धनगढीमा सडक मर्मतमा लापरबाही
धनगढीः कैलालीको धनगढीमा सडक मर्मतमा लापरबाही गरिएको छ। धनगढी उपमहानगरपालिका–९ मा सडक मर्मतमा निर्माण कम्पनीले लापरबाही गरेको हो।
धनगढी उपमहानगरपालिकाले गत फागुन १४ गते बिबिसी कन्स्टक्सन एण्ड बिल्डिङसँग सडक मर्मतका लागि सम्झौता गरेको थियो। उक्त निर्माण कम्पनीले सडक मर्मतमा लापर्बाही गरेको हो। निर्माण कम्पनीले सडक मर्मतको काम थालेकोमा लापर्बाही गरिएको स्थानीयले बताएका छन। धनगढी उपमहानगरपालिका–९ का स्थानीय जयबहादुर विष्टले मर्मत गरिएको कालोपत्र भत्किएको बताए। उनले भने, ‘कालोपत्र गर्नु भएको ठिक छैन। कालोमसो दलेर मात्र जानु भएको छ। हामीले ठेकेदारलाई पनि भनेका हौ।’
धनगढी उपमहानगरपालिकाका अनुसार ९ नम्बर वडामा दुई हजार आठ सय ५० मिटर सडक मर्मतका लागि ठेक्का गरिएको छ। पुनारो कालोपत्र गरिएको सडक भत्किएकाले मर्मत गरिएको हो। तर, मर्मत गरिएको क्षेत्रमा कालोपत्र गुणस्तरीय नभएको स्थानीयले गुनासो गरेका छन्।
वडा सदस्य नवराज भट्टले निर्माण कम्पनीले सडक मर्मतमा लापर्बाही गरेको बताए। उनले भने, ‘वडा र उपमहानगरपालिकाको प्राविधिकलाई भनेका हौ। ठेकेदारलाई पनि भनेका हौ। तर, उहाँहरूले सुनिरहनु भएको छैन। जनताको लगानी हो। बजेट मात्र पचाउने काम भएको छ।’ बेस पनि रोलरले नदबाएको र कालोपत्र पनि स्तरीय नरहेको उनले बताए। सोही कारणले ठाउँ–ठाउँमा हालसालै मर्मत गरिएको सडक भत्किएको उनले बताए।
धनगढी उपमहानगरपालिका–९ को भगत चोकदेखि वडा कार्यालयसम्म एक हजार आठ सय ८१ मिटर, कालोपुलदेखि शिवराज नगर टोलसम्मको पाँच सय ४८ मिटर र अर्काे एक सयउ ३९ मिटरको सडक मर्मत गरिएको हो। तर, सबै सडकमा गरिएको कालोपत्र गुणस्तरीय नभएको स्थानीयले बताएका छन्।
धनगढी उपमहानगरपालिकाका इन्जिनियर निर्मल देउवाले निर्माण कम्पनीलाई सडक फेरि मर्मत गर्न लगाउने बताए। उनले अलकत्रा बढी तताएकाले समस्या भएको बताए। उनले भने, ‘मेसिनको अपरेटर नयाँ रहेछ। केही जलेर आएको छ। बिग्रेको ठाउँमा मर्मत गर्छ। श्रीपुरबाट मेट्रेल ल्याएको छ। बढी जलाएर समस्या भएको हो। बिग्रेको ठाउँमा मर्मत गर्छ।’
वडा नम्बर ९ मा तीन हजार एक सय ३० मिटर सडक मर्मतका लागि ठेक्का गरिएको छ। हालसम्म २ हजार आठ सय ५० मिटर सडक मर्मत भएको छ। सडक बोर्ड नेपालको ७० प्रतिशत र धनगढी उपमहानगरपालिकाको ३० प्रतिशत लगानीमा भत्किएका सडक मर्मत थालिएको हो। बिबिसीसँग मात्र ९, १२, १४, १५, १८ र १९ नम्बर वडाका सडक मर्मतका लागि एक करोड १० लाख २२ हजार एक सय ५९ रुपैयाँमा सम्झौता भएको छ। निर्माण कम्पनीले असार मसान्तसम्म सडक मर्मतको काम पूरा गर्नुपर्ने छ।