सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षकको प्रमाणपत्र नै नक्कली

२०८१ वैशाख १०, ०४:५४ खबर संवाददाता

धनगढीः डोटीमा कार्यरत एक सशस्त्र प्रहरी निरीक्षक विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।

नक्कली शैक्षिक प्रमाण पत्र पेश गरी सेवा प्रवेश गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका निरीक्षक प्रकाशबहादुर चन्दविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। सशस्त्र प्रहरी बल ३६ नम्बर गण हेडक्वार्टर डोटीमा कार्यरत चन्दविरुद्ध सोमबार अख्तियारले विशेष अदातलमा मुद्दा दायर गरेको हो।

चन्दले भारतको माध्यमिक शिक्षा परिषद् उत्तर प्रदेश बोर्ड अफ हाइ स्कुल एण्ड इन्टरमिडिएट एजुकेसन युपीबाट जारी भएको १०+२ को शैक्षिक प्रमाणपत्र नक्कली बनाएको पाइएपछि अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको हो। उनले नक्कली प्रमाणपत्र पेस गरी सशस्त्र प्रहरी परिचर पदमा नियुक्ति लिएर पछि माथिल्ला विभिन्न पदको लागि समेत सोही प्रमाणपत्र देखाएर सशस्त्र प्रहरी निरीक्षक पदसम्म पुगेको अख्तियारको अनुसन्धानले देखाएको छ।

उनले नक्कली प्रमाणपत्रका आधारमा सरकारी ओहोदा, लाभ र सुविधा प्राप्त गरेको भन्दै अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा १ बमोजिम कैद र जरिवाना मागदाबी गरिएको छ। उक्त दफामा झुटा विवरण दिइ सरकारी लाभ सुविधा लिएको कसूरमा संलग्नलाई ६ महिनादेखि १ वर्षसम्म कैद सजाय र १० रुपैयाँदेखि २० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

कमेन्ट लोड गर्नुस