सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका निजी अस्पतालले दस प्रतिशत बिरामीलाई निःशुल्क उपचार गर्नुपर्ने

२०८० असार ८, ०७:४५ नारायण अवस्थी

धनगढीः धनगढीमा सञ्चालित निजी अस्पतालहरूले दस प्रतिशत बिरामीलाई निःशुल्क उपचार गर्नुपर्ने नीति लागु गरिने भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा धनगढीका निजी अस्पतालहरूले उपमहानगरको सिफारिसमा आफ्नो कुल शय्या संख्याको दस प्रतिशत शय्या संख्या निःशुल्क गर्नुपर्ने भएको हो।

उपमहानगरले निजी अस्पतालहरूले गरिब, असहाय र वेवारिसे नागरिकलाई निःशुल्क उपचार गर्नु पर्ने व्यवस्थालाई कडाईका साथ लागु गर्ने भएको छ। नीति तथा कार्यक्रममा उपमहानगभित्र सञ्चालनमा रहेका निजी स्वास्थ्य संस्था, औषधि पसल लगायतका स्वास्थ्य संस्थाले अनिवार्य स्वास्थ्य संस्था सञ्चालन इजाजतपत्र लिनु पर्नेछ। नगर क्षेत्रलाई सतप्रतिशत संस्थागत सुत्केरी भएको सुनिश्चितता कायम गरिने भएको छ। पूर्व प्रसूति र उत्तर प्रसूति जाँचलाई सहज बनाउन बर्थिङ सेन्टर विस्तार गर्ने नीति उपमहानगरले लिने वार्षिक नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

उपमहानगरले सरुवा तथा किटजन्य रोगहरूको रोकथाम, विपद् व्यवस्थापन पूर्वतयारी र प्रतिकार्य तथा महामारी नियन्त्रणका लागि विपद् तथा महामारी व्यवस्थापन कार्यक्रम मार्फत आवश्यक तयारी तथा समुदाय परिचालन लगायतका एकीकृत कार्यक्रम सञ्चालन गर्ने नीति उपमहानगरले लिने भएको छ।

उत्कृष्ट स्वास्थ्यकर्मीलाई पुरस्कृत गरिने
धनगढी उपमहानगरपालिकाले पारित गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा 'उत्कृष्ट स्वास्थ्यकर्मी, सम्मानित संस्था' कार्यक्रम मार्फत उपमहानगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरूलाई मापदण्ड बनाई वार्षिक रुपमा स्वास्थ्यकर्मीलाई प्रोत्साहन गरिनेछ। यस्तै, 'तपाईको स्वास्थ्य हाम्रो सरोकार' अन्तर्गत उपमहानगरवासीको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने दैनिक उपभोग्य वस्तुहरूको आपूर्ति बिक्री वितरण तथा गुणस्तरको उचित प्रत्याभूति गरिने नीति तथा कार्यक्रममा समेटिएको छ।
 

विद्यालयमा स्वास्थ्य शिक्षा कक्षा सञ्चालन गरिने
उपमहानगरले आगामी आर्थिक वर्षबाट एचआइभी एड्स र हेपाटाइटिस जस्ता सरुवा रोगहरू बारे सचेतना जगाउन हरेक महिना स्वास्थ्यकर्मीबाट सबै माध्यमिक विद्यालयमा स्वास्थ्य कक्षा सञ्चालन गरिनेछ। यस्तै, पत्रुखानाको उपभोगबाट स्वास्थ्यमा पर्ने असर बारे विद्यार्थीलाई सचेत बनाउन र बानीमा सुधार ल्याउन स्वास्थ्यकर्मीबाट कक्षा लिने व्यवस्था लागु गरिने भएको छ।
 

एक वडा एक एम्बुलेन्स
धनगढी उपमहानगरपालिकाले 'एक वडा एक एम्बुलेन्स कार्यक्रम' लाई थप प्रभावकारी बनाउने नीति लागु गर्ने भएको छ। घरमै हुने सुत्केरीलाई शून्य पार्नका लागि 'आमा बचाऊ अभियानलाई थप प्रभावकारी रुपमा सञ्चालित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

धनगढी उपमहानगरपालिकाले सिकलसेल, थालासेमिया, अटिजम रोग सम्बन्धी कार्यक्रम चलाउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ। यस्तै, सार्वजनिक स्थलमा धूमपान गर्न निषेध गर्ने तथा सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने भएको छ।

उपमहानगरपालिकाले विद्यालयस्तरमा अध्ययनरत बालबालिकाको साइकोसोम्याटिक स्क्रिनिङ गर्ने कार्यक्रम सञ्चालन गर्ने नीति लागु गर्ने भएको छ।
 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस