सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका ९ पालिकाले खाना र खाजामा खर्चिए दुई करोड ५४ लाख

२०८० असार १०, ०१:४८ खबर संवाददाता

धनगढीः कञ्चनपुरका ९ पालिकाले खाना र खाजाको नाममा एक वर्षमा दुई करोड ५४ लाखभन्दा बढी खर्चेको पाइएको छ। आर्थिक वर्ष २०७८/७९ मा खाना र खाजामै यति ठुलो रकम खर्च भएको पाइएको हो।

महालेखाको वार्षिक प्रतिवेदनअनुसार जिल्लाका दुई गाउँपालिका र सात नगरपालिकाले खाना र विविध शीर्षक गरी दुई करोड ५४ लाख ६३६ रुपैयाँ खर्चिएका हुन्। सबैभन्दा बढी बेलौरी नगरपालिकाले ४७ लाख ७६ हजार ८१० रुपैयाँ र कृष्णपुर नगरपालिकाले ४७ लाख ५६ हजार ३२४ रुपैयाँ खर्चिएका छन्।

त्यसैगरी, शुक्लाफाँटा नगरपालिकाले ३२ लाख ३० हजार ९६४, बेदकोट नगरपालिकाले ३१ लाख ४६ हजार २८५, भीमदत्त नगरपालिकाले २६ लाख २१ हजार ३५, पुनर्वास नगरपालिकाले १७ लाख ८४ हजार, दोधारा–चाँदनी नगरपालिकाले १६ लाख ७६ हजार ८१८, लालझाडी गाउँपालिकाले १६ लाख ३४ हजार र बेलडाँडी गाउँपालिकाले १० लाख ३४ हजार खाजा–खानामा खर्च गरेको छ।

जिल्लाभित्रका पालिकाहरु विकास निर्माणका कामभन्दा खाना, खाजा, भ्रमण, अनावश्यक बैठक भत्ता लिने काममा मात्र केन्द्रित हुने गरेको स्थानीयको गुनासो छ। सरकारले सुरक्षा निकायतर्फका कर्मचारीलाई रासन उपलब्ध गराए पनि स्थानीय तहका पदाधिकारी एवं कर्मचारीलाई रासन सुविधा दिएको छैन। जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा खाना, खाजा खर्चको बिल पेस गरेर पालिकाबाट मोटो रकम खर्च हुँदै आएको पाइएको हो।

साथै खाना शीर्षक राखेर मदिरा लगायतमा समेत खर्च हुने आरोप छ। पालिका प्रमुख एवं कर्मचारीको मिलेमतोमा खाना र खाजाको नाममा पालिकबाट अनावश्यक रुपमा ठुलो रकम खर्चिने गरेको देखिएको छ। प्रचलित ऐन र व्यवस्था विपरीत खाना र खाजाको नाममा भएको खर्चलाई महालेखाले बेरुजू भनेको छ।

कमेन्ट लोड गर्नुस