सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा २३ प्रतिशत रोपाइँ सम्पन्न, यस्तो छ धान खेतीको अवस्था

२०८० असार १५, ०१:५६ नारायण अवस्थी

धनगढीः असार १५ अर्थात् राष्ट्रिय धान दिवसको दिनसम्म सुदूरपश्चिम प्रदेशमा २३ प्रतिशत क्षेत्रमा रोपाइँ भएको छ। कृषि विकास निर्देशनालयको तथ्याङ्कले सुदूरपश्चिममा देशभरमै सबैभन्दा बढी क्षेत्रमा रोपाइँ भएको हो। कृषि विकास निर्देशनलाय डोटीको तथ्याङ्कले सुदूरपश्चिम प्रदेशमा ३ लाख ६९ हजार ७९६ हेक्टर जमिन खेतीयोग्य रहेको छ।

जसमध्ये १ लाख ७५ हजार ७६३ हेक्टरमा यो वर्ष धान खेती हुने भएको छ। असार १५ सम्म ३९ हजार ७५० हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ। साउन १५ भित्र सबै क्षेत्रमा रोपाइँ भए र अहलेको जस्तै वर्षा भए यो वर्ष धानको उत्पादन राम्रो हुने कृषि विकास निर्देशनालयका निमित्त निर्देशक यज्ञराज जोशीले बताए। सुदूरपश्चिममा ८९ हजार ४९१ हेक्टर जमिनमा वर्षभरी सिँचाइ सुविधा उपलब्ध छ। ८० हजार २९४ हेक्टर जमिनमा आंशिक सिँचाइ उपलब्ध छ।

यो वर्ष सिँचाइ सुविधा उपलब्ध भएको क्षेत्रमा रोपाइँ भएको र बाँकी क्षेत्रमा साउन दोस्रो हप्तासम्म रोपाइँ सकिए उत्पादनमा फरक नपर्ने कृषि अधिकारीहरूले बताएका छन्। कृषि विकास निर्देशनालयको तथ्याङ्कले सुदूरपश्चिममा आर्थिक वर्ष २०७५/०७६ मा १ लाख ८१ हजार ३९६ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो। षो वर्ष ५ लाख ८६ हजार ३५३ मेट्रिक टन धान उत्पादन भएको थियो।

आर्थिक वर्ष २०७६/०७७ मा १ लाख ८१ हजार ३३७ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो। यो वर्ष ६ लाख ३२ हजार ७८० मेट्रिक टन धान उत्पादन भएको थियो। यस्तै, आर्थिक वर्ष २०७७/०७८ मा भने १ लाख ८५ हजार ८६८ हेक्टरमा धान खेती हुँदा ६ लाख ८४ हजार १५ मेट्रिक टन धान उत्पादन भएको कृषि विकास निर्देशनालयले तयार गरेको तथ्याङ्कले देखाएको छ। यो वर्ष भने १ लाख ७५ हजार ७६३ हेक्टरमा धान खेती गरिने भएको हो।

यो वर्ष सुदूरपश्चिममा मौसम र वर्षा अनुकुल भए ६ लाख ६० हजार मेट्रिक टनभन्दा बढी धान उत्पादन हुने निमित्त कृषि निर्देशक जोशीले बताए। वर्षा अनुकुल हुनु, सिँचाइको क्षेत्र विस्तार हुनु, प्रविधिको प्रयोग बढ्नु र मलको समेत सहज उपलब्धता भएर धान खेती राम्रो हुने अनुमान जोशीको छ।
सबैको पेशा कृषि तर उत्पादन घट्दो
नेपाल कृषि प्रधान देश भनिए पनि कृषि उपजको उत्पादन र कृषि क्षेत्रको क्षेत्रफल हरेक वर्ष खुम्चिने क्रममा रहेको निमित्त कृषि निर्देशक जोशीले बताए। उनले खेती योग्य जमिनको खण्डीकरण, युवा जनशक्तिको विदेश पलायन, वन्यजन्तुको आक्रमण जस्ता कुराले कृषि उत्पादनमका ह्रास आइरहेको बताए। सुदूरपश्चिमका अधिकांशले आफ्नो मुख्य पेशा कृषि बताउने गरे पनि कृषि उत्पादनमा गुणात्मक वृद्धि हुन नसकेको कृषि अधिकारीहरूले बताएका छन्। एक पटक सुदूरपश्चिम सरकारले सघन कृषि गणना गर्नुपर्ने कृषि अधिकारीले बताएका छन्।
सुदूरपश्चिममा कुन जिल्लामा कति धान खेती?
सुदूरपश्चिम प्रदेशमा १ लाख ७९ हजार ८९८ हेक्टर क्षेत्रमा धान खेती गर्न सकिने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले तयार गरेको तथ्याङ्कले देखाएको छ। सुदूरपश्चिममा सबैभन्दा बढी धान खेती हुने जिल्ला कैलाली र कञ्चनपुर हुन्। कैलालीमा ६७ हजार २९७ हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ भने कञ्चनपुरमा ४८ हजार ४९६ हेक्टरमा धान खेती हुन्छ। कैलालीमा १ लाख ७९ हजार ६२६ मेट्रिक टन धान उत्पादन हुन्छ भने कञ्चनपुरमा १ लाख २३ हजार ६६५ मेट्रिक टन धान उत्पादन हुने गर्छ।

सुदूरपश्चिममा तेस्रो बढी धान खेती हुने जिल्ला अछाममा १६ हजार ५९० हेक्टरमा धान खेती गरिन्छ भने यो जिल्लामा ३५ हजार ७८५ मेट्रिक टन धान उत्पादन हुने तथ्याङ्कले देखाएको छ। यसैगरी, डोटीमा १० हजार ७ सय हेक्टरमा धान खेती हुन्छ भने बझाङमा १० हजार ३ सय हेक्टर क्षेत्रमा धान खेती हुने गरेको छ। डोटीमा २९ हजार एक सय मेट्रिक टन र बझाङमा २७ हजार ६०९ मेट्रिक टन धान उत्पादन हुन्छ।

छैटौं बढी धान खेती हुने जिल्ला बैतडीमा ९ हजार हेक्टरमा धान खेती गरिँदा १६ हजार २० मेट्रिक टन उत्पादन हुने प्रदेशको कृषि मन्त्रालयको तथ्याङ्कले देखाएको छ। यस्तै, बाजुरामा ६ हजार ९१५ हेक्टरमा धान खेती हुन्छ भने १३ हजार १४० मेट्रिक टन धान उत्पादन हुन्छ। डडेल्धुरा र दार्चुलामा क्रमशः ६ हजार १२० हेक्टर र ४ हजार ४८० हेक्टरमा धान खेती हुन्छ। डडेल्धुरामा १९ हजार ५ सय मेट्रिक टन र दार्चुलामा १२ हजार ९६ मेट्रिक टन धान उत्पादन हुने गरेको सरकारी तथ्याङ्कले देखाएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस