सुदूरपश्चिमका ८८ स्थानीय तहलाई ९१ करोड ८० लाख समानीकरण अनुदान
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेशभरका ८८ स्थानीय तहलाई कुल ९१ करोड ८० लाख रुपैयाँ समानीकरण अनुदान दिने निर्णय गरेको छ।
प्रदेशको आर्थिक मामिला मन्त्रालयले जारी गरेको परिपत्रअनुसार उक्त रकम तीन आधारमा विनियोजन गरिनेछ। जसमा १५ करोड ८१ लाख ६५ हजार रुपैयाँ न्यूनतम अनुदान, ७२ करोड ३१ लाख १५ हजार रुपैयाँ सूत्रमा आधारित र ३ करोड ६७ लाख २० हजार रुपैयाँ कार्यसम्पादन मूल्यांकनका आधारमा वितरण गरिनेछ।
चालु आर्थिक वर्ष २०८२/८३ मा प्रदेश सरकारले स्थानीय तहका लागि ९० करोड रुपैयाँ समानीकरण अनुदान छुट्याएको थियो। मन्त्रालयका अनुसार उक्त अनुदान तीन किस्तामा निकासा गरिने व्यवस्था रहेकामा दुई किस्ता रकम यसअघि नै निकासा भइसकेको छ।
यसपटक पनि सबैभन्दा बढी अनुदान धनगढी उपमहानगरपालिकाले पाउने भएको छ। धनगढीले आगामी वर्ष २ करोड ७० लाख ७ हजार रुपैयाँ प्राप्त गर्नेछ। दोस्रो स्थानमा भीमदत्त नगरपालिका रहेको छ, जसले २ करोड ४२ लाख ५९ हजार रुपैयाँ पाउनेछ।
चालु वर्षमा धनगढीले २ करोड ६४ लाख ४१ हजार र भीमदत्तले २ करोड ३७ लाख ६० हजार रुपैयाँ पाएका थिए।
यता, सबैभन्दा कम अनुदान साइपाल गाउँपालिकाले पाउने भएको छ। उक्त गाउँपालिकाले आगामी वर्ष ४४ लाख ७७ हजार रुपैयाँ प्राप्त गर्नेछ। चालु वर्षमा भने उसले ४३ लाख ६ हजार रुपैयाँ पाएको थियो।