सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी र बैतडीसहित देशभरका ११ ठाउँमा मनसुनजन्य पूर्वतयारी सामग्री व्यवस्थापन

फाइल फोटो
फाइल फोटो
२०८० असार २१, ०८:१२ खबर संवाददाता

धनगढीः धनगढी र बैतडीसहित देशभरका ११ ठाउँमा मनसुनजन्य बाढीपहिरो तथा अन्य विपद्का पूर्वतयारी सामग्री व्यवस्थापन गरेको छ। विपदमा आवश्यक खोज, उद्धार तथा पुनर्स्थापना र राहतका लागि आवश्यक पूर्वतयारी गरेको गृह मन्त्रालयले जनाएको हो।

उद्धार तथा राहत व्यवस्थापनका लागि काठमाडौं, विराटनगर, वीरगञ्ज, भैरहवा, सुर्खेत, नेपालगञ्ज, धनगढी, तेह्रथुम, महोत्तरी, बैतडी र जुम्ला गरी ११ ठाउँमा यो तयारी गरिएको गृह मन्त्रालयले जनाएको हो। मानवीय सहायतास्थलबाट आवश्यक क्षेत्रमा राहत पुर्याइनेछ।

विभिन्न ११ ठाउँमा पाँच हजारभन्दा धेरै टेन्ट, झण्डै १० हजार थान तारकुलिन (छाना), झण्डै ५ हजार थान ब्ल्याङ्केट र झुल तयारी अवस्थामा छ। विपद् जोखिम न्यूनीकरणलाई प्रभावकारी बनाउन सरकारले राष्ट्रिय प्रतिकार्य कार्यढाँचा २०७५ तयार गरी विभिन्न ११ वटा मन्त्रालय सहभागी रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्ययोजना तयार गरेको थियो।

बाढीपहिरोबाट राष्ट्रिय राजमार्ग अवरुद्ध भए तत्काल सञ्चालनका लागि सेनाले चार वटा बेलिब्रिज तयारी अवस्थामा राखेको छ। मनसुनमा हुन सक्ने विपद् जोखिमको न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी गरिएको र यसमा मुख्य भूमिका भने पालिकाको हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव एवं प्रवक्ता ध्रुवबहादुर खड्काले बताए। यस वर्षको मनसुनमा देशभर १२ लाख ५४ हजार जनाभन्दा धेरै नागरिक प्रभावित हुने पूर्वानुमान छ। साथै २ लाख ८६ हजारभन्दा धेरै घरधुरीमा असर पुग्ने सम्भावना छ।
 

कमेन्ट लोड गर्नुस