनन्। 


युवा कृषि तथा पशुपंक्ष फर्म २ वर्ष अघि नै बन्द भएको कुखुरा व्यवसायी संघ, कैलालीका अध्यक्ष हरि ओलीले बताए। उनका अनुसार सुदामले स्थानीय जातका कुखुरा पालन गरेका थिए। उनले बोइलर कुखुरा पालनसमेत गरेका थिएनन्। ओलीले दिनेशखबरसँग भने, ‘उहाँ (सुदाम)ले लोकल कुखुरा पाल्नु भएको थियो। लोकल कुखुरामा घाटा लागेको हो। तस्करी गर्ने गरेको दुई/ढाई वर्ष भयो। भारतीय कुखुरा ल्याउने, फर्ममा राख्ने, फर्ममा मासु बनाएर बिक्री गर्ने।’ ओलीका अनुसार सुदामको नेशनल चोक नजिकको हाटबजारमा पनि मासु पसल छ। ‘धनगढीका प्रत्येक होटलहरुमा उहाँको मासु जान्छ। भारतीय कुखुराको मासु हो। खान योग्य होइन। कुखुरा खरिदको बिल उहाँसँग छैन,’ ओलीले भने।

युवा कृषि तथा पशुपंक्षी फर्मका सञ्चालक सुदाम श्रेष्ठ पनि सशस्त्र प्रहरी त्रिनगरमा आए। उनले सशस्त्र प्रहरीका अधिकारीहरुसँग हारगुहार गरे। सशस्त्र प्रहरी त्रिनगरका डिएपी विकाश थापालाई विभिन्न व्यक्तिबाट फोनसमेत गर्न लगाए। सशस्त्र प्रहरी त्रिनगरका एक अधिकारीको घरको छत हालेका कामदारहरुका लागि बोइलर कुखुराको मासु आवश्यक भएको उनी भन्दै थिए। सशस्त्र प्रहरीलाई समेत तस्करीको मासु बिक्रीमा उनले प्रयोग गरे। उनले विद्युतीय रिक्सा तथा श्रीमतीमार्फत बोईलरको मासु ढुवानी गर्ने गरेका थिए। उनले भेटेरिनरीको नक्कली पमाणपत्रसमेत ल्याए। शुक्रवार बिहान ९ बजे पहिलै पेस गरेको प्रमाणपत्रमा डाक्टर वसन्तबहादुर सिंहको हस्ताक्षर थियो। शुक्रवारको मितिमा नै तयार भएको प्रमाणपत्र बिहान १० नबज्दै पेस भएको हो। धनगढीको राजपुर ठेगाना उल्लेख गरिएका डाक्टर सिंहको हस्ताक्षर र प्रमाणपत्रसमेत नक्कली भएको पुष्टी भयो। श्रेष्ठले बिलसहित भेटेरिनरीको प्रमाण पत्रसमेत च्याते। सशस्त्र प्रहरीसँग सुदाम भन्दै थिए, ‘हामी फर्मवाला हौ। हामीले कुखुरा बिक्री गर्न मिल्दैन?’ 

कुखुरा पालन नगर्ने फर्म मासु बिक्री गर्दै
सुदामका अनुसार धनगढी तथा पुनर्वास क्षेत्रमा कुखुरा पालन नगरेको फर्महरुले तस्करीको बोइलर बिक्री गर्दै आएका छन्। उनीहरुले नेपालमा पालन गरिएका बोइलर कुखुराको भन्दा मासुको मूल्यसमेत कम लिने गरेका छन्। सुदामले भने, ‘ऋण दान गरेर मैले फर्म सञ्चालन गरेको हो। श्रीमतीको नाममा फर्म छ। प्यानमा सञ्चालन गर्दै आएका छौ।’ सुदानले कुखुरा व्यवसायी संघ, कैलालीका अध्यक्ष हरि ओलीले दानाको पसल सञ्चालन गरेर कुखुराको मासु बिक्री गर्दै आएको आरोप लगाए। उनले भने, ‘हरि ओलीका भतिजको ओली फिर्डस् एण्ड सप्लार्यस छ। धनगढीको सन्तोषी टोलमा छ। फिड्स भनेको दाना बिक्री गर्ने हो। कुखुरा दिन मिल्दैन। तर फिड्सको बिलमा चार÷पाँच क्वीन्टल मासु दैनिक बिक्री हुन्छ।’ उनका अनुसार धनगढीको जय लक्ष्मी पोल्टी फर्मले भारतीय कुखुरा बिक्री गर्दै आएको बताए। भारत र नेपालमा उत्पादन गरिएको कुखुराको मिसावट गर्ने  गरेको दाबी उनको छ। 

तस्करलाई उन्मुक्ति
सशस्त्र प्रहरी त्रिनगरले मात्र सुदाम श्रेष्ठको युवा कृषि तथा पशुपंक्षी फर्मको बिलमा भारतीय कुखुरा तस्करी गर्दै बिक्री गरेको तेस्रो पटक फेला पारेको हो। तर उनलाई पटक–पटक उन्मुक्ति दिने गरिएको छ। शुक्रवार पनि भारतीय अखाद्य कुखुराको मासु ढुवानी गर्ने सुरेश थापामगर र उनको मोटरसाइकललाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिन चाहेन। उनले ढुवानी गरेको साढे २७ किलोग्राम मासुमात्र नष्ट गरियो। मोटरसाइकलसहित थापा र श्रेष्ठलाई सशस्त्र प्रहरीले उन्मुक्ति दियो। थापा दोस्रे पटक सशस्त्र प्रहरीसम्म पुगेका हुन्।

सशस्त्र प्रहरी बल कैलालीका प्रमुख रामहरि अधिकारीले एक पटकका लागि छोडिएको बताए। तर सुदामलाई सशस्त्र प्रहरीले तेस्रो पटक उन्मुक्ति दिएको हो। प्रहरीले समेत उनको भारतीय कुखुराको मासु बरामद गर्दै आएको छ। उनी भने पक्राउ परेका छैनन्। सशस्त्र प्रहरीका एसपी अधिकारीले भने, ‘हामी समाजका मान्छेपनि हौ। हिजो बिल कम थियो, तर मासु बढी थियो। तर मान्छेलाई व्यवहारिक रुपमा छोडिएको हो। मिलोमतो हैन।’

युवा कृषि तथा पशुपंक्षी फर्मको बिलबाट बिक्री गरिएको मासु असार १०, १७ र २२ गते गरेर तीन पटक बरामद गरिएको छ। १७ गते सञ्चालक सुदाम श्रेष्ठलाई आगामी दिनमा भारतीय कुखुरा तस्करी नगर्ने कागज बनाएर छोडिएको थियो। तर उनलाई शुक्रवारसमेत उन्मुक्ति दिएपछि सशस्त्र प्रहरी र तस्करहरु बिचमा मिलोमतो रहेको आशंका गरिएको छ। तर एसपी अधिकारीले तस्करसँग मिलोमतो नभएको दाबी गरेका छन्। उनले भने, ‘तस्करीलाई नियन्त्रण गर्दै आएका छौ। नष्ट हुने कुरा भन्सारले बुझ्दैन। मान्छेहरु र सामान मात्र भन्सार बुझाउने हो। हाम्रो मुचुल्काका आधारमा मुद्दा चल्ने हो। अवैध बाटोबाट पनि तस्करी हुँदै आएको छ।’
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस