सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको ९ प्रतिशत जनसंख्यामा छैन मोबाइलको पहुँच

२०८१ वैशाख २५, १०:१८ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका नागरिकले अहिले पनि विविध समस्याको सामना गर्नु परेको छ।

मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको लामै समय वितिसक्दा पनि यहाँका नागरिकको अवस्थामा खासै सुधार आउन सकेको छैन्। राजनीतिमा लागेका नेता एवं कार्यकर्ताको दैनिक जीवनशैलीमा ठुलै परिवर्तन आएको देखिएपनि राजनीतिबाट टाढा रहेकाहरुको अवस्था भने अहिले पनि उस्तै छ।

अहिलेको आधुनिक युगमा पनि यहाँको ९ प्रतिशत जनसंख्या सामान्य मोबाइल सेवाको पहुँचबाट समेत टाढा छ। यहाँको ९ प्रतिशत जनसंख्या यो सुविधाबाट अझै वञ्चित हुन पुगेको हो। मोबाइलपछि कम्प्युटर र ल्यापटप रहेको परिवार संख्या पनि जम्मा ६ दशमलव ५९ प्रतिशत मात्र देखिएको छ। यस्तो सुविधाबाट यहाँको ९४ प्रतिशत जनसंख्या वञ्चित छ।

सुदूरपश्चिममा चार दशमलव ३९ प्रतिशत परिवार अहिले पनि शौचालयविहिनको अवस्थामा छन्। राष्ट्रिय तथ्यांक कार्यालयले आइतबार सार्वजनिक गरेको जनसंख्या साक्षरता पुस्तक तथा जनसांख्यिक सूचकहरूले ४.३९ प्रतिशत घरपरिवार अझै पनि शौचालयविहीन रहेको देखाएको हो। सुदूरपश्चिममा १.१३ प्रतिशत परिवारमा कार/जिप/भ्यान रहेको तथ्यांकले देखाएको छ।

यहाँ १५.५९ प्रतिशत घरपरिवारमा मोटरसाइकल÷स्कुटर रहेको प्रतिवेदनमा उल्लेख छ। यहाँका नागरिकको औषत आयु ७१.३ वर्ष पुगेको पनि प्रतिवेदनले देखाएको छ। औसत आयु बढ्नुमा स्वास्थ्य प्रणालीमा भएको सुधार, सचेतना, बालबालिकाले पाइरहेको पोषण र जन्मेदेखि हुर्किंदासम्म पाउने लालनपालनले समेत ठूलो भूमिका खेलेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ।

कमेन्ट लोड गर्नुस