साल्ट ट्रेडिङ धनगढीले पुरानो भवन भत्काउने तयारी गरेपनि नयाँ भवन निर्माणको प्रक्रिया सुरु गरेन
निर्माण अघिका प्रक्रिया पुरा गर्न झण्डै एक बर्ष लाग्ने
साल्ट ट्रेडिङ धनगढीले व्यापारीका लागि सुचना जारी गर्दै सटर खाली गरि पुरानो भवन भत्काउने तयारी गरेपनि नयाँ भवन निर्माणको प्रक्रिया भने सुरु नै गरेको छैन् । साल्ट ट्रेडिङ केन्द्रिय कार्यालयले झण्डै ३० करोडमा नयाँ व्यापारीक मल बनाउने चर्चा चलेपनि निर्माणको प्रक्रिया अहिले नै सुरु हुन नसकेको जनाएको छ । यता धनगढी कार्यालयले भने पुरानो भवन भत्काउनका लागि व्यापारीलाई तीन महिना भित्र सटर खाली गर्न निर्देशन दिईएको छ । तर अहिले सम्म निर्माण अघिका प्रक्रिया समेत सुरु नभएकाले ति प्रक्रिया पुरा गर्न नै बर्षदिन लाग्ने देखिएको छ । भवन निर्माणका लागि अहिले सम्म विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने काम समेत सुरु भएको छैन् । डिपिआर तयार पार्नका लागि पनि झण्डै तीन महिना समय लाग्ने देखिएको छ ।
अनुमानित बजेट ३० करोड भएकाले वातावरणीय प्रभाव मुल्याङकन समेत गर्नुपर्ने हुन्छ तर त्यस्को सुरुवात समेत भएको छैन् ।
भवनको डिपिआर तयार भएपछि ४५ दिनको सुचना सहित बोलपत्र आह्वान गर्नुपर्ने, त्यसपछि झण्डै एक महिना ठेक्का सम्झौता र मुल्याङकमा लाग्ने छ । त्यसपछि मात्रै निर्माण व्यवसायीले निर्माणको कार्यादेश पाउने भएकाले निर्माण अघिका प्रक्रियामा नै बर्षदिन समय लाग्ने देखिएको छ । तर साल्ट ट्रेडिङ धनगढी भने तत्कालै नयाँ भवनको निर्माण सुरु हुने भन्दै पुरानो भवन भत्काउन तयारी गर्न थालेको हो । साल्ट ट्रेडिङका १७ वटा सटरबाट बार्षिक झण्डै ५५ लाख रकम संकलन भईरहेको छ तर त्यस्को वास्ता समेत नगरी पुरानो भवन भत्काउने मात्रै हतार गरेको आरोप व्यापारीहरुको छ ।
नयाँ व्यापारीक मलको निर्माणका प्रक्रियाको विषयमा केन्द्रिय कार्यालयमा बुझ्न गएको व्यापारीहरुको टोलीलाई साल्ट ट्रेडिङ केन्द्रिय कार्यालयले भने भेट्न समेत नमानेको आरोप लागेको छ । व्यापारी नवराज रिमालले धनगढी कार्यालयले केन्द्रिय कार्यालय लाई व्यापारीलाई नभेट्न भनेका कारण केन्द्रिय कार्यालयका कर्मचारीले भेट्न समेत नमानेको आरोप लगाए । व्यापारीहले निर्माण अघिका प्रक्रिया पुरा गर्न नै बर्षदिन लाग्ने भएकाले अहिले नै पुरानो भवन भत्काउने तयारीले साल्ट ट्रेडिङ धनगढीले आफ्नो अंहकार देखाउन खोजेको स्पष्ट भएको बताएका छन् ।साल्ट ट्रेडिङ धनगढीका प्रमुख केशवराज पाण्डेले यसअघि व्यवस्थापन टीम विकासमा लागेको दाबी गर्दै मल्टी कम्प्लेक्स निर्माण भए सयौं स्थानीयले रोजगारी पाउने र सरकारीको राजश्वमा वृद्धि हुने बताएका थिए । त्यसका लागि डिपिआर बनाउने तयारी भईरहेको उनको दावी थियो ।