सुदूर नेपाललाई विश्वसँग जोड्दै

ऐश्वर्य स्कुलको दोहन नगरिएको व्यवस्थापन समितिको दाबी, यस्तो छ भ्रम र यथार्थ

२०८० असार १३, ०१:४८ नारायण अवस्थी

धनगढीः धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसले ऐश्वर्य विद्या निकेतनको दोहन नगरेको विद्यालय व्यवस्थापन समितिले दाबी गरेको छ। गत असार १ गते दिनेशखबरमा ’यसरी गरिँदैछ ऐश्वर्य विद्या निकेतनको दोहन’ शिर्षकमा प्रकाशित समाचार कपोकल्पित र भ्रमपूर्ण रहेको व्यवस्थापन समितिका अध्यक्ष नृपबहादुर वडद्वारा हस्ताक्षरित समाचारको खण्डन गरिएको पत्रमा उल्लेख छ।

ऐश्वर्य सार्वजिनक शैक्षिक गुठीको विधान, २०५९ बमोजिम स्नातक तहसम्म शिक्षा दिने उद्देश्यले विद्यालय व्यवस्थापन समितिको निर्णयले ऐश्वर्य बहुमुखी क्याम्पस खोलिएको तथ्य पेस गरिएको छ। ऐश्वर्य सार्वजनिक शैक्षिक गुठी अन्तर्गत विद्यालय र क्याम्पस सञ्चालनमा रहेको जिकिर खण्डनमा उल्लेख छ। तर, गुठीका नाममा क्याम्पस चलाउने निर्णय गर्नुपूर्व ऐश्वर्य सार्वजनिक शैक्षिक गुठीको विधान संशोधन गर्न आवश्यक ठानिएको छैन।

विधानमा क्याम्पस सञ्चालनको मोडालिटी तय नगरी विद्यालय व्यवस्थापन समितिको निर्णयबाट अर्को त्यही प्रकृतिको संस्था चलाउन मिल्छ या मिल्दैन? भन्ने तथ्यमा विचार पुर्याइएको छैन। विधान यदी विद्यालयको मूल कानुन हो भने क्याम्पस चलाउनुभन्दा अगाडि विधान किन संशोधन गरिएन? यो प्रश्नको जवाफ विद्यालय व्यवस्थापन समितिले दिन आवश्यक ठानेको छैन। व्यवस्थापन समितिले जुनसुकै निर्णय गर्न छुट हुन्छ?

समाचारको खण्डनमा ऐश्वर्य स्कुलको ६ कट्ठा जग्गा सित्तैमा क्याम्पसको नाममा पास गरिएको भन्ने समाचार भ्रमपूर्ण हो भन्ने जिकिर व्यवस्थापन समितिको छ। तर, स्कुलको जग्गा क्याम्पसको नाममा पास गर्न पनि व्यवस्थापन समितिले निर्णय गरेको छ। भविष्यमा क्याम्पस कुनै विश्वविद्यालयको आङ्गिक भए जग्गा फिर्ता गर्ने या चलनचल्तीको मूल्य दिने निर्णय भएको व्यवस्थापन समितिले स्वीकार गरेको छ। तर, सित्तैमा जग्गा पास नगरेको पनि भनेको छ।

‘ऐश्वर्य’ नाम र ब्राण्डलाई भजाएर क्याम्पसले विद्यालयको आर्थिक र शैक्षिक शोषण नगरेको दाबी गरिए पनि ऐश्वर्य क्याम्पस खोल्ने स्पष्ट व्यवस्था विधानमा नगरी ऐश्वर्य स्कुलको स्रोत साधान प्रयोग गरेर क्याम्पस खोल्नु र चलाउनु ब्राण्ड भजाउनु होइन? ऐश्वर्य विद्या निकेतनले ‘ऐश्वर्य विद्या निकेतन माध्यमिक विद्यालय धनगढीको विद्यालय सञ्चालन विनियम, २०७८’ बनाएको छ। विनियम बन्नु अगाडि नै २०६३ मा ऐश्वर्य बहुमुखी क्याम्पस स्थापना भएको छ। तर, क्याम्पस स्थापना पूर्व ऐश्वर्य सार्वजनिक शैक्षिक गुठीको विधान संशोधन भने गरिएको छैन।

विद्यालय र क्याम्पस गुठीबाट सञ्चालित शैक्षिक संस्था हुन् भनिए पनि ऐश्वर्य सार्वजनिक शैक्षिक गुठीको विधानले ऐश्वर्य बहुमुखी क्याम्पसलाई चिन्दैन भन्ने अभिभावकहरूको जिकिर बारे भने व्यवस्थापन समिति मौन छ। ऐश्वर्य विद्या निकेतन, गुठी अन्तर्गत सञ्चालित कक्षा १२ सम्म पढाइ हुने संस्थागत विद्यालय हो भने ऐश्वर्य बहुमुखी क्याम्पस त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालित छ।

क्याम्पस चलाउन चलाखीसाथ विद्यालयको विनियम बनाउँदा क्याम्पसलाई सोझै फाइदा हुने प्रावधान राखिएको छ। विनियम विद्यालयको भए पनि केही प्रावधान प्रत्यक्ष क्याम्पसको हितमा हुने र विद्यालयलाई आर्थिक भार र शैक्षिक क्षति हुने गरी तयार गरिएका छन्। विद्यालयको विनियमले क्याम्पस चलाउन मिल्छ मिल्दैन भन्ने विषयको हेक्का राखिएको छैन।
विद्यालयमा कार्यरत दक्ष जनशक्ति क्याम्पसमा गएको विषयमा मौन
चलाखीपूर्ण तरिकाले ऐश्वर्य बहुमुखी क्याम्पस खोल्ने निर्णय ऐश्वर्य विद्या निकेतनको निर्णय पुस्तिकामा गरिएको छ। २०६३ मा खुलेको क्याम्पसका लागि विद्यालयमा पढाइ रहेका २२ जना अध्यापक र ३ जना प्रशासनिक कर्मचारीहरूलाई क्याम्पसमा समायोजन गर्ने निर्णय भएको छ। जसअनुसार विद्यालयमा अध्यापन गराइ रहेका ’क्रिम’ जनशक्ति क्याम्पसले ’हाइज्याक’ गरेको तथ्य समाचारमा उठाइए पनि यो विषयमा व्यवस्थापन समिति मौन देखियो। दक्ष जनशक्ति भेट्टाएजति अहिले पनि क्याम्पसमा लग्ने गरिएको अभिभावकको गुनासो छ। तर, व्यवस्थापन समितिले यो विषयको प्रतिवाद गरेको छैन।
‘ऐश्वर्य स्कुलको जग्गा क्याम्पसको नाममा सित्तैमा पास भएको होइन’
ऐश्वर्य विद्या निकेतनबाट शिक्षक मात्रै नभएर हसनपुरको ६ कट्ठा जग्गा पनि क्याम्पसको नाममा नामसारी गरिएको छ। ऐश्वर्य विद्या निकेतनको व्यवस्थापन समितिको २०७२ माघ ३ गते बसेको बैठकले क्याम्पसको नाममा कित्ता नम्बर ३९ को २७६३२ दशमलव शून्य ३ वर्ग फिट जग्गा राजिनामा पास गर्ने निर्णय गरेको छ। यस्तै, २०७२ पुस १५ गते बसेको व्यवस्थापन समितिको बैठकले क्याम्पस आर्थिक रुपमा सक्षम भए स्कुललाई जग्गा फिर्ता दिने या प्रचलित दर रेटअनुसार रकम विद्यालयलाई दिने निर्णय भएको छ।

रजिष्ट्रेसन पास भएको जग्गा सित्तैमा र सहजै क्याम्पसले भविष्यमा फिर्ता गर्ने या रकम चुक्ता गर्ने कल्पना विद्यालय व्यवस्थापन समितिले गरेको छ। अहिलेको प्रचलित मूल्यअनुसार ६ करोड बढीको स्कुलको जग्गा क्याम्पसको नाममा सित्तैमा आएको छ। तर, विद्यालय व्यवस्थापन समितिले सित्तैमा जग्गा पास नगरेको दाबी छ। त्यो जग्गा क्याम्पसको नाममा पास गर्दा लाग्ने रजिस्ट्रेसन दस्तुर पनि विद्यालयले नै तिरेको त होइन?
‘क्याम्पसलाई स्कुलले मासिक १६ लाख दिने कुरामा सत्यता छैन’
क्याम्पसलाई स्कुलले मासिक १६ लाख बुझाउने विषयमा सत्यता छैन भनेर व्यवस्थापन समितिले समाचारको खण्डन गरेको छ। तर, ऐश्वर्य विद्या निकेतनबाट २५ जना अनुभवी जनशक्ति क्याम्पसमा समायोजन भएको देखिन्छ। उनीहरूको मासिक तलव सुविधा वापद हुन आउने रकम भने विद्यालयले क्याम्पसको खातामा रकमान्तर गर्ने निर्णय व्यवस्थापन समितिले गरेको छ।

२०७५ साउन २९ गतेको ऐश्वर्य विद्या निकेतनको व्यवस्थापन समितिको बैठकले २५ जना अध्यापक र कर्मचारीको तलव विद्यालयको खाताबाट क्याम्पसको खातामा रकमान्तर गर्ने निर्णय गरेको छ। जसअनुसार २५ जनाका लागि १३ महिनाको तलबका लागि ऐश्वर्य विद्या निकेतनले हरेक वर्ष २ करोड ८ लाख रुपैयाँ ऐश्वर्य बहुमुखी क्याम्पसलाई रकमान्तर गर्ने गरेको छ। यो विषय विद्यालयका प्राचार्य प्रेमिनिधि ओझा, विद्यालय र क्याम्पसको दोहोरो लेखा प्रमुखको जिम्मेवारी पाएका भरथरी चौधरी र क्याम्पस प्रमुखले समेत समाचार संकलनको क्रममा भएको कुराकानीमा स्वीकार गरेका छन्।
‘विद्यालय व्यवस्थापन समितिले कानून विपरीत काम गरेको छैन’
शिक्षा ऐन, २०२८ को आठौं संशोधनको दफा १६ को उपदफा (२) मा शैक्षिक गुठीअन्तर्गत सञ्चालित संस्थागत विद्यालयको सम्पत्ति सोही विद्यालयको नाममा रहने उल्लेख छ। शिक्षा ऐनले ‘कुनै विद्यालय सार्वजनिक शैक्षिक गुठीको रुपमा सञ्चालन गरिएकोमा त्यस्तो विद्यालयको सम्पत्ति सार्वजनिक सम्पत्ति मानिनेछ। र, त्यस्तो सम्पत्तिको स्वरुप परिवर्तन गर्न पाइने छैन’ भनिएको छ। यस्तै, उपदफा (२) को (ख) मा विद्यालय बन्द भएमा सार्वजनिक गुठीको रुपमा सञ्चालित विद्यालयको सम्पत्ति सार्वजनिक सम्पत्ति हुनेछ र त्यस्तो सम्पत्ति नेपाल सरकारले कुनै सामुदायिक विद्यालय वा शैक्षिक संस्थाको प्रयोगमा ल्याउन सक्ने प्रावधान छ।

तर, ऐश्वर्य विद्या निकेतनको विद्यालय व्यवस्थापन समितिले भने विद्यालय अस्तित्वमा रहैकै अवस्थामा जग्गा क्याम्पसको नाममा निःशुल्क नामसारी गरेको छ। विद्यालय नगर शिक्षा ऐन, २०२८ र नगर शिक्षा ऐन, २०७४ अनुसार सञ्चालन हुने व्यवस्था छ। ऐश्वर्य क्याम्पस न शिक्षा ऐन, २०२८ न त नगर शिक्षा ऐन, २०७४ को अधिनमा सञ्चालित छ। त्यसैले जग्गा उपलब्ध गराउने र विद्यालयको नाम, स्रोत साधन र जनशक्ति लगेर क्याम्पस चलाउने विषय ऐश्वर्य सार्वजनिक गुठीको विधानले पनि नियमित गरेको देखिएको छैन।
‘ऐश्वर्यको विधान र विनियम नगर शिक्षा ऐन विपरीत छैन’
नगर शिक्षा ऐन, २०७४ को दफा २३ मा विद्यालयहरूले विनियमावली बनाउने व्यवस्था छ। विद्यालयले विनियमावलीमा विद्यालयको लक्ष्य, मूल्य, मान्यता, सञ्चालन प्रक्रियालगायतका अन्य सान्दर्भिक विषयवस्तु समावेश गरिएको संस्थागत विद्यालयको विधान र सामुदायिक विद्यालयले विनियमावली बनाई लागु गर्नुपर्ने व्यवस्था छ। तर, ऐश्वर्यको विधान २०५९ मा बनेको विद्यमान ऐन कानूनसँग तालमेल खाँदैन भने ऐश्वर्यको विनियमले ऐश्वर्य बहुमुखी क्याम्पसलाई पोस्ने मक्सद राखेको छ।

यस्तै, ऐश्वर्यले बनाएको विनियमले नगर शिक्षा ऐनका केही प्रावधान उल्लङ्घन गरेको देखिन्छ। ऐश्वर्यको विद्यालय व्यवस्थापन समितिको गठन र प्राचार्यको नियुक्तिको प्रावधान नगर शिक्षा ऐनसँग बाझिएको छ। नगर शिक्षा ऐन, २०७४ को दफा २१ मा संस्थागत विद्यालयको व्यावस्थापन समितिको अध्यक्ष विद्यालयको सिफारिसमा नगरप्रमुखले मनोनित गर्ने व्यवस्थाको प्रतिकूल हुने गरि विद्यालयको विनियममा अध्यक्षको नियुक्ति ऐश्वर्य क्याम्पसका क्याम्पस प्रमुखको चाहनाभन्दा बाहिर गएर गर्नै नसकिने बाध्यकारी र गैरकानूनी प्रावधान राखिएको छ। 

‘क्याम्पसलाई पोस्ने विनियम बनाइएको छैन’
ऐश्वर्य विद्या निकेतनको विनियम, २०७८ को नियम २ मा विद्यालय व्यवस्थापन समितिको गठन प्रक्रिया उल्लेख छ। विद्यालय व्यवस्थापन समितिको अध्यक्षको चयन गर्न ऐश्वर्य विद्या निकेतनका प्राचार्यले ऐश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुखसँग समन्वय गर्नुपर्ने व्यवस्था छ। यो प्रावधानले क्याम्पस प्रमुखले इच्छाएको व्यक्ति बाहेक अन्यले व्यवस्थापन समितिको अध्यक्ष हुन पाउँदैन।

जुन व्यक्तिलाई क्याम्पस प्रमुखले विद्यालयको अध्यक्ष बनायो त्यो व्यक्तिले क्याम्पस प्रमुखको इसारामा क्याम्पसका लागि अनुकुल हुने निर्णय गर्नुपर्ने बाध्यात्मक स्थिति निर्माण गरिएको छ। अध्यक्षले अनुकुल हुनै पर्ने अवस्था व्यवस्थापन समितिका अन्य सदस्यको चयनले पनि निर्धारण गरेको छ। तर, व्यवस्थापन समितिले यो विषयको प्रतिवाद गर्दै विज्ञ समूहको उपसमितिले विनियम तथा निर्देशिका बनाई लागु गरिएको दाबी छ।

विद्यालयको विनियम धनगढी उपमहानरपालिकामा पेस भएको जिकिर गरिएको छ। उपमहानगरले पनि ऐश्वर्यको विनियम अध्ययन नगरी लागु गर्ने स्वीकृति प्रदान गरेको देखिन्छ। ऐश्वर्य विद्या निकेतनको व्यवस्थापन समिति क्याम्पस प्रमुखको अधिनमा हुने व्यवस्था कायम गरिएको छ। विद्यालय व्यवस्थापन समितिमा क्याम्पस प्रमुखलाई पदेन सदस्य हुने व्यवस्था गरिएको छ। प्राचार्यको नियुक्ति पनि क्याम्पस प्रमुखको इच्छाले हुने व्यवस्था कायम गरिएको छ। समितिको अध्यक्ष, प्राचार्य, शिक्षक प्रतिनिधि र स्वयम् पदेन सदस्य रहेका क्याम्पस प्रमुखले विद्यालय व्यवस्थापन समितिमा आउने अन्य सदस्य पनि आफ्नै पक्षका मनोनित गर्न सक्ने प्रावधान विनियममा किन राखियो?

विद्यालयको विनियमको नियम २७ मा ऐश्वर्य सार्वजनिक शैक्षिक गुठीद्वारा स्थापित तथा सञ्चालित ऐश्वर्य वहुमुखी क्याम्पससमेत दुबै संस्थाको सहमतिमा योग्यता र कार्य प्रकृति मिल्ने गरी कर्मचारी स्थानान्तरण गर्न मिल्ने व्यवस्था राखिएको छ। यो प्रावधानको फाइदा पनि क्याम्पसले उठाएको छ। विद्यालयमा कार्यरत राम्रो शैक्षिक उपाधी भएका शिक्षकलाई क्याम्पसमा पढाउन समायोजनका नाममा तानिएको छ।
अध्यक्षको नियुक्ति गर्दा नगर शिक्षा ऐनको उल्लंघन भएन?
ऐश्वर्य विद्या निकेतन र ऐश्वर्य बहुमुखी क्याम्पसमा एकै व्यक्ति अध्यक्ष छन्। ९ सदस्यीय विद्यालय व्यवस्थापन समितिको अध्यक्ष नृपबहादुर वड छन् भने १५ सदस्यीय क्याम्पस व्यवस्थापन समितिको अध्यक्ष पनि वड नै छन्। विद्यालय र क्याम्पस व्यवस्थापन समितिमा प्राध्यापक डाक्टर हेमराज पन्त, सन्तोष मुडभरी, रीता भण्डारी बम, प्रेमनिधि ओझा, धर्मदेव भट्ट र राजेन्द्रप्रसाद भट्ट दोहोरो सदस्य छन्। यसरी विद्यालय र क्याम्पस व्यवस्थापन समितिमा उनै व्यक्ति राख्नुको भित्रि कारण के हो?

समाचार खण्डन गर्दै व्यवस्थापन समितिको अध्यक्षको चयन शिक्षा ऐन, २०२८ को दफा १२ को उपदफा ४(क) बमोजिम भएको व्यवस्थापन समितिले उल्लेख गरेको छ। यो दफामा विद्यालयको संस्थापक वा लगानीकर्ताहरू मध्येबाट विद्यालयको सिफारिसमा जिल्ला शिक्षा अधिकारीले मनोनित गरेको व्यक्ति व्यवस्थापन समितिको अध्यक्ष हुने व्यवस्था छ।

तर, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले माध्यमिक तहसम्मको शिक्षा सञ्चालनको जिम्मेवारी स्थानीय तहलाई दिएको छ। जसअनुसार विद्यालय व्यवस्थापन समितिको अध्यक्ष नियुक्त गर्ने अधिकार स्थानीय तहलाई छ। जिल्ला शिक्षा कार्यालय र जिल्ला शिक्षा अधिकारीलाई स्थानीय सरकार सञ्चालन ऐन र नगर शिक्षा ऐनले चिन्दैन। तसर्थ ऐश्वर्य विद्या निकेतनको विद्यालय व्यवस्थापन समितिको अध्यक्षको नियुक्तिमा प्रश्न गर्न मिल्छ? उही व्यक्ति विद्यालय र क्याम्पस व्यवस्थापन समितिमा हुनु ’कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ हो कि होइन? 
‘ऐश्वर्य विद्या निकेतनको चार तले भवनको नक्सा पास भइसक्यो’
ऐश्वर्य बहुमुखी क्याम्पसको जन्मदाता भनिएको ऐश्वर्य विद्या निकेतनमा भने विद्यार्थीका लागि भवन अभाव रहेको छ। २०३४ सालमा निर्माण गरिएका पुराना भवनमा विद्यालय सञ्चालनमा छ। कक्षा कोठा अपुग छन् भने ईटा र माटोको गारोले बनेको पुरानो भवनमा पठनपाठन गराउनु पर्ने अवस्था छ। विद्यालयले सरकारी तवरबाट भवन बनाउन बजेट पाउन सकेको छैन।

ऐश्वर्य बहुमुखी क्याम्पसलाई करोडौं मूल्यको जग्गा उपहार दिएको विद्यालयले वार्षिक थप २ करोड ८ लाख रुपैयाँ क्याम्पसलाई बुझाउने निर्णयले कसलाई फाइदा पुगेको छ? मासिक एक हजार ५ सयभन्दा कम शुल्क तिर्नेहरूका लागि मासिक २ हजार ५ सय बढी शुल्क तिर्नेहरूले ज्यानै जोखिममा पारेर जीर्ण भवनमा बस्नु न्याय संगत छ? तर, विद्यालय व्यवस्थापन समितिले समाचारको खण्डन पठाउँदै विद्यालय भवन निर्माणका लागि चार तले भवनको नक्सा पास गरेको जनाएको छ। नयाँ भवन नबन्दासम्म कक्षा कोठाको अभाव नै रहेको देखियो होइन र?
प्राचार्यको नियुक्तिमा क्याम्पसको इन्ट्रेस्ट के हो?
विद्यालय सञ्चालन विनियम, २०७८ को परिच्छेद–३ को दफा ९ अनुसार विद्यालयको प्राचार्य नियुक्ति गरिएको व्यवस्थापन समितिले स्पष्ट पारेको छ। यो प्रवाधानमा विद्यालयको दोहन गर्ने मनसाय नभएर समन्वय गर्ने सवाल प्रमुख हो भन्ने आसय प्रकट गरिएको छ। यदि त्यस्तो हो भने प्राचार्य नियुक्तिका लागि प्रमुख भूमिका खेल्ने अध्यक्षको नियुक्तिमा क्याम्पस प्रमुखको भूमिकालाई  शक्तिशाली किन बनाइयो?
क्याम्पस आर्थिक रुपले सवल हुने आधार के हुन?
व्यवस्थापन समितिले ऐश्वर्य बहुमुखी क्याम्पस आर्थिक रुपले सबल भएको दाबी गरिएको छ। यो दाबीलाई बल पुग्ने आधार क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर तथा सुनिश्चितता प्रत्याएन (क्युएए) प्राप्त गर्नु रहेको जिकिर गरिएको छ। भौतिक रुपमा क्याम्पस सबल छ तर आर्थिक रुपमा सवल छैन। त्यसैले हरेक महिना विद्यालयले क्याम्पसको खातामा १६ लाख रकमान्तर गर्दै आएको स्वयम् विद्यालयले स्वीकार गरेको छ।

क्याम्पस कुनै विश्वविद्यालयको आङ्गिक नबन्दासम्म आर्थिक रुपले आत्मनिर्भर हुनै सक्दैन भन्नु केवल कल्पना मात्रै होइन। यो वास्तविकता हो। यो कुरा हरेक वर्ष विश्वविद्यलयमा पढ्ने विद्यार्थीको संख्या देशभर नै घटिरहेको तथ्यले पनि पुष्टि गर्छ। वर्षौसम्म ऐश्वर्य स्कुलमा पढ्ने विद्यार्थीको पैसा क्याम्पसमा लगानी गरेर स्कुलले प्रतिफल के पाउने भनेर अभिभावकले प्रश्न गर्न मिल्दैन?

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस