जबरजस्ती करणीमा परेपछि अस्मिले गरिन् देहत्याग, एक जना पक्राउ
धनगढीः कैलालीको अत्तरियामा एक १८ वर्षीया किशोरी शनिवार मृत फेला परिन्। गोदारी नगरपालिका वडा नम्बर ४ बसन्तपुरका भक्तबहादुर बोहराकी छोरी अस्मि बोहरा मृत फेला परिन्। शनिबार करिब ४ बजेको समयमा अस्मि आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी थिइन्। उनी आफ्नै एक तले चार कोठे पक्की घरको आफू सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी थिइन्।
अस्मिले आफ्नो प्राण आफै परित्याग गरेकी हुन्। यस विषयमा अनुसन्धान गर्दै जाँदा उनी जबरजस्ती करणीमा परेर मृत्युको बाटो रोज्न पुगेको खुलेको छ। अस्मिकोे न्यायका लागि आफन्तले अत्तरियामा प्रदर्शन नै गरेका छन्। असार ९ गते आफ्नै घरमा मृत फेला परेकी अस्मिलाई देहत्याग गर्न बाध्य पार्नेलाई कारबाहीको माग गर्दै अत्तरियामा प्रदर्शन गरिएको छ।
नेपालगंजमा अध्ययनरत अस्मिमाथि नेपालगंजमै जबरजस्ती करणी भएको र कसैलाई भने ज्यान मार्ने धम्की दिएका कारण उनले मानसिक तनाबमा आएर देहत्याग गरेको आफन्तको आरोप छ। प्रहरीले अस्मिको आत्महत्या दुरुत्साहन मुद्दामा मुगुको सेरु गाउँपालिका– ३ का २१ बर्षीय डिलेन्द्र शाहीलाई पक्राउ गरिसकेको छ। अस्मिका आफन्तले मंगलबार शाही र अस्मिकी साथी लक्ष्मी खड्काका विरुद्ध किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख गणेश बरालले बताए।
उनले अश्मीसँगै नेपालगंजमा रहेको अलाईट टेक्निकल कलेजमा पढ्ने लक्ष्मी खड्काको खोजी गरिरहेको बताए। ६ महिनादेखि अलाईट टेक्निकल कलेजमा नेत्र विज्ञान बिषयमा अध्ययनरत अश्मी कलेजकै होस्टेलमा बस्दै आएकी थिइन्। उनीमाथि सोही कलेजमा अध्ययनरत लक्ष्मीको घरमा गएको बेला जबरजस्ती करणी भएको परिवारको दाबी छ। बुधबार आफन्तले अश्मी बलात्कारका दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै अत्तरिया बजारमा प्रदर्शन गरिएको छ।