सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटामा सय शय्याको अस्पताल सञ्चालन गर्न १४१ जनशक्तिको माग

२०८० असार २१, ०४:३५ कमल सावद

धनगढीः कैलालीको गेटामा सय  शय्याको अस्पताल सञ्चालनका लागि १४१ जना जनशक्तिको दरबन्दी स्वीकृत गर्न माग गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय मन्त्रिपरिषद्मा  १४१ जना जनशक्तिको दरबन्दी माग गर्दै स्वीकृतका लागि फाइल पठाएको हो। 

अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीले बिहिवार मन्त्रिपरिषद्मा फाइल गएको बताए। उनले भने, ‘एक सय शय्याको अस्पताल सञ्चालनका लागि १४१ जनशक्ति आवश्यक पर्छ। प्राविधिक र प्रशासन तिरका कर्मचारी माग गरिएको हो। जनशक्तिको विषयको प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ। कर्मचारीको दरबन्दी स्वीकृतका लागि स्वास्थ्य मन्त्रालयले फाइल मन्त्रिपरिषद्मा लगेको हो।’ जोशीका अनुसार प्राविधिक तथा प्रशासन तथा सफाइ कर्मचारीहरु अस्पताल सञ्चालनका लागि आवश्यक हुनेछन्। 

उनले भने, ‘केही कर्मचारीहरु मन्त्रालयले पठाउने छ। मन्त्रालयको निर्णयको आधारमा विभागले पनि कर्मचारी पठाउने छ। तर, चिकित्सकहरुका लागि मन्त्रिपरिषद्को निर्णय आवश्यक पर्छ। दरबन्दी स्वीकृतका लागि फाइल मन्त्रिपरिषद्मा गएको छ।’ उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट फाइल सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पुगेको बताए। स्वास्थ्य मन्त्रालयको प्रस्ताव संघीय मन्त्रिपरिषद्ले स्वीकृत गरे गेटामा अस्पताल सञ्चालन हुनेछ। 

संघीय मन्त्रिपरिषद्ले सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालन गर्ने निर्णय गरेकोमा स्वास्थ्य मन्त्रालयले एक सय शय्याको अस्पताल सञ्चालनका लागि प्रस्ताव गरेको हो। गेटामा अस्पताल सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले उपकरणसमेत पठाएको छ। जोशीका अनुसार सय शय्याको अस्पताल सञ्चालनका लागि शय्या, प्रयोगशालाका सामान र अल्ट्रासाउण्डका उपकरणहरु गेटा पुगेका छन्। प्रयोगशालाका उपकरण र एक्सरे मेसिन भने आउन बाँकी छन्। १०० शय्याको अस्पतालका लागि आवश्यक उपकरणहरु आउने जोशीको दाबी छ। अस्पताल सञ्चालनका लागि पानीको व्यवस्थापनको काम पूर्वाधार विकास समितिले गरिरहेको छ। उपकरण र जनशक्तिको काम पूरा भए संघीय स्वास्थ्यमन्त्रालयको स्वीकृतमा सय शय्याको अस्पताल सञ्चालनमा आउने छ। दरबन्दी स्वीकृत लगत्तै अस्पताल सञ्चालनमा आउने जोशीले बताए।

गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक चालु अधिवेशनबाटै पारित हुनुपर्ने र ६ सय शय्याको अस्पताल सञ्चालन हुनुपर्ने माग राख्दै एक महिनादेखि आन्दोलन भइरहेको छ। बिहीवार संघर्ष समितिले गेटामा हवन गरेको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस