सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पताल स्तरोन्नतिको योजना नयाँ बजेटमा पनि अटाएन

२०८० असार १४, ०६:५८ नारायण अवस्थी

धनगढीः वि.स.२०४० मा कैलाली जिल्ला अस्पतालबाट ५० शय्या क्षमताको अञ्चल अस्पताल भएको सेती प्रादेशिक अस्पतालको ४० वर्षसम्म स्तरोन्नति गरिएको छैन। ४० वर्षको अन्तरालमा सुदूरपश्चिमको जनसंख्या २७ लाख पुगेको छ। तर, सेती लगायत यहाँका अस्पतालहरूको क्षमता बढाउन सरकारको ध्यान पुगेको छैन। 

प्रदेश सरकार गठन भएपछि सेती अस्पताललाई प्रदेश सरकार मातहत राखेर प्रादेशिक अस्पताल घोषणा गरियो। प्रदेश सरकार मातहत आएपछि संघीय सरकारको सहयोग र समन्वयमा सेती अस्पतालमा केही सुधार भएको छ। तर, यो पर्याप्त नभएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले बताए। ‘सेतीमा पाँच वर्ष अगाडिको तुलनामा सुधार भएको छ। संघीय सरकारको सहयोगमा उपकरण र उपचार सेवा विस्तार भएको छ,’ उनले भने, ‘तर, स्थायी जनशक्ति व्यवस्थापन नहुँदा समस्या छ। करार सेवाको जनशक्ति नियुक्त गरेर काममा लगाउँदा बिचमै छोडेर जाने गरेका कारण उपचार सेवा प्रभावित हुने गरेको छ।’

सेती अस्पताल प्रदेश सरकार मातहत आएपछि संघीय सरकारको सहयोगमा उपकरण र सेवा विस्तार गर्ने काम भएको छ। अस्पतालमा विभाग र विभिन्न रोगको उपचार सेवा विस्तार गरिएको छ। आइसियू, एनआइसियू, एचडियू, डाइलायसिस, सिटीस्क्यान सेवा पछिल्लो पाँच वर्षमा थपिएका हुन्। 

यस्तै, अस्पताल प्रयोगशालाको क्षमता विस्तार, अक्सिजन प्लान्ट जडान, भेन्टिलेटर, अस्पताल भवनको डिपिआर बनाउने कामसँगै एमआरआई मसिन अस्पतालमा पुग्ने क्रममा रहेको छ। तर, अस्पतालमा भने ५० शय्याका  लागि मात्रै स्थायी दरबन्दी छ। बिरामीको संख्या भने दिनहुँ बढ्दो छ। अस्पतालमा उपचार सेवा पनि बढाइएको छ। तर, स्थायी जनशक्तिसँगै अस्पतालमा  भवन अभाव  छ। मुटु, क्यान्सर र जलेको उपचार सेवा आवश्यक भए पनि सुरु गर्न सक्ने अवस्था छैन। जनशक्ति व्यवस्थापनका लागि अस्पतालको स्तरोन्नति हुनु आवश्यक रहेको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पाण्डेले बताए। ‘सेतीमा आउने बिरामीको संख्या धेरै छ। तर सबैको उपचार गर्ने क्षमता हामीसँग छैन,’ उनले भने, ‘सेतीमा शल्यक्रिया गर्न एक वर्षपछि पालो आउने गरेको भन्ने कुरा त सुन्नु भएकै छ। सुधारका लागि स्थायी जनशक्ति अति आवश्यक छ।’

प्रदेश सरकारले सेती अस्पताललाई दुई सय शय्यामा स्तरोन्नति गर्ने बताउँदै आएको छ। अस्पतालले ओएण्डएम गरेर सामाजिक  विकास मन्त्रालय मार्फत मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पेस गरेको छ। तर, आर्थिक वर्ष २०८०/०८१ मा  पनि सेती अस्पताललाई दुई सय शय्याको बनाउने कार्यक्रम बजेटमा समेटिएको छैन। जनशक्ति, उपकरण र भवन अभावले जनताले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा पाउन नसकेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाहले बताए। ‘सेतीमा राज्यले लगानी बढाउनु अति आवश्यक छ। अस्पतालमा न्यून जनशक्ति छ। प्रदेशभरबाट बिरामी आउँछन्, उनले भने, स्थायी जनशक्ति नथप्ने हो र सरकारको लगानी नबढ्ने हो भने सेतीले अहिले दिइरहेका सेवा पनि बन्द हुने जोखिम छ।’

सेती प्रादेशिक अस्पताललाई दुई सय शय्याको दरबन्दी नदिँदासम्म गुणस्तरीय उपचार सेवा प्रदान गर्न समस्या आइरहने अस्पतालले जनाएको छ। सेती प्रादेशिक अस्पतालको स्तर वृद्धि गर्दै दुई सय शय्या बनाउने कुरा नयाँ बजेटमा आएको छैन। प्रदेशका सबै जिल्लाबाट आउने बिरामीको गन्तव्य रहेको सेतीको क्षमता बढाउने योजना आगामी वर्षमा पनि पूरा नहुने भएको हो। दैनिक एक हजार बढी बिरामी आउने सेतीमा विशेषज्ञ जनशक्तिको अभाव छ। यस्तै, उपकरण र भवन अभावले पनि बिरामीले उपचार सेवा नपाउने अवस्था छ। 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस