सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा साढे १२ करोडका दुई पुल निर्माणको काम अलपत्र, ठेकेदार बेपत्ता

२०८० असार १९, ०६:३३ कमल सावद

धनगढीः जगतराम चौधरी सोमवार कैलालीको अण्डैया खोला तर्दै थिए। काठको पुलबाट ओहोर–दोहोर गर्दै आएका उनी सोमवार भने नदीबाट बडैपुर आउदै थिए। लाखौ खर्चेर निर्माण गरिएको काठको पुल नदीले बगाएपछि उनी बाढीमै पसेका हुन्। नयाँ पक्की पुलको काम अलपत्र पारिएको भन्दै उनी आक्रोशित थिए। उनी भन्दै थिए, ‘भल आयो भने, उताको मान्छे उतै, यताको मान्छे यतै हुन्छ।

पुलमा गाडी जाँदैन। बिरामीलाई बढी समस्या हुने गरेको छ।  सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय कैलाली र वाई पी कन्ट्रक्सनबिच २०७७ श्रावण १ गते पुल निर्माणका लागि सम्झौता भयो। निर्माण कम्पनीले २०७९ असार ३१ सम्म पुल निर्माणको काम सक्नुपर्ने थियो। तर, म्याद सकिएको एक वर्ष वितिसक्दा पनि निर्माण कम्पनी बेपत्ता छ।

वाई पी कन्ट्रक्सनले पुलको काम अलपत्र पारेपछि स्थानीय भने हैरान छन्। एक स्थानीयले भने, ‘नदीले काठको पुल बगायो। नयाँ पुल अलपत्र छ। ठेकेदार देखिदैन, महिनौ भयो। काठको पुल मर्मत हुँदैछ।’ गौरीगंगा नगरपालिकाको अण्डैया नदीमा बाढी आएका बेला बिरामी, विद्यार्थी तथा व्यवसायीहरुलाई पुल नहुँदा सबैभन्दा बढी समस्या हुने गरेको छ। वर्षा भएको दिन विद्यार्थी विद्यालय जान पाउँदैनन्।

अण्डैया खोलाको बाढीले आवात–जावत बन्द हुने गरेको छ। पुरानो काठको पुलसमेत बाढीले बगाएपछि स्थानीयलाई नदी वारपार गर्न झन समस्या भएको छ। गत वर्षको असार ३१ गते भित्रै पुल निर्माण भइसक्नु पर्ने भए पनि अहिलेसम्म पिल्लर समेत गाडिएको छैन्। पाँच करोड २८ लाखमा अण्डैयामा पक्की पुल निर्माणको ठेक्का सम्झौता भएको थियो। पूर्वाधार विकास कार्यालय कैलालीले निर्माण कम्पनीलाई पटक–पटक मौखिक र लिखित पत्राचार गर्दै आए पनि बाँकी काम अघि बढ्न सकेको छैन।

पूर्वाधार विकास कार्यालय कैलालीका निमिक्त प्रमुख रामचन्द्र खत्रीले पुल निर्माणको सम्झौता अवधि सकिएको भए पनि काम हुन नसकेको बताए। उनले म्याद थप गर्ने पक्षमा आफू नरहेको बताए। पुल निर्माणको काम अलपत्र पार्ने निर्माण कम्पनीलाई कारबाही गर्ने उनले बताए। उनले भने, एउटा पुलमा काम भएन। समय सकिएको छ। काम नगरेको जस्तो देखियो। कारबाही गर्छ।’ गौरीगंगा नगरपालिकाको पुरानो चौमाला बजार जोड्ने पुल निर्माणका लागि सात करोड २७ लाखमा सम्झौता भएको थियो।

चौमाला नदीमा पुल निर्माणको काम अझै सुरु भएको छैन्। चौमालाको पुल निर्माणका लागि डिजाइनमै त्रुटि भएको निर्माण कम्पनीको दाबी छ। कैलालीको गौरीगंगामा निर्माणाधिन १२ करोड ५५ लाखका दुईवटा पक्की पुल निर्माणको काम अलपत्र परेको हो। पुल निर्माणको समय सकिएको एक वर्ष पूरा भइसक्दा पनि निर्माणको काम आधा पनि भएको छैन्। पुल निर्माणको काम सन्तोषजनक नभएको भन्दै प्रदेश सरकार सम्झौता तोड्ने दाबी गर्दै आए पनि काम कारवाही भने अघि बढ्न सकेको छैन्।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस