सुदूरपश्चिममा ‘इन्जेक्टिड’ ड्रग्स झन खतरनाक, ४९३ युवायुवती खोरभित्र
वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिममा लागुऔषधको समस्या विकराल बन्दै गएको छ। विशेष गरी कैलाली र कञ्चनपुरका ग्रामीण क्षेत्रदेखि बजारसम्मै लागूऔषध प्रयोगकर्ता तथा ढुवानीकर्ताको बिगबिगीले समस्या विकराल बन्दै गएको छ। प्रहरीले दिनहुँ लागुऔषध सेवन, विक्रीवितरण र ओसारपसारमा संलग्नहरुलाई पक्राउ गर्दै आए पनि समस्या हल हुन सकेको छैन्।
कञ्चनपुरबाट मात्र पछिल्लो चार वर्षमा ४७२ मुद्दामा ८११ जना लागुऔषधसहित पक्राउ परिसकेका छन्। जिल्लाभित्र ४ वर्षको अवधिमा सबैभन्दा बढी चरेस ८० किलोग्राम बरामद भएको छ। त्यसैगरी लागुऔषध, नाइट्राभेट, फेनारगन, रेक्सोजेसिक र डाइजेपामलगायतका लागूऔषध ठूलो मात्रामा बरामद भएको छ। पक्राउ परेका अधिकांश ३० वर्षमुनिका छन्।
भीमदत्त नगरपालिकाको ब्रम्हदेवदेखि पुनर्वास नगरपालिकाको डोकेबजारसम्म १२९ दशमलव ५ किलोमिटर सीमा भारतसँग जोडिएको छ। जुनसुकै ठाउँबाट पनि खुलेआम भारततर्फ पसेर लागूऔषध ल्याएर आउने बढेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायब उपरीक्षक भरत चौधरीले लागुऔषध दुव्र्यसनी ठुलो समस्याको रुपमा देखा परेको बताए।
लागुऔषधको जालो भत्काउन प्रदेश प्रहरी कार्यालय कठोर भएर लागेको उनले बताए। चालु आर्थिक वर्षको साउनदेखि अहिलेसम्म लागुऔषध मुद्दामा ७८८ जनालाई पक्राउ गरिएको छ। ७२७ पुरुष र ६१ महिला छन्। साथै लागुऔषधका ४९३ मुद्दा दर्ता भएका छन्। सो अवधिसम्म गाँजा ४८ किलो बढी, चरेस १११ किलो बढी र एक किलो भन्दा बढी खैरोहिरोइन बरामद गरिसकेको छ। तर लागुऔषधमा संलग्नहरु दैनिक रुपमा पक्राउ पर्न थालेपनि न्युनिकरण भने हुन सकेको छैन्।
पछिल्लो समय लागुऔषधमा फस्ने महिलाको संख्या पनि बढ्दै गएको प्रहरी उपरीक्षक चौधरीले बताए। हाल प्रहरीको हिरासतमा रहेका दुई सय ६७ जनामध्ये ५० प्रतिशतभन्दा बढी अर्थात् एक सय ३७ जना लागुऔषध मुद्दाका छन्। प्रदेशका नौवटै जिल्ला कारागारमा एक हजार पाँच सय ९० कैदीबन्दी रहेकोमा तीन सय ७७ जना लागूऔषध मुद्दाका रहेको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ।
आर्थिक वर्ष २०७६÷७७ मा लागुऔषधसम्बन्धी मुद्दामा प्रदेशभरि १३ महिलासहित दुई सय ७० जना पक्राउ परेकोमा चालू आर्थिक वर्षको ११ महिनामा ६ सय ७० जना पक्राउ परेको तथ्यांक छ। सोमध्ये ५३ जना महिला छन्। हार्ड ड्रग्स प्रयोगकर्ताको संख्या पनि पछिल्लो समय बढ्दो छ। हार्ड ड्रग्समा गाँजा, रक्सी पर्दैन। लागुऔषध सेवन गर्नेको भाषामा हार्ड ड्रग्स लिने व्यक्ति चरम लागुऔषध सेवनको नसामा फसिसकेका हुन्छन्। हार्ड ड्रग्स लिनेहरूको रोजाइँमा पर्ने गर्छ, कोरेक्स, ब्राउनसुगर, अफिम, सिरिन्ज हान्ने। लागुऔषध सेवन गर्नेहरूका लागि यो अन्तिम चरण पनि हो। यसलाई ‘इन्जेक्टिड’ ड्रग्स प्रयोगकर्ता भनिन्छ।