सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ६९ र कञ्चनपुरमा ४८ हजार हेक्टरमा धानखेती गरिँदै

२०८० असार २२, ०१:२६ खबर संवाददाता

धनगढीः कैलालीमा करिब ७५ प्रतिशत रोपाइँ सकिएको छ। त्यस्तै कञ्चनपुरमा भने झण्डै ६५ प्रतिशत रोपाइँ सम्पन्न भएको हो। नियमित रुपमा वर्षा भए केहिदिनभित्रै रोपाइँ सकिने अनुमान छ। कृषि ज्ञान केन्द्रका अनुसार कञ्चनपुरमा ४८ हजार हेक्टरमा रोपाइँ गरिन्छ। कैलालीमा भने यसवर्ष ६९ हजार ३ सय हेक्टेरमा धान खेती गरिँदैछ।

मनसुन केही ढिलो गरी सुरु भएका कारण यस वर्ष रोपाइँ केही ढिलो गरी सुरु भएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका निमित्त प्रमुख हरिदत्त जोशीले बताए। उनका अनुसार कञ्चनपुरमा धानको उत्पादकत्व साढे ३ मेट्रिकटन प्रति हेक्टर रहेको छ। कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माले असारभित्र रोपाइँ सम्पन्न भएमा धान उत्पादकत्वमा कुनै समस्या नहुने बताए।

कैलालीमा धानखेती हुने ६९ हजार ३ सय हेक्टरमध्ये ५३ प्रतिशत सिञ्चित क्षेत्र रहेको छ। उनका अनुसार कैलाली जिल्ला वर्षे धानमा सबैभन्दा बढी क्षेत्रफलमा खेती हुने र उत्पादनमा देशमै झापापछि दोस्रो स्थानमा छ। वर्षे धानभन्दा राम्रो उत्पादकत्व रहेको चैते धान खेती भने कञ्चनपुरमा वर्षेनी घट्दो अवस्थामा छ। ४/५ वर्ष अघिसम्म ५ सय हेक्टर क्षेत्रफलमा हुने चैते धानखेती अहिले घटेर सय हेक्टर हाराहारी पुगेको छ।

कैलालीमा भने चैते धानको उत्पादकत्व पाँच टन प्रतिहेक्टर रहेको छ भने वर्षेधान ४ टनदेखि सवा ४ टनसम्म उत्पादन हुने गरेको छ। कैलालीमा यो बर्ष ११ सय हेक्टरमा चैते धानखेती गरिएको छ। यसैबीच गतवर्षदेखि सरकारले कैलालीमा मसिनो धान उत्पादनका लागि अनुदानमा आधारित कार्यक्रम सुरु गरेको छ।

सरकारले कृषि ज्ञान केन्द्रमार्फत किसानहरूलाई मसिनो धानखेतीतर्फ आकर्षण बढाउन उन्नत जातको धानको बिउ, सिँचाइका लागि बोरिङ, किटनाशक औषधि र धान बिक्री गर्दा सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा कम नहुने गरी बिक्रीको व्यवस्था मिलाउने व्यवस्था गरेको छ। गतवर्ष मसिनो धानखेती प्रवद्र्धनका लागि सरकारले एक करोड ८० लाख अनुदान दिएको थियो। 

सुदूरपश्चिममा ८९ हजार ४९१ हेक्टर जमिनमा वर्षभरी सिँचाइ सुविधा उपलब्ध छ। ८० हजार २९४ हेक्टर जमिनमा आंशिक सिँचाइ उपलब्ध छ। सुदूरपश्चिम प्रदेशमा १ लाख ७९ हजार ८९८ हेक्टर क्षेत्रमा धान खेती गर्न सकिने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले तयार गरेको तथ्याङ्कले देखाएको छ।

सुदूरपश्चिममा सबैभन्दा बढी धान खेती हुने जिल्ला कैलाली र कञ्चनपुर हुन्। कैलालीमा ६७ हजार २९७ हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ भने कञ्चनपुरमा ४८ हजार ४९६ हेक्टरमा धान खेती हुन्छ। कैलालीमा १ लाख ७९ हजार ६२६ मेट्रिक टन धान उत्पादन हुन्छ भने कञ्चनपुरमा १ लाख २३ हजार ६६५ मेट्रिक टन धान उत्पादन हुने गर्छ।

कमेन्ट लोड गर्नुस