सुदूर नेपाललाई विश्वसँग जोड्दै

सामुदायिकमा पनि अंग्रेजी माध्यमबाट पठनपाठन

२०७५ वैशाख २६, १०:५४

सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्यून भएर बन्द हुने अवस्थामा पुगेपछि बैतडीका केही सामुदायिक विद्यालयले नयाँ शैक्षिक सत्रदेखि अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गरेका छन् । अंग्रेजी माध्यमबाट पढाइ हुने निजी विद्यालयमा विद्यार्थीको संख्या बढ्दै जान थालेपछि सामुदायिक विद्यालयले पनि अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गरेका हुन् । जिल्लाको दोगडाकेदार गाउँपालिकामा पनि शैक्षिक सत्र २०७५ देखि केही विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गरिएको छ । दोगडाकेदार गाउँपालिकाको वडा नं ३, श्रीकोटमा रहेका दुई सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ शुरु गरिएको हो । खोचलेकमा रहेको सनातन धर्म मावि र खिरेगाउँमा रहेको केदारनाथ आधारभूत विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन शुरु भएको सम्बन्धित विद्यालयले जनाएका छन् ।

सनातन धर्म मावि, खोचलेकमा कक्षा १ देखि ३ सम्म र केदारनाथ आधारभूत विद्यालयमा बालविकास र कक्षा १ मा यस शैक्षिक सत्रदेखि अंग्रेजी माध्यमबाट पढाइ शुरु गरिएको हो । आधुनिक युग सुहाउँदो शिक्षाको आवश्यकता रहेकाले अंग्रेजी भाषाको पठनपाठन शुरु गरिएको सनातन धर्म माविका प्रधानाध्यापक बलदेव नाथले बताए । समयानुकूल शिक्षा प्रदान गर्नका लागि अंग्रेजी माध्यमबाट पढाइ शुरु गरिएको उनले बताए ।

यस्तै, गत शैक्षिक सत्रसम्ममा विद्यार्थी संख्या न्यून भएको केदारनाथ आधारभूत विद्यालयमा विद्यार्थीको संख्या बढाउन अंग्रेजी माध्यमबाट पठनपाठन गरेको प्रधानाध्यापक शंकरराम ओडले जानकारी दिए । सामुदायिक विद्यालयतर्फ विद्यार्थीको आकर्षण बढाउन अंग्रेजी माध्यमबाट पढाई गर्दा विद्यार्थी संख्या बढ्ने उनको भनाई छ । सनातन धर्म मावि विसं २०१७ मा स्थापना भएको हो भने केदारनाथ आधारभूत विद्यालय विसं २०४३ मा स्थापना गरिएको हो । रासस 

कमेन्ट लोड गर्नुस