सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सातवटा पुल निर्माण गर्दै उपमहानगर, दुई पुलको काम अन्तिम चरणमा

२०८१ वैशाख १८, १०:४३ नारायण अवस्थी

धनगढीः धनगढी उपमहानगरपालिकाले सातवटा आरसिसी मोटरेबल पुल निर्माण गरिरहेको छ।

कैलाली खोला, सुकुटी खोला, जोकैया खोला र भादा खोलामा पुल निर्माणको काम भइरहेको हो। २०७९ पुसमा निर्माण सम्झौता भएका पाँच पुलहरूको निर्माण अवधी १८ महिना रहेको छ। सम्झौताअनुसार २०८१ असार १५ मा सम्पूर्ण काम सम्पन्न गर्नुपर्नेमा वडा नम्बर १३ को कैलाली खोला र वडा नम्बर ४ र ५ जोड्ने कैलाली खोलाको पुल सम्झौता अवधी अगावै सम्पन्न हुने दाबी गरिएको छ।

२०७९ भन्दा अगाडि ठेक्का सम्झौता भएको वडा नम्बर ६ को जोकैया खोला र वडा नम्बर १६ को भादा खोला पुल निर्माणको प्रगति भने प्रभावकारी रुपमा हुन नसकेको इन्जिनियर कमलराज ओझाले बताए। ‘धनगढी उपमहानगरपालिकाले २०७९ पुसमा पाँच वटा आरसिसी मोटरेबल पुल निर्माण गर्न ठेक्का सम्झौता गरेको थियो। जसमध्ये जोकैया र भादा खोला पुलबाहेक अन्य पुलको निर्माण तोकिएको समयभित्र सकिने देखिन्छ’, इन्जिनियर ओझाले बताए।

उपमहानगरपालिकाले धनगढी–६ को जोकैया खोला, धनगढी–१६ को भादा खोला, वडा नम्बर १ र ८ को सुकुटी खोला, वडा नम्वर १३ कैलाली गाउँको कैलाली खोला, नास्ट कलेज नजिक, वडा नम्बर १ र २ जोड्ने साथी होटल पछाडि र साइकेन्द्रदेखि तारानगर जाने बाटोमा आरसिसी मोटरेबल पुल निर्माण गरिरहेको छ। १८ महिनामा पुल निर्माणको सम्पूर्ण काम सम्पन्न गर्न उपमहानगर र निर्माण कम्पनीबिच सम्झौता भएको हो।

निर्माणाधीन सात मध्ये दुई पुलको काम काम भने तोकिएको समयभन्दा अगाडि सकिने इन्जिनियर ओझाले बताए। ‘धनगढी–१३ कैलाली गाउँको कैलाली खोलाको पुल २०७९ पुस ११ गते धनगढी उपमहानगरपालिका र निर्माण कम्पनीबिच २०८१ असार १५ भित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएको हो। यो पुलको भौतिक प्रगति ८५ प्रतिशत भएको छ। निर्माण कम्पनीको काम हेर्दा पुलको काम जेठभित्रै सकिनेछ’, ओझाले भने।

कैलाली गाउँको पुल निर्माणको ठेक्का मणिलेक आसु जेभीले चार करोडमा पाएको हो। २० मिटर लम्बाई तथा ८ दशमलव ४ मिटर चौडा पुल जेठ मसान्त अगावै सकिने छ। धनगढी–४ र ५ जोड्ने नास्ट कलेज नजिकको पुल निर्माणको ठेक्का करिव ४ करोडमा एलवी एण्ड एबी बिल्डर्सले पाएको हो।

२५ मिटर लम्बाई र ५ दशमलव ५ मिटर चौडाइको पक्की पुलको प्रगति ८५ प्रतिशत भएको छ। सो पुलको सम्पूर्ण काम पनि जेठ मसान्तभित्रै सकिने इन्जिनियर ओझाले बताए। निर्माणाधीन सात पुलमध्ये जोकैया र भादा खोला पुलको काम कम भएको छ। अन्य तीन पुलको प्रगति भने सन्तोषजनक रहेको उपमहानगरपालिकाले जनाएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस