सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा भूमिगत पानीको स्रोत सुक्दै, पुनर्भरणको यस्तो छ नीतिगत निर्णय

२०८० असार २०, ०६:५४ कमल सावद

धनगढीः कैलालीसहित तराईका जिल्लाहरुमा भूमिगत पानीको स्रोत कम हुँदै गएको छ। धनगढीसहितका सहरहरुमा क्रकिटका कारण पानीको पुनरर्भर (रिचार्ज) हुँदैन। सुदूरपश्चिमको एक मात्र उपमहानगर धनगढीमा तीव्र रुपमा भौतिक संरचनाहरु निर्माण हुँदैछन्। सिमेन्ट, बालुवा र गिट्टिका संरचनाका कारण भूमिगत पानीको पुनर्भरण हुँदैन्।

वर्षाको पानी सडकका नाली हुँदै नदी तथा खोलाहरुसम्म जाने गरेको छ। वर्षाको पानी जमिन मुनिसम्म नजाने भएकाले धनगढीमा भूमिगत पानीको स्रोत कम हुँदै धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले बताए। उनले भने, ‘खानेपानीको समस्या छ। खानेपानीको दीर्घकालिन समस्या समाधानका लागि खुटियाको पानी ल्याउनुपर्ने छ। खुटियो नहरको पानी धनगढी ल्याउछौ। पानीको पुनर्भरणका लागि खुटियाको नहर प्रयोग गर्ने नीति बनाएका छौ। सिँचाइका लागि त्यो नहर प्रयोग हुँदैन। जमिनमा पूरा पलटिङ्ग भएको छ।’

तराईका जिल्लामा जमिनको सतहमुनि पानीको स्रोत हुँदै आएको भए पनि पछिल्ला वर्षहरुमा गर्मीको समयमा पानीको आहाकार हुने गरेको छ। पानीका लागि गाडिएका हात्तेपप्म तथा डिप बोरिङ्गहरुमा पानी सुक्ने समस्या देखिएको छ। १०÷१५ फिटमा आउने पानी जमिनको धेरै तलसम्म जाँदा पनि पानी नभेटिने समस्या देखिएको छ। भूमिगत पानीको स्रोत कम हुँदै गएपछि धनगढी उपमहानगरपालिकाले भने नयाँ नीतिगत निर्णय गरेको छ।

उपमहानगरपालिकाले भूमिगत पानीको स्रोत वृद्धि गर्न पुनर्भरण र कुलो तथा तालहरुको संरक्षण गर्ने नीति अघि सारेको छ। कुलो र तालहरुको संरक्षणले धनगढीमा भूमिगत पानीको मात्रा वृद्धि हुने दाबी छ। ‘धनगढीमा खोलाहरु नभएका भए, मोहना, कैलाली नालाहरु नभएको भए समस्या हुने थियो। तर अब हामीले बर्खाको पानी जमिन मुनि पठाउने नीति बनाएका हौ। रिर्चाजको नीति लिएका छौ। नत्र धनगढी कोकाकुल हुन्छ,’ उनले भने।

सुदूर तराईका जिल्लाहरुमा भूमिगत पानीको प्रयोगका लागि कुनै अनुमति चाँहिदैन। वर्षाको पानी संकलन तथा पुनर्भरण प्रविधिको अहिलेसम्म प्रयोग भएको छैन। तर धनगढीमा आगामी आर्थिक वर्षदेखि वर्षाको पानी जमिन मुनिसम्म जाने प्रविधिको प्रयोग गर्ने नीतिगत निर्णय गरिएको छ। उपमहानगरपालिकाको नीति तथा कार्यक्रममा नै उक्त विषय समावेश भएकाले बजेटसमेत विनियोजन गरिएको दाबी छ। नगरप्रमुख हमालले धनगढीको राम्रो अभ्यास प्रदेशका अन्य स्थानीय तहहरुले समेत सोको गर्ने भएकाले फरक कामको सुरुवात गर्दै आएको बताए।

उनले धनगढीको खानेपानीको समस्या दीर्घकालिन समाधानका लागि योजना ल्याउन बताएका हुन्। पुनर्भरण जमिनमुनिबाट पानी निकालेपछि घटेको सतह पूर्ति गर्ने प्रक्रिया हो। भूमिगत पानीको सहतलाई पुनर्भरण गर्नुपर्ने भएपछि घना आवादी रहेको धनगढीका सडकका नाली निर्माणमा पनि यो प्रविधिको प्रयोग गरिनेछ। सडकका नाली निर्माण गर्दासमेत जमिन मुनिसम्म पानी जाने प्रविधिको सुरुवात गरिने भएको हो। 

सुदूरपश्चिमको एक मात्र उपमहमानगर धनगढीले भूमिगत पानीको संरक्षण गर्ने नीतिगत निर्णय गरेको छ। उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीतिमा भूमिगत पानी संरक्षणको नीति लिएको हो। धनगढी तराई भूभागमा रहेकाले भूमिगत पानी संरक्षणको नीति अवलम्बन गरिएको छ। भूमिगत पानीको संरक्षणका लागि पुराना कुलो तथा तालहरुलाई पुनर्भरणका लागि प्रयोग गरिने छ। नयाँ भौतिक संरचना निर्माण गर्दासमेत भूमिगत पानीको संरक्षणलाई ध्यान दिइने छ। जमिन मुनिको पानीको स्रोत कम हुँदै गएको भन्दै उपमहानगरपालिकाले पहिलो पटक पुनर्भरणको नीति अवलम्बन गरेको हो।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस