सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा तीन वर्षको अवधिमा लागुऔषधमा संलग्न ५६२ जना विरुद्ध मुद्दा

२०८० असार १०, ०६:५१ नारायण अवस्थी

धनगढीः कैलालीमा तीन वर्षको अवधिमा लागुऔषधमा संलग्न ९०७ जना पक्राउ परेका छन्। लागुऔषध सेवन, ओसारपसार र विक्रीवितरणमा संलग्न सो अवधिसम्म पाँच सय ६२ जना विरुद्ध मुद्दा दायर भएको प्रहरीको अभिलेख छ। लागुऔषध न्युनिकरणका लागि समाचार लेख्न र कार्यक्रम उत्पादन गर्न सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपटबहादुर साउँदले बताए।

आइतवार धनगढीमा लागुऔषध दुरुपयोग तथा अबैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री साउँदले यस्तो आग्रह गरेका हुन्। मन्त्री साउँदले लागुऔषध हरेक घर र समाजमा पुगेको बताउँदै नियन्त्रणका लागि सबैले सहकार्य गर्नुपर्ने बताए। ‘लागुऔषध विरुद्ध सबैले एकजुट भएर लागे मात्रै नियन्त्रण गर्न सकिन्छ’ उनले भने, ‘विद्यार्थी र युवाहरूलाई स्वयंसेवक बनाएर सचेतना फैलाउन सामाजिक विकास मन्त्रालयले चाहेको छ।’

मन्त्री साउँदले युवा क्लब, बाल क्लबसँग सहकार्य गर्ने र मिडियाले दैनिक समाचारको विषयवस्तु लागुऔषधको दुर्व्यसनलाई बनाउनुपर्ने बताएका छन्। मन्त्रालयले लागुऔषध नियन्त्रण गर्न मिडियासँग सहकार्य गर्न इच्छुक रहेको मन्त्री साउँदले बताएका छन्। कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका निमित्त सचिव विश्वदिप वेस्राले लागुऔषध परिवार, समाज, देश र विश्वकै प्रमुख समस्या बनेकाले नियन्त्रणका लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताए।

उनले लागुऔषधले समाज विकृत हुन लागेकाले नियन्त्रणको अभियानमा सबैले लाग्नुपर्ने बताए। पञ्चोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिशकुमार ओझाले लागुऔषध विरुद्धको सचेतनासँगै अभिभावकले जिम्मेवारी पनि बहन गर्नुपर्ने बताए। लागुऔषध विरुद्ध बालबालिका र युवाहरूलाई परिचालन गर्न सके नियन्त्रणको प्रयास सफल हुन सक्ने प्रधानाध्यापक ओझाले बताए।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले कैलाली जिल्लामा सबैभन्दा बढी लागुऔषध प्रयोगकर्ता रहेको देखाएको छ। कैलालीमा हरेक वर्ष लागुऔषध मुद्दामा पक्राउ पर्नेको संख्या बढी रहेको प्रहरी निरीक्षक सन्तोष बस्यालले बताए। ‘कैलालीमा हरेक वर्ष लागुऔषध प्रयोगकर्ता संख्या बढेको पाइएको छ’ उनले भने, ‘हरेक वर्ष लागुऔषध मुद्दामा पक्राउ पर्ने संख्या बढेको देखिन्छ।’

प्रहरी तथ्याङ्कअनुसार कैलालीमा आर्थिक वर्ष २०७७÷७८ मा ९१ जनालाई लागुऔषध मुद्दा लगाइएको छ भने १३१ जना पक्राउ परेका छन्। आर्थिक वर्ष २०७८÷७९ मा २०१ जनालाई लागुऔषध मुद्दा लागेको छ भने ३२३ जना पक्राउ परेको प्रहरी तथ्याङ्क छ। चालु आर्थिक वर्षको जेठसम्म २७० जनाको नाममा मुद्दा दर्ता भएको छ भने ४५३ लागुऔषध प्रयोगकर्ता पक्राउ परेका छन्।

लागुऔषधमा प्रयोगकर्ता समातिए पनि डिलर भने पक्राउ पर्न नसकेको टीकापुरको नयाँ बिहानी पुनर्स्थापना केन्द्रका सञ्चालक कल्पेश कुँवरले बताए। प्रयोगकर्तासँग सानो परिमाणमा लागुऔषध बरामद हुन्छ तर वास्तविक डिलरसम्म प्रहारी पुग्न नसकेको कुँवरले बताए। ‘लागुऔषध प्रयोगकर्ता नै डिलर हुने सम्भावना हुन्छ। आफू पनि खाने र अरूका लागि पनि ओसारपसार गर्ने काम प्रयोगकर्ताले गरेका हुनेछन्’ उनले भने, ‘ठुला डिलरलाई नसमातेसम्म लागुऔषधको प्रयोग र ओसारपसार रोक्न सकिन्न। सामाजिक विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा विद्यार्थी, पूर्व लागुऔषध प्रयोगकर्ता र सरोकारवालाहरूको सहभागिता रहेको थियो।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस