कैलालीमा पनि बिद्युतीय भुक्तानी प्रणाली लागु
कैलाली जिल्लामा सरकारी नियकाय बाट हुने भुक्तानीमा बिद्युतीय भुक्तानी प्रणाली आईतवारबाट लागु गरिएको छ। व्यवसाय विकास तथा परामर्श प्रालि धनगढी र पुरवार ईन्टरप्राईजेज धनगढी, कैलाली लाइ दिनु पर्ने भुक्तानी कोष तथा लेखा नियन्त्रक कार्यालयबाट सोझै सोही फर्मको नाममा रहेको बैंक खातामा रकम ट्रान्सफर गरी कैलाली जिल्लामा बिद्युतिय भुक्तानी प्रणालीको सुरुवात गरिएको हो। बिद्युतिय भुक्तानी प्रणाली लागु गर्ने कैलाली प्रदेश नं. ७ को पहिलो तथा नेपालभरिको २६ औ जिल्लाको रुपमा रहेको कोष नियन्त्रक मदन राज पाण्डेले जानकारी दिए।
बैशाख २३ गतेबाट जिल्लास्थित सबै सरकारी कार्यालयहरुले कोष तथा लेखा नियन्त्रक कार्यालयमा भुक्तानी आदेश पठाउँदा अनिबार्य बिद्युतीय भुक्तानी आदेश पठाउनुपर्छ, उनले भने । बैङ्कहरुको क्लीयरिङ चार्ज कसले भुक्तानी गर्ने भन्ने विषय स्पष्ट नभएसम्मको लागि तत्काल सरकारी कार्यालयहरुबाट हुने भुक्तानी मात्रै बिद्युतीय भुक्तानी मार्फत हुने बताइएको छ । अन्य भुक्तानी रकम चेक मार्फत नै हुने ब्यबस्था गरिएको छ ।
सोझै सम्बन्धित फर्मको नाममा भुक्तानी गर्दा भुक्तानी हुने पार्टीको नाम, खाता रहेको बैङ्कको नाम, शाखा, खाता नम्बर, खाताको प्रकार (चल्ती र बचत ) र स्थायी लेखा नम्बर (भएमा मात्रै) पछीसम्म फरक नपर्ने गरी सम्बन्धित पार्टीबाटै कार्यालयले लिखित रुपमा लिएर राख्नुपर्ने हुन्छ । बिद्युतीय माध्यमबाट भुक्तानी गर्दा एकल खाता रहेको राष्ट्रिय बाणिज्य बैङ्कमा खाता भएका पार्टीहरुको रकम तत्कालै र अन्य बैङ्कमा खाता रहेका पार्टीको रकम दोस्रो दिन क्लीयरिङ हाउसमार्फत सम्बन्धित पार्टीको नाममा जम्मा हुने ब्यबस्था रहेको कोष नियन्त्रक पाण्डेले बताए ।