सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली प्रहरी बर्दीको आडमा व्यवसायीलाई दुःख दिँदै

२०८१ वैशाख २७, ०६:४८ नारायण अवस्थी

धनगढीः कैलालीमा नेपाल प्रहरीले गैरकानुनी रूपमा पसल तथा गोदाममा छापा हानिरहेको पाइएको छ। भन्सार छली तथा राजस्व चुहावट भएको भन्दै कैलाली प्रहरीले व्यवसायीलाई दुःख दिने नियतले छापा हान्ने धन्दा चलाएको गुनासो गरिएको छ। राजस्व चुहावट, अनुसन्धान तथा नियन्त्रण गर्ने अधिकार राजस्व अनुसन्धान विभागको भए पनि कैलालीमा भने यो काम गैरकानुनी रूपमा प्रहरीले गरिरहेको छ।

यस्तै, भन्सार कार्यालयले गर्ने काम समेत प्रहरीले गरिरहेको पाइएको छ। राजस्व चुहावट तथा भन्सार सम्बन्धी कार्य गर्न सरकारले राजस्व अनुसन्धान विभाग र भन्सार विभाग गठन गरि मातहतमा कार्यालय समेत खोलेको छ। कानुनले प्रहरीलाई भन्सार छली र राजस्व चुहावटको सन्दर्भमा पसल तथा गोदाममा छापा हान्ने अधिकार नदिएको भए पनि धनगढीमा भने प्रहरीले बर्दी र शक्तिको आडमा व्यवसायीलाई दुःख दिने शृङ्खला चलाएको गुनासो गरिएको छ।

भन्सार ऐन विपरीत छापा हान्दै प्रहरी

भन्सार ऐन, २०६४ को दफा ३३ मा स्वीकृति नलिई खोल्न, हेर्न र जाँच्न नपाउने व्यवस्था छ। ऐनमा ‘भन्सार कार्यालयबाट जाँचपास भएका, मालवस्तु र त्यस्तो मालवस्तु ढुवानी गरिरहेको साधन राजस्व चुहावट सम्बन्धी प्रचलित कानूनबमोजिम अनुसन्धान गर्न अधिकारप्राप्त अधिकारी बाहेक अर्थ मन्त्रालय वा महानिर्देशकको पूर्व स्वीकृति नलिई अन्य निकायले खोल्न र जाँच्न पाउनेछैन।’ तर, कैलाली प्रहरीले भने भन्सार जाँचपास भएको सामान, सवारी साधन र व्यवसायीको गोदाममा जुनसुकै समय छापा हान्न सक्छ।

कैलाली प्रहरीले केही दिनयता धनगढीमा एकपछि अर्को व्यवसायीको गोदाममा छापा हानिरहेको छ। भन्सार ऐन, विपरीत कैलाली प्रहरीले बैशाख १६ गते धनगढी–४ स्थित चटकपुरमा रहेको आशिष् अग्रवालको अर्डेन्ट इन्टरप्राइजेज प्रालिमा छापा हानेको छ। सादा पोसाकका प्रहरी सहायक निरीक्षक गजेन्द्रबहादुर चन्द र लक्षिराम दियालको टोलीले पसलमा छापा हान्दै २७ लाखको कृषि उपकरण नियन्त्रणमा लिएको हो। भन्सार छली गरेको सूचनाको आधारमा अग्रवालको पसलमा छापा हानेर सामानसहित ट्रक बरामद गरी आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय बुझाइएको कैलाली प्रहरी प्रमुख पदमबहादुर बिष्टले बताए। उनले प्रहरीलाई प्राप्त गोप्य सूचनाको अधारमा गुप्ताको गोदाममा छापा हानेर सामानसहित ट्रक बरामद गरेर अनुसन्धानका लागि भन्सार कार्यालय बुझाएको बताए। प्रहरी उपरीक्षक बिष्टले भन्सार प्रज्ञापन पत्र, भिसिटिएस लगायतका कागजात देखाउन नसक्दा समान बरामद गरी गुप्तालाई समेत पक्राउ गर्नुपरेको बताएका छन्।

कानून विपरीत प्रहरीको खानतलासी

भन्सार ऐन, २०६४ को दफा ३९ को (१) मा ‘कसैले भन्सार महसुस छली वा चोरी पैठारी गरी ल्याएको मालवस्तु कुनै घर, भवन, गोदाम वा अन्य कुनै पनि ठाउँमा लुकाएको वा राखेको छ भन्ने विश्वास वा शङ्का गर्नुपर्ने मनासिब कारण भएमा महानिर्देशकले वा सम्बन्धित भन्सार अधिकृतले कारण सहितको निर्णय गरी त्यस्तो घर, भवन, गोदाम वा ठाउँको खानतलासी लिन वा लिन लगाउन आदेश दिन सक्नेछ’ भन्ने उल्लेख छ।

यस्तै, उपदफा (२) मा ‘खानतलासी लिनुअघि सो घर, भवन गोदाम वा ठाउँको धनीलाई खानतलासी लिनुपरेको कारण समेत खोली सूचना दिनुपर्ने’ कानून व्यवस्था छ। तर कैलाली प्रहरीले भने बर्दी र हत्कडीको आडमा मन लाग्दा घर, पसल, गोदाममा छापा हान्ने र व्यवसायीलाई हत्कडी लगाएर थुन्ने काम गरिरहेको छ। व्यवसायी गुप्ताले सबै कागजात देखाउँदा समेत सादा पोसाकका असई गजेन्द्र चन्दसहितको प्रहरी टोलीले एसपी साबको आदेश भन्दै सामानसहित आफूलाई पक्राउ गरेर दुई दिनसम्म हिरासतमा राखेको गुनासो गरेका छन्।

प्रहरीद्वारा राजस्व चुहावट नियन्त्रण ऐनको समेत उल्लङ्घन

कैलाली प्रहरी प्रमुखमा पदमबहादुर बिष्ट आएपछि सादा पोसाकका प्रहारीको ज्यादती बढेको व्यवसायीहरूले बताएका छन्। प्रहरीले भन्सार ऐनको मात्रै नभएर राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को समेत उल्लङ्घन गरेर आफ्ना अवैधानिक गतिविधि बढाएको गुनासो गरिएको छ। राजस्व चुहावट भएको शँका लागेमा महानिर्देशक वा निजले खटाएको अधिकृतस्तरको कर्मचारीले आकस्मिक रूपमा जुनसुकै व्यक्ति, यात्रु वा ढुवानीका साधनलाई नियन्त्रणमा लिई खानतलासी लिन, कुनै घर पसल, गोदाम लगायतका स्थानमा प्रवेश गर्न, यातायातका साधनलाई रोकी आवश्यक कागजात माग गर्न वा तलासी लिन, कुनै भवन, गोदाम, पसल, कारोबारस्थल जग्गा र स्थानमा उपस्थित भई खानतलासी लिन, सिलबन्दी गर्न, वा कुनै मालवस्तु वा कागजात नियन्त्रणमा लिन सक्ने व्यवस्था छ।

तर, यस्तो अधिकार प्रहरीलाई भने दिइएको छैन। तर कैलाली प्रहरीले कानूनले नदिएको अधिकार प्रयोग गरेर व्यवसायीलाई आतङ्कित बनाएको प्रहरीबाट पीडित व्यवसायीले गुनासो गरेका छन्।

गुप्तासँग सम्बन्धित घटना के हो?

बैशाख १६ गते धनगढीमा व्यवसाय गर्दै आएका गुप्ताले युपी ३१३७७११ नम्बरको ट्रकमा महेन्द्रनगरबाट कृषि उपकरण धनगढी ल्याएका हुन्। उनले कञ्चनपुरको गड्डाचौकी नाका हुँदै धनगढी ल्याइएको १२ किसिमको कृषि उपकरणको प्रज्ञापन पत्र, भिसिटिएस लगायतका कागजपत्र देखाउँदा देखाउँदै पनि प्रहरीले मध्यरातमा हत्कडी लगाएर आफूसहित ट्रक र सामान जिल्ला प्रहरी कार्यालय लगेको बताउँदै आएका छन्।

कैलाली प्रहरी प्रमुखले व्यवसायीमा त्रासको वातावरण निर्माण गर्न सादा पोसाकमा प्रहरी परिचालन गरेका छन्। सादा पोसाकका प्रहरीको आदेश नमान्ने व्यवसायीको पसलमा छापा हान्दै व्यवसायीको बदनाम गर्ने तथा आर्थिक र मानसिक क्षति पुगाउन कैलाली प्रहरी उद्दित रहेको व्यवसायीले गुनासो गरेका छन्।

 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस