धनगढीमा विजय चौधरी मृत्यु प्रकरणः यस्तो छ घटनाको बेलीविस्तार
धनगढीः गत जेठ २५ गते धनगढी उपमहानगरपालिका–१९ दक्षिण लल्लीपुरमा विजय चौधरी मृत भेटिए। जेठ २४ गते दिनभर घर नजिकै मजदुरी गरेका विजय २५ गते बिहान ७ बजे घरबाट करिब सात किलोमीटर पूर्व–दक्षिण मृत भेटिएका हुन्। खेतमा काम गर्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले बेवारिसे शवको मुचुल्का बनाएर शव उठाएको थियो।
विजय चौधरीको घर धनगढी–१८ क्याम्पस टोलमा छ। घरभन्दा १५ मिटर दक्षिण ओम शान्तीको भवन निर्माण भइरहेको छ। त्यहीँ भवनमा विजय मजदुर गर्थे। विजयसँगै सुनिल चौधरी र दिनेश चौधरी पनि त्यहीँ काम गर्थे। साँझ छुट्टी भएपछि विजय, सुनिल र कोचु भनिने हनुमान चौधरी फूलवारी क्याम्पस अगाडि राजेन्द्र बोहराको होटलमा पार्टी गर्न बसे। उनीहरूले त्यहाँ खानपिन गरेका थिए। खानपिनपछि कहिले उनीहरू त्यहाँबाट निस्के त्यो समय एकिन नभएको विजयका परिवारले बताए।
२४ गते विजयले आफ्नो मोबाइल घरमै छोडेका थिए। राति ११ः०२ मा सुनिलको मोबाइलबाट विजयको मोबाइलमा ४ पटक फोन आएको थियो। राति आएको फोन विजयी पत्नी सीमाले थाहा पाइनन्। सीमा विजय साथीहरूसँग गएकाले पछि घर फर्केर आइ हाल्लान् भन्ने ठानेर ढुक्क थिइन्। त्यसैले उनले विजय घरमा नआउँदा पनि त्यति मतलब नगरेको बताइन्। बिहानसम्म पनि विजय घर नआउँदा सीमाले विजयको मोबाइल हेर्दा सुनिलको फोनबाट राति ४ पटक फोन आएको थाहा पाइन्।
बिहान ५ बजे सुनिललाई सीमाले फोन गर्न खोज्दा फोन लागेन। बिहान सात बजे सुनिलको मोबाइलमा एक पटक सम्पर्क भए पनि फोन उठेन। जेठ २५ गते बिहान ८ बजेसम्म पनि विजय घरमा नआएपछि सीमा विजयबारे सोधपुछ गर्न उनी काम गर्दै आएको ओम शान्ती भवनमा पुगिन्। काम गर्ने ठाउँमा भेटिएका गेटलाल चौधरीलाई विजयबारे सोधपुछ गर्दा उनले दिनेश र सुनिलसँग विजय गएकाले उनीहरूलाई नै सोधपुछ गर्नु भन्ने जबाफ दिए।
त्यसपछि सीमा दिनेश चौधरीको घरमा गएर विजयबारे सोधपुछ गर्दा दिनेशले आफूलाई थाहा नभएको प्रतिक्रिया दिएको सीमाले बताइन्। ‘म बिहान दिनेश दाइको घरमा सोध्न गए। उनी घरभित्र थिए’ उनले भनिन्, ‘मैले तपाईको भाइ कता छन् भन्दा उनले घर जान्छु भन्दै थियो भने तर थप कुरा केही बताएनन्।’
सुनिलले के भने?
२५ गते दिउँसो १२ बजे सीमा सुनिलको घर सोध्न गइन्। सीमा घरमा पुदा सुनिल घरभित्रै रहेको र उनी आमाले बाहिर बोलाउदा पनि बाहिर आएनन्। सुनिल बाहिर नआएपछि भित्रै गएर सोधपुछ गर्दा ‘मैले राति नै फोन गरेको थिएँ। तर उठाएनौ’ भन्ने जबाफ दिए।सुनिलकी आमाले भने सुनिल रातभर घरमा नभएको सीमालाई बताइन्। सुनिलकी आमाले छोराको घुँडामा पनि चोट लागेको बताएकी थिइन्। तर, सुनिल भने साइकलमा हावा भरेर घरबाट निस्किए। सीमाले सोधेको कुराको सुनिलले कुनै जबाफ दिएनन्।
सीमा सुनिलको घरबाट फर्किए घर आउँदा काम गर्ने ठाउँमा निर्माण व्यवसायी महेश शर्मा भेटिए। सीमाले शर्मालाई पनि विजय घर नआएको बताइन्। शर्माले जो मान्छेहरू हिजो साथमा थिए, उनीहरूलाई नै खोजेर ल्याउन भनेर भन भन्ने सुझाव दिए। सीमाका अन्य छिमेकी भने २५ गते दिउँसो धनगढी–१९ फूलबारीमा भएको गोतियार सम्मेलनमा गएका थिए। उनीहरूले दक्षिण लल्लीपुरमा मृतक व्यक्ति फेला परेको थाहा पाएका थिए। सीमाले प्रहरी चौकीमा बुझ्दा प्रहरीले बताएको हुलियाको आधारमा विजय नै मृतक हुन् कि भन्ने आशंका गरिन्। यतिञ्जेलसम्म बेवारिसे लासको मुचुल्का बनाएर प्रहरीले विजयको शवलाई धनगढी ल्याइसकेको थियो।
छिमेकी डम्बरसिंह कडायतको बकपत्र
क्याम्पस टोलमै बस्ने विजयका छिमेकी डम्बरसिंह कठायत २४ गते राति १०ः३० मा फूलबारी चक्रपथ हुँदै ससुराली जाँदै थिए। कठायतले कुशवल विकको घर अगाडि हनुमान चौधरीलाई आफ्नो बाइकमा पश्चिमतर्फ फर्केर बसेको देखेका थिए। कठायतले विजय र सुनिललाई भने रोडमा बसेको देखेका थिए। हनुमान चौधरीले कठायतलाई कहाँ जाँदै छौ? भन्ने प्रश्न गरेका थिए। तर, रक्सी पिएको मान्छेसँग के बोल्ने भनेर कठायत केही नबोली ससुरालीतर्फ जान्छन्। आधा घण्टापछि ससुरालीबाट घर फर्किदा कठायतले कसैलाई पनि रोडमा नदेखेको बताएका छन्।
विजयको लास पहिचान भएपछि के भयो?
२५ गते आफन्त विजयका बुवा सालिकराम चौधरी र विजयको ठुलो बुवाको छोरा जागुराम चौधरी सेती प्रादेशिक अस्पताल पुगेर लास पहिचान गरेका थिए। विजयको मृत्यु भएको खुलेपछि २४ गते राति विजयसँगै रहेका हनुमान, सुनिल र दिनेश चौधरी विजयको घरमा आएनन्। उनीहरूलाई भलमन्साले पटकपटक बोलाउँदा बल्ल आएका थिए।
भलमन्सा रामबहादुर चौधरीले बोलाउदा राति १२ बजे विजयको घरमा आएका हनुमान, दिनेश र सुनिलसँग स्थानीयले सोधपुछ गर्दा तीनैको भनाइ फरकफरक आएको थियो। तीनै जनाबिच कुराकानी गर्दागर्दै आपसमै झगडा हुन थाल्यो। बोलाउदा राति १२ बजे विजयको घरमा आएका हनुमान, दिनेश र सुनिलसँग स्थानीयले सोधपुछ गर्दा तीनैको भनाइ फरकफरक आएको थियो। तीनै जनाबिच कुराकानी गर्दागर्दै आपसमै झगडा हुन थाल्यो।
दिनेशले के भने?
दिनेश चौधरीले आफ्नो घरमा रक्सी सेवन नगरेको जिकिर गरेका थिए। उनले विजय, सुनिल र दिनेशसँग नगएको बताएका थिए। दिनेशले आफू खाना खाएर सुतेको बताएका थिए। दिनेशले हनुमान, सुनिल र विजय आफ्नो घरबाट २४ गते राति ९ बजे निक्लिएको बयान दिएका थिए। उनले एक घण्टापछि हनुमान र सुनिल आएर विजय हराएको र तीनै जना विजय खोज्न गएको बताए। दिनेशले विजयलाई खोज्दा नभेट्टाएको बताएका थिए।
हनुमान र सुनिलले के भने?
हनुमान र सुनिलले दिनेशको घरमा रक्सी सेवन गरेको बताएका थिए। उनीहरूले तीनै जना विजयलाई खोज्न गएको बताएका थिए। उनीहरूले विजय दिनेशको घरबाट साइकलमा निक्लेको र आफूहरू बाइकमा विजयलाई खोज्न गएको बताएको विजयको परिवारले बताएको छ।
दिनेशको घर अगाडि बाइक दुर्घटना राति ११ बजे दिनेशको घरभन्दा करिब सय मिटर अगाडि हनुमानको मोटरसाइकल दुर्घटना भएको स्थानीयको दाबी छ। दुर्घटना हुँदा रक्सी सेवन गरेकाले विजयलाई चोट लागेको हुनुपर्ने आशंका परिवारले गरेको छ।
विजयलाई चोट लागेपछि हनुमान र सुनिलले वडा नम्बर १८ को प्रगति सामुदायिक वनमा लगेको र त्यहीँबाट विजयको मोबाइलमा फोन गरिएको अनुमान विजयको परिवारले गरेको छ। त्यसपछि चोट मान्छेको उपचार गर्न समस्या हुने डरले विजयको घाँटी थिचेर हत्या गरिएको परिवारको भनाइ छ। दिनेश, हनुमान र सुनिलको नाममा विजयको परिवारले कर्तव्य ज्यानको किटानी जाहेरी दिएको छ।
कैलाली प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। तर, अनुसन्धान पीडित मैत्री नभए पीडकमैत्री भएको भन्दै विजयको परिवारले असन्तुष्ट जनाएका छन्। उनीहरूले प्रहरीले सेती प्रादेशिक अस्पतालमै पनि रक्सी सेवन गरेर मृत्यु भएको मुचुल्का तयाए गरेको बताएका छन्। विजयको ससुराली पक्षले बिरोध गरेपछि अर्को मुचुल्का बनाइएको थियो। प्रहरीले अनुसन्धान गरिरहेको भए पनि सुनिल, हनुमान र दिनेशले नै विजयको हत्या गरेको पुष्टि हुने प्रमाण या अनुसन्धान गर्न सहज हुने क्लु खोजेर ल्याउनु भन्न थालेका छन्। प्रहरी विजय हत्याको अनुसन्धान पीडक पक्षबाट प्रभावित भएको गुनासो गरेका छन्। कैलाली प्रहरीले भने विजयको मृत्युको अनुसन्धान सकेर फाइल जिल्ला सरकारी वकिलको कार्यालयमा पठाएको बताएको छ। प्रहरी निरीक्षक खगेन्द्र साउँदले अनुसन्धान सकेर फाइल सरकारी वकिलको कार्यालयमा बुझाएको बताए।

