सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज गुरुपूर्णिमा, गुरुको सम्मान गर्ने दिन

२०८० असार १८, ०७:३८ खबर संवाददाता

धनगढीः आषाढ शुक्ल पूर्णिमा अर्थात् ज्ञान दिने गुरुको सम्मान गर्ने दिन। १८ पुराणका रचयिता महर्षि व्यासको जन्मजयन्ती पनि सोमवार मनाइँदैछ। सोमबार ३० घडी २७ पला अर्थात ५ बजेर २५ मिनेटसम्म पूर्णिमा तिथि छ। गुरुदेवो भव भनेर सनातन संस्कृतिमा गुरुलाई देवताकै स्थान दिइएको छ।

ज्ञान दिएर व्यक्तिको जीवन परिवर्तन गराइदिने हुनाले मातापिताभन्दा गुरु ठूला हुन्छन् भन्ने सनातन वैदिक धर्मको मान्यता छ। मनुस्मृतिअनुसार जन्म दिने, संस्कार दिने र मन्त्र दिने वा वेद पढाउनेलाई गुरु भनिन्छ। वैदिक परम्परामा व्यक्तिको ज्ञानप्राप्ति र चरित्रनिर्माणमा माता, पिता र आचार्य (गुरु)को मुख्य भूमिका रहने मानिएको छ।

मानिसको पहिलो गुरु माता र त्यसपछि पितालाई मानिएको छ। व्रतबन्धका बेला गायत्री मन्त्र दिने र वेद पढाउनेलाई गुरु भनिन्छ। निष्काम भावले विद्या प्रदान गर्नेलाई गुरु भनिन्छ। श्रीमद्भागवत महापुराणको एकादश स्कन्धको सातौँ, आठौँ र नवौँ अध्यायमा २४ गुरुहरूको प्रसङ्ग आउँछ। दत्तात्रेयले पृथ्वी, वायु, आकाश, जल, अग्नि, हात्ती, माहुरी, हरिण, माछा, सर्प, माकुरा र कमलकोटी गरी २४ सजीव निर्जीव वस्तुलाई गुरु मानेका छन्। 

कमेन्ट लोड गर्नुस