विदेश गए साहु धनी, गाउँघरमै दुःख गरे आफैं धनी : कृषक अनिता केसीको कथा (भिडियो सहित)
पौरखी हातहरु : श्रृंखला ०५
प्रदेश नम्वर ७ मा रोजगारीको अवसर नपाएको भन्दै पुरुषहरु विदेशीने र महिलाहरु चुलो चौकामै केन्द्रित हुने परिपाटी नै छ । जस्ले गर्दा अधिकासं पुरुषहरुको जिन्दगी विदेशमा पसिना बगाएरै वित्ने गरेको छ भने महिलाहरुको घरायसी काम गर्दैमा वित्ते गरेको छ । तर केहि महिलाहरुले भने स्वदेशमा पसिना बगाएर विदेशमा रहेका आफ्ना श्रीमानलाई पनि आफ्नै ठाउँमा नङग्रा खियाउन सिकाएका छन् । ति मध्येकी एक हुन धनगढी बिशालनगरकी पशुपालक किसान अनिता केसी ।
२०६२ सालमा दैनिकी चलाउनै मुस्कील परेपछि कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्वर ३ की अनिता केसीले एउटा भैसी किनिन् । सोही बेला उनका श्रीमान रनत केसीले स्वदेशमा रोजगारीको अवसर नपाएको भन्दै विदेश जाने मन बनाए र मलेसीया पुगे । तीन बर्ष मलेसीयामा रोजगारी गरेर फर्कीदा अनिताले आफ्नो पशुपालनाई विस्तार गरिसकेकी थिईन तर रतनको विदेश जाने रहर अझै मेटीएन् ।
तीन बर्ष मलेसीयामा रोजगारी गरेपछि जापान जाने सोचका साथ तयारीमा लागेका रतनलाई श्रीमतीले स्वदेशमा पशुपालन व्यवसाय गरेर पसिना बगाईरहेको कुराले भने घोच्न थाल्यो । त्यसपछि जापान जाने अवसरलाई विर्सिदै रतनले पनि श्रीमतीले नै सुरु गरेको पशुपालन व्यवसायमा सहयोग गर्ने सोच बनाए ।
एउटा भैसी किनेर पशुपालनमा होमीएकी केसीले अहिले १३ बर्षमै आफ्नो व्यवसाय विस्तार गरेर एक सय बढि गाई र भैसी पालीरहेकी छन् ।
दैनिक साढे ३ सय लिटर सम्म दुध विक्री गर्दै आएकी केसीले आफ्नै फार्मबाटै प्राङगारीक मल पनि बेच्दै आएकी छन् । दैनिक साढे ३ सय लिटर सम्म दुध उत्पादन हुन थालेपछि धेरै समय सम्म केसीले बजार नपाएर दुध खेर पनि फाल्नप¥यो । सोही कुरालाई मध्यनजर गर्दै केसीले तीन बर्ष अगाडी धनगढीकै ट्राफीक चौराह नजिक केसी डेरी पनि खोलीन् । अहिले पशुपालनबाट उत्पादन भएको दुधले बजार नपाउने समस्या पनि निराकरण भईसकेको छ ।
गाई भैसीका लागि घास लगाउन यसै वर्ष १० विगाह जग्गा ठेक्कामा पनि लिएकी छन् । श्रीमतीले पशुपालन सुरु गर्दा श्रीमान विदेशमा पसिना बगाईरहेका थिए । अहिले श्रीमान, श्रीमती दुवै जना पशुपालनबाट उत्पादन भएको दुधको बजारीकरण र आफ्नो व्यवसाय व्यवस्थापनमा सक्रिय भएका छन् भने उनका लागि काम गर्ने १० जना मजदुर पनि छन् । केसी भन्छन्, विदेशमा मजदुर भएर काम गर्नुपर्ने बाध्यता र स्वदेशमा अन्यलाई समेत रोजगारी दिदै मदजुर लगाएर काम गर्नुको मज्जा वेग्लै छ ।