मछेली खोलामा वगेर एक वेपत्ता, एकको उद्धार

कैलालीको गोदावरी नगरपालिका–११ ओलानीमा खोलामा वगेर एक जना वेपत्ता भएका छन भने एक जनाको उद्धार गरिएको छ । मछेली खोलामा दाउरा संकलन गर्न गएका स्थानीय २५ वर्षिय सुरेश सुनार वगेर वेपत्ता भएका हुन् । उनीसँगै रहेका १७ वर्षीय शिव विकलाई स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरेको छ ।
मछेली खोलामा गएका दुवै जनामध्ये सुनार वेपत्ता हुँदा विकलाई वगाएर तीन सय मिटर तल पुराएको अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उद्धार गरिएका विकको सेती अञ्चल अस्पताल धनगढीमा उपचार भईरहेको छ । वेपत्ता सुनारको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । उता पुर्व–पश्चिम राजमार्ग अन्तर्गत रहेको खुटिया नदीमा पानीको वहाव बढ्दा विचमा फसेका महिलाको शसस्त्र प्रहरी र वडा प्रहरी कार्यालयको टोलीले उद्धार गरेको छ ।



