सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा आगलागीबाट पाँच करोड २० लाखको क्षति

फाइल फोटो
फाइल फोटो
२०८१ वैशाख १८, १०:१२ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा आगलागीका घटना भयावह रुपमा बढ्न थालेको छ।

प्रदेशका नौवटै जिल्लामा एकपछि अर्को आगलागी हुन थालेको हो। आगलागीबाट ठूलो धनजनको क्षति भएको छ। अहिलेसम्म आगलागीबाट पाँच करोड २० लाख २७ हजार पाँच सय मुल्य बराबरको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको छ। अहिलेसम्म एक सय ९६ आगलागीका घटना भएको तथ्यांक सार्वजनिक भएको छ।

सुदूरपश्चिम प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्र धनगढीले संकलन गरेको विवरण अनुसार साउनदेखि हालसम्म आगलागीमा परेर पाँच महिलासहित ९ पुरुषको मृत्यु भइसकेको छ। १३ महिलासहित २५ पुरुष घाइते भएका छन्। आगलागीबाट दुई सय २० परिवार प्रभावित बन्न पुगेका छन्। बैशाख सुरु भएसँगै आगलागीका घटना एकपछि अर्को भयावह रुपमा बढ्न सुरु भएको हो। अहिलेसम्म १९ घर पुर्ण र २९ घरमा आंशिक क्षति पुगेको छ।

५२ वटा गोठ जलेर ५६ पशुचौपायामा क्षति पुगेको छ। बैशाख सुरु भएयता दैनिक रुपमा एक दर्जनको हाराहारीमा अगलागीका घटना सार्वजनिक भइरहेका छन्। सामुदायिक, राष्ट्रिय र संरक्षित वन क्षेत्रमा आगो लाग्दा नजिकैका वस्ती तथा होटल, पसलमा समेत आगलागी भएर ठूलो नोक्सानी हुने गरेको विवरण प्राप्त भइरहेका छन्।

साथै कैलाली र कञ्चनपुरमा भित्र्याउन ठिक्क पारेको किसानको गहुँबालीमा आगो लाग्दा खेतबारीमै गहुँ जलेर खरानी हुन पुगेको छ। आगलागीबाट ठूलो धनजनको क्षति हुनेक्रम जारी रहेपनि भरपर्दो उपायको खोजी कहिँकतैबाट गरिएको छैन्। प्रदेशभित्र ८८ वटा स्थानीय तहहरु छन्। तर दमकल १८ वटा पालिकामा मात्र छ। एउटा दमकल भने सञ्चालनमा छैन्। १७ वटा दमकल मात्र सञ्चालमा देखिएपछि आगो नियन्त्रणमा लिन सकस भइरहेको हो।

कमेन्ट लोड गर्नुस