सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्मचारीले काम नगरेपछि मालपोत धनगढीका प्रमुखको कार्यकक्षमै हङ्गामा

२०८१ वैशाख २८, ०६:५१ कमल सावद

धनगढीः कैलालीको गौरीगंगा नगरपालिका–५ का हेमन्त सावदको परिवारले जग्गाको अंशबन्डा गर्नु थियो।

सिफारीस लगायतका सम्पूर्ण कागजपत्र ल्याएर सावद परिवार मालपोत कार्यालय, धनगढी आए। उनीहरु लेखापढी व्यवसाय हुँदै मालपोत कार्यालयसम्म पुगेका हुन। तर, मालपोतका कर्मचारीले प्रत्येक कोठामा घुस माग्दै गए। कर्मचारीहरुले अंशबन्डा गर्ने जग्गामा सडक नभएको, निवेदन नमिलेको, जग्गाको मूल्याङ्कन लगायतमा बखेडा झिकेर काम रोकेको सेवाग्राहीको गुनासो छ।

कर्मचारीबाटै काम अल्झाउन थालेपछि सावद मालपोत कार्यालय, धनगढीका प्रमुख प्रेम दौल्यालको कार्यकक्षमै पुगेका थिए। कार्यालय प्रमुखसँग हङ्गामा गरेको सावदको तर्क छ। उनले भने, ‘कर्मचारीले काम नगरेपछि हाकीककोमा गए। हाकिमले पनि म के गर्न सक्छु भने। तल कर्मचारी छन्, कर्मचारीबाट काम गराउनु भने। एक÷दुई ठाउँमा पाँच सय रुपैयाँ पनि मागे। शुक्रवार हो भनेर पैसा मागे।

हाकीमकोमा गएपछि, हाकीमले पनि त्यही व्यवहार गरे। अनि भिडिओ बनाएर हपारेको हो।’ मालपोत कार्यालय कैलालीमा घुस र भनसुनबिना सेवा पाउन सकस हुने गरेको छ। कार्यालयका कर्मचारीहरुले प्रत्येक कोठाहरुमा घुस माग्ने गरेको गुनासो छ। सेवाग्राहीले प्रति कोठामा कम्तिमा पाँच सय रुपैयाँ घुस दिनु अनिवार्य जस्तै भएको गुनासो गरेका छन्। मालपोतमा कार्यालय सहयोगिदेखि प्रमुखसम्मले घुस रकम माग्ने गरेको विषय बाहिर आएको छ।

सरकारलाई तिर्नुपर्ने करबाहेक अतिरिक्त रकम दिएपछि मात्र कर्मचारीहरुले काम गर्ने गरेको गुनासो सेवाग्राहीको छ। सावदले भने, ‘कर्मचारीहरुले सोझा–साझा र केही नजान्नेलाई कति रुचाउछन, होला? बाटो नभएका ठाउँमा हामीले बाटो कताबाट ल्याउने? बाटो छैन। तर, बाटो ल्याउनुहोस भने। अनि म हाकीमकोमा गएको हो।’

मालपोत कार्यालय धनगढीमा सेवाग्राहीले हङ्गामा गरेको एक हप्ता भएको छ। तर, कार्यालय प्रमुख प्रेम दौल्याल मौन छन्। सेवाग्राहीले काम ढिलो भएकाले आक्रोश देखाएका हुन। तर, कार्यालय प्रमुखले कागज अपूर्ण भएकाले काम ढिलो भएको तर्क गरेका छन्। सेवाग्रहीको सङ्ख्या धेरै भएकाले सेवा दिन समस्या हुँदै आएको दाबी उनको छ। उनले भनेर्, सामान्य हो। लिखतमा कागज नपुगेको अवस्था थियो।

एकछिनमा समाधान भयो। फाँटमा डिस्कस भएको थियो। कागज पुगाएर, उहाँहरु काम गरेर जानु भएको छ।’ उनले कार्यालयका कर्मचारीले घुस नमागेको दाबी गरे। सेवाग्राहीको रुपमा मालपोत कार्यालय पुग्नेहरुले लेखापढी व्यवसायीदेखि कार्यालयका कर्मचारीलाई समेत अतिरिक्त रकम दिनुपर्ने बाध्यता छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस