सुदूर नेपाललाई विश्वसँग जोड्दै

छैटौं संस्करणको नेपाल–अमेरिका चलचित्र महोत्सव सुरू

२०८० असार ८, ०५:२३ खबर संवाददाता

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौं संस्करण सुरू भएको छ। बिहीबार वासिङ्टन डिसी मेरिल्याण्डस्थित एएफआई सिल्भर थियटरमा नेपाली फिल्म ’ऐना झ्यालको पुतली’ प्रदर्शनसँगै महोत्सव सुरू गरिएको हो।

महोत्सवमा महानायक राजेश हमाल विशेष अतिथिको रूपमा उपस्थित भएका थिए। ’फिल्म फेस्टिभल नेपाली समुदायलाई जोड्ने माध्यम हो। नेपाली डायस्पोरालाई अनुरोध गर्छु, यसलाई सहयोग गर्नुस्, यसलाई हातेमालो गर्नुस्। किनभने फिल्मले तपाईको भावना र मतिष्कमा कहिँकही सम्बोधन गर्छ। तपाईको दैनिकी वा जीवनलाई कुनै न कुनै हिसाबबाट सम्बोधन गर्छ, उत्प्रेरणा दिन्छ। त्यसैले यस्तो कलालाई नेपाली डायस्पोराले साथ र सहयोग गर्नुपर्छ,’ उनले भने।

जुन २२ देखि २५ सम्म चल्ने चलचित्र महोत्सवमा फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेसन गरी ११ देशका ३७ फिल्म प्रदर्शन हुँदैछन्। महोत्सव छनोट भएका चलचित्र ओल्ड ग्रिनवेल्ट थिएटरमा पनि प्रदर्शन हुने जनाइएको छ। महोत्सवमा निर्देशक सुबर्ण थापाको उपस्थितिमा  ’द सेक्रेट अफ राधा’ को  विशेष प्रदर्शन हुने आयोजकले जनाएको छ।

प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट फिल्महरूलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ। महोत्सवका निर्देशक युवाकार राजकर्णिरका अनुसार जुन २५ मा महोत्सव समापन तथा पुरस्कार वितरण हुनेछ।
 

कमेन्ट लोड गर्नुस