सरकार सञ्चालनका लागि २ करोड लागतमा संरचना तयार
प्रदेश ७ को सरकार सञ्चालनका लागि छोटो अवधीमै झन्डै दुई करोडको लागतमा संरचना तयार भएका छन् । प्रदेश अस्थायी राजधानी धनगढीमा सरकार सञ्चालनका लागि २ करोडको लागतमा संरचना तयार भएका हुन् भने केही संरचना अझै निर्माणको चरणमा छन । संरचना निर्माणको जिम्मा लिएका निर्माण व्यावसायीलाई हाल सम्म कुल खर्चको करिब १८ प्रतिशत रकम भुक्तानि पनि दिई सकिएको छ ।
१ करोड ९८ लाख ४९ हजारको लागतमा प्रदेश सरकार सञ्चालनका लागि संरचना तयार गरिएका हुन् । प्रदेश कार्यालयको व्यवस्थापन, मर्मत सम्भार, रंगरोगनका लागि बजेटको अख्तियारी पाएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीका अनुसार उक्त रकममा संरचना तयार गरिएका हुन् । प्रदेश संसद भवनका लागि २२ लाख खर्च भएको जनाइएको छ । हाल सम्म कुल खर्चको करिब १८ प्रतिशत मात्रै भुक्तानी भएको छ । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीका लेखापाल कृष्ण सिह भण्डारीले कुल खर्चको १८ प्रतिशत भुक्तनि दिइएको बताए ।
मौखिक कार्यादेश मार्फत ७ जना निर्माण व्यावसायीले तयार गरेको संसद भवनमा २२ लाख रकम खर्च गरिएको छ । जसमा निमार्णको जिम्मा पाएका एमके कन्सट्रक्सनले ४ लाख २२ हजारको लागतमा प्रदेश सभा हल अगाडी र उत्तरतर्फको कम्पाउण्ड वाल मर्मत र सजावट, जगत निर्माण सेवाले ४ लाख २४ हजारमा दक्षीणतर्फको कम्पाउण्ड वाल मर्मत, दिप निर्माण सेवाले ४ लाख ८ हजार मा स्टील रेलिङ तयार पारेको छ ।
यस्तै अंकित निर्माण सेवाले ४ सय २२ हजारमा भवनको रंगरोगन गरेको छ भने ४ लाख ८ हजारको लागतमा लक्ष्मी कन्सट्रक्सनले प्रदेशसभा सचिवालयको भवनको मर्मत गरेको छ ।
यस्तै मष्टेश्वर निर्माण सेवाले ४ लाख १९ हजारमा प्रदेशसभा हलको भवनमा रहेको चेकपोष्ट निर्माण सुधार र एए कन्सट्रक्सनले ४ लाख २२ हजारमा प्रदेशसभा हल भवन अगाडी ब्लक लगाएको हो।
अहिले मौखिक कार्यादेश दिएर निर्माण गरिएका संरचनाको हकमा मात्रै भुक्तानि दिईएको छ । तर टेण्डर प्रक्रिया मार्फत निर्माण सम्पन्न भएका संरचनाको लागत रकमको बिल तयार भइरहेकाले केही दिनमा भुक्तानी दिईने बताइएको छ ।