सुदूर नेपाललाई विश्वसँग जोड्दै

भन्सार छलीका सामानमा सुदूरपश्चिम प्रहरीको ‘एक्सन’, धमाधम जफत

२०८० असार ८, ०२:१० खबर संवाददाता

धनगढीः भातरबाट अवैध रुपमा सामान भित्र्याउने क्रम बढेपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले निगरानी बढाएको छ। कुनै पनि भन्सार छलीका सामान कुनै पनि स्थानबाट भित्र्याउन नदिन सुदूरपश्चिम प्रहरी एक्सनमा उत्रिएको हो। भारतसँग सीमा जोडिका कैलाली र कञ्चनपुरका सबै क्षेत्रमा प्रहरीले निगरानी बढाएको छ।

प्रहरीले विगत एक महिनादेखि भन्सार छलीका सामान बरामद गर्ने कार्यलाई तीव्रता दिइरहेको छ। सुदूरपश्चिममा लागुऔषध विरुद्ध महाअभियान चलाइरहेको प्रदेश प्रहरी कार्यालयले सँगसँगै भन्सार छलीका सामान बरामद गर्ने कार्यलाई पनि उत्तिकै जोड दिइरहेको छ। सबैभन्दा बढी कैलाली र त्यसपछि कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद भइरहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

पारी (भारत)बाट भन्सार छलीका सामान ल्याउने गरेका व्यक्ति समेत पक्राउ पर्ने गरेका छन्। यस कार्यमा प्रहरीको सक्रियता बढेपछि भन्सार राजस्वमा समेत वृद्धि हुँदै गएको छ। प्रहरीले कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट दैनिक एकपछि अर्को भन्सार छलीका सामान बरामद गर्न थालेपछि भन्सार कार्यालय कैलाली र भन्सार कार्यालय गड्डाचौकी बरामद गरिएका अबैध सामानले भरिएका छन्।

कञ्चनपुरमा भन्सार छलीका सामान बरामद

दैनिक रुपमा कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट गरी ठुलो संख्यामा यस्ता सामान बरामद हुने गरेको प्रहरीले जनाएको छ। भारतबाट भन्सार छलीका सामान ल्याउने र प्रहरी देखेपछि सामान नै छोडेर भाग्नेको संख्या पनि धेरै भएको प्रहरीले बताएको छ। प्रहरीले भन्सार छलीका सामानसहित संलग्न व्यक्ति, साइकल र मोटरसाइकल समेत नियन्त्रणमा लिने गरेको छ।

भारतबाट अवैध रुपमा सामान भित्र्याएर यहाँ व्यापार व्यवसाय गर्नेलाई प्रहरीले उच्च निगरानी राख्ने गरेको छ। घरायसी प्रयोजनका लागि स–सानो मात्रामा सामान भित्र्याउनेहरुलाई प्रहरीले विना रोकटोक छोड्ने गरेको छ। तर ठुलो मात्रामा भन्सार नतिरेरै दैनिक रुपमा सामान भित्र्याउनेमाथि भने प्रहरी कडा रुपमा प्रस्तुत हुने गरेको बताइएको छ। भन्सार छलीका सामान जफत गर्ने कार्य निरन्तर अघि बढ्न प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

कमेन्ट लोड गर्नुस