सुदूर नेपाललाई विश्वसँग जोड्दै

जोशी र भुलले पाए 'प्रदेश स्वास्थ्य प्रवर्द्धन तारा' को उपाधी

२०८० असार ११, ०९:२६ खबर संवाददाता

धनगढीः धनगढीमा सम्पन्न 'प्रदेश किशोर/किशोरी स्वास्थ्य प्रवर्द्धन तारा' को उपाधी धनगढीकी टीनु जोशी र लम्कीचुहाका सुदीप भुलले पाएका छन्। आइतवार र सोमवार दुई दिनसम्म चलेको प्रतियोगितामा सहभागी १२ जनामा किशोरीतर्फ जोशी र किशोरतर्फ भुल उत्कृष्ट भएका हुन्।

प्रदेश स्वास्थ्य प्रवर्द्धन केन्द्रले आयोजना गरेको स्वास्थ्य प्रवर्द्धन तारा छनोट गर्न प्रदेशस्तरीय खुला बहस र निबन्ध प्रतियोगिता गरिएको थियो। 'नसर्ने रोग र लागुऔषध नियन्त्रणमा म सधैं एक कदम अगाडि' भन्ने नारासहितको प्रदेशस्तरीय बहस र निबन्ध प्रतियोगिता गरिएको स्वास्थ्य प्रवर्द्धन केन्द्रका प्रमुख हेमराज खड्काले बताए।

'प्रदेश किशोर/किशोरी स्वास्थ्य प्रवर्द्धन तारा' को उपाधी पाउने जोशी र भुललाई जनही ५० हजार नगद, प्रमाणपत्र र ट्रफी प्रदान गरिएको छ। अन्य प्रतियोगीलाई प्रमाणपत्र प्रदान गरिएको छ।

प्रतियोगितामा सहभागी किशोर/किशोरीले स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने र लागुऔषध विरुद्धका अभियानमा सक्रिय रहने विश्वास गरिएको छ। आइतवार सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले उद्घाटन गरेको प्रतियोगिताको समापन विजेता र सहभागीलाई प्रमाणपत्र वितरण गर्दै सामाजिक विकास मन्त्रायका उपसचिव गणेशबहादुर सिंहले गरेका हुन्। प्रतियीगितामा सहभागी किशोर/किशोरीहरूले नसर्ने रोग विरुद्ध जनचेतना जगाउने र धुम्रपान, मद्यपान र लागुऔषधको  सेवन नगर्ने प्रतिवद्धता जनाएका छन्।
 

कमेन्ट लोड गर्नुस