सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको शुक्लाफाँटामा चक्रपथ निर्माण अगाडि बढ्यो

२०८१ वैशाख २६, ०३:३५ रासस

कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नगर चक्रपथ सडक निर्माण अगाडि बढाइएको छ।

नगरपालिकाका १२ वटै वडा जोड्ने गरी चक्रपथ निर्माण गरिन लागेको हो। 

नगरपालिकाको पाँच करोड र सङ्घीय सरकारको पाँच करोड गरी रु १० करोडको लागत साझेदारीमा चक्रपथ सडक निर्माण हुन लागेको नगरपालिकाको पूर्वाधार विकास तथा व्यवस्थापन शाखाप्रमुख दीपक धामीले बताए। सडक निर्माणका लागि बोलपत्र आह्वान ई इबिड को कार्य गरिएको छ।

तीन वर्षभित्र सडक निर्माण गर्नका लागि ठेक्का सम्झौता गरिएको उनले बताए।चक्रपथ सडकको कूल लम्बाइ ११ दशमलव सात किलोमिटरमध्ये छ किलोमिटर सडक पहिलो चरणमा निर्माण हुने उनले बताए।

चक्रपथ सडक निर्माणका लागि सङ्घीय सरकारबाट एक करोड अनुदान रकम प्राप्त भएको उनले बताए,पहिलो चरणमा नगरपालिका–१२ कालागौडी चौराहादेखि वडा नं १ को खजुवापट्टि हुँदै वडा नं २ को रानीपुर, वडा नं ३ को जोनापुर, पिपलाडीसम्मको सडक निर्माणको कार्य हुनेछ।

सडक सुरक्षाका लागि सडक जोगाउन आवश्यक भएका क्षेत्रमा तीन करोडको लागतमा तटबन्ध निर्माण कार्य हुन्छ, शाखाप्रमुख धामीले भने, सोह्रभन्दा बढी ठाउँमा ह्युमपाइप र कल्भर्ट निर्माण कार्य हुन्छ।
उनका अनुसार १२ मिटर चौडाइको सडकमा सात मिटर चौडाइमा कालापत्रको कार्य गरिनेछ। ‘ओपन ग्रेडेड प्रिमिक्स कार्पेट’ प्रविधिअनुसार सडकमा २० एमएम मोटाइको कालोपत्रको कार्य गरिने धामीको भनाइ छ।

सडक गुणस्तरयुक्त बनाउनका लागि नियमित अनुगमन, निर्माण सामग्रीको गुणस्तरबारे जाँचको कार्य हुने उनले बताए।

चक्रपथ निर्माण गरी नगरपालिकाले १२ वटै वडालाई जोड्ने लक्ष्य लिएको छ। यसअघि नै चक्रपथ निर्माणका लागि नगरपालिकाले विस्तृत आयोजना प्रतिवेदन डिपिआर तयार गरिसकेको छ। 

 

कमेन्ट लोड गर्नुस