वन क्षेत्र मुख्य वाधकः प्रदेशको समृद्धिसँग जोडिएका तीन ठुला सडक कछुवाको गतिमा
प्रदेश नम्वर ७ को समृद्धिसँग जोडिएका कैलालीका तीन ठुला सडक आयोजनाहरुको निर्माण कार्य कछुवाको गतिमा भईरहेको छ । प्रदेश नम्वर ७ को सवैभन्दा वढी जनसंख्या र जनघनत्व भएको कैलालीमा सञ्चालित तीन ठुला र महत्वका सडकहरुको निर्माण कार्य सुस्त गतिमा भईरहेको हो । मोहनापुल अत्तरीया सडक, स्याउले दिपायल फाष्ट ट्रयाक र सेती लोकमार्ग सडकको निर्माण कार्यलाई गति दिनका लागि वन क्षेत्र नै वाधक देखिएको छ । यसले सडकहरुको प्रगति पनि एक तिहाईको हाराहारीमा मात्रै भएको छ ।
सडकलाई समृद्धिको मुख्य आधार मानिन्छ । तर त्यही समृद्धिको लक्ष्य सहित कैलालीमा सञ्चालित तीन ठुला सडकहरुको निर्माण कार्य कछुवाको गतिमा भईरहेको छ । विभिन्न समस्या र कठिनाईले सडक आयोजनाहरुले गति लिन नसक्दा समृद्धिका सपनाहरु अधुरै रहेका छन ।
मोहनापुल अत्तरीया ६ लेन सडकको निर्माण कार्य लामो समयदेखि प्रभावित वन्दै आएको छ । संरचना नभत्काउने रिट खारेज पछि पनि घरधनीहरुले अटेरी गरिरहेका वेला जिल्ला वन कार्यालयले एक पटक सय रुख मात्रै काट्न भनेर दिने अनुमतिका कारण निर्माणको काम सुस्त गतिमा भईरहेको छ । यसले निर्धारित समयमै निर्माण कार्य नसकिने अवस्था आएको वताउँदै सडक आयोजनाका प्रमुख मनिषकुमार शाहले वताए ।
प्रदेश राजधानी धनगढीसँग जोडिएको पहाडी जिल्ला जोड्ने सवैभन्दा छोटो दुरीको स्याउले–दिपायल फास्ट ट्रयाक सडक खण्डमा अहिले ६ वटा ठेक्का टेण्डर भएका छन । यो वर्ष १४ किलोमिटर ट्रयाक खुलेको अवस्थामा अधिकांश वन क्षेत्र परेकोले निर्माण कार्य प्रभावित भएको फास्ट ट्रयाक आयोजनाका प्रमुख राजेन्द्र शाहले जानकारी दिए ।
सेती राजमार्ग अन्तर्गतको दक्षिण खण्डमा २२ करोड विनियोजन भएकोमा एक करोड मात्रै निकासा भएको छ । दक्षिण खण्डको भौतिक प्रगति ३० प्रशितत र आयोजनाको प्रगति ६ प्रतिशत मात्रै भएकोमा वन क्षेत्रकै कारण सडक निर्माणको काममा ढिलाई भईरहेको सेती लोकमार्गको दक्षिणी खण्डका प्रमुख राजेशप्रसाद दासले वताए ।
यता प्रदेश नम्वर ७ को सरकारले सडक योजनाहरु निर्माणमा भईरहेको ढिलाई हटाएर विकासका कामलाई गति दिने गरी अगाडी वढ्ने जनाएको छ । वन क्षेत्र नै वाधक भएकोले त्यसलाई कसरी हटाउने भन्ने विषयमा निर्णय लिने उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टको दावी रहेको छ ।