सुदूर नेपाललाई विश्वसँग जोड्दै

लागुऔषधमा संलग्न ७ जना एकैदिन पक्राउ, धनगढीका दुई युवा खोरभित्र

२०८० असार १६, ०४:४७ खबर संवाददाता

धनगढीः कञ्चनपुरबाट पाँच र कैलालीबाट दुई गरी एकैदिन लागुऔषधमा संलग्न ७ जना पक्राउ परेका छन्। प्रहरीले दुबै जिल्लाका छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो। कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडा सडकघाटबाट लागुऔषधसहित शुक्रबार दुई जनालाई पक्राउ गरिएको छ।

शुक्लाफाँटा नगरपालिका–७ का भरत सिंह र नरेन्द्रसिंह ठगुन्नालाई प्रहरीले तीन ग्राम ४७ मिलीग्राम लागुऔषधसहित पक्राउ गरेको हो। त्यस्तै भीमदत्त नगरपालिका–७ हल्दुखालबाट पनि लागुऔषधसहित २६ वर्षीय बिकाश चन्दसहित तीन जनालाई शुक्रवार पक्राउ गरिएको छ। ७ दशमलव ७३ ग्राम लागुऔषध, ८ दशमलव ७० ग्राम चरेश, चार थान मोबाईल र २० हजार ८ सय नगदसहित तीनै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

गोप्य सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो महेन्द्रनगरबाट खटिइएको प्रहरी टोलीले उनीहरुलाई लागुऔषधसहित पक्राउ गरेको हो। यता कैलालीको धनगढीबाट पनि लागुऔषधसहित थप दुई जनालाई पक्राउ गरिएको छ। धनगढी उपमहानगरपालिका–३ त्रिनगर व्यारेलमा लागुऔषधसहित धनगढी उपमहानगरपालिक–९ का २२ वर्षीय विशेष योगी र २३ वर्षीय रमेश जोशीलाई पक्राउ गरिएको हो।

योगीले चलाएको मोटरसाइकलको भाईजरमा दुई ग्राम पाँच सय मिलिग्राम लागुऔषध राखेको फेला परेपछि दुबै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीले सुदूरपश्चिमक विभिन्न स्थानबाट चालु आर्थिक वर्षको साउनदेखि असार १५ गतेसम्म लागुऔषध मुद्दामा ७८८ जनालाई पक्राउ गरेको छ। जसमध्ये ७२७ पुरुष र ६१ महिला छन्।

सो अवधिसम्म लागुऔषधका ४९३ मुद्दा दर्ता भएका छन्। साढे एघार महिनामा प्रहरीले गाँजा ४८ किलो ८०६ ग्राम ५ सय मिलिग्राम बरामद गरेको छ। यस्तै, चरेस १११ किलो ३३४ ग्राम ५३४ मिलिग्राम बरामद भएको प्रदेश प्रहरीले जनाएको छ। प्रहरीले सो अवसधिसम्म एक किलो ३४५ ग्राम १९२ मिलिग्राम खैरोहिरोइन बरामद गरेको तथ्यांक छ।

कमेन्ट लोड गर्नुस