सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको पुनर्वासमा मुक्त हलियाका लागि बनेका घर रित्तै

२०८१ वैशाख ७, ०३:४७ नारायण अवस्थी

धनगढीः कञ्चनपुरको पुनर्वास नगरपालिका–९ ‘ख’ गाउँमा मुक्त हलियाका लागि आवास निर्माण गरिएको छ।

सरकारले निर्माण गरेको आवास क्षेत्रमा ४२ घर छन्। तर चार÷पाँच  बाहेक अन्य घरमा ताला लगाइएको छ। मुक्त हलियाका लागि बनेका घरहरूमा मान्छेको बसोबास छैन। मुक्त हलियाका नाममा अन्तसमेत घर जग्गा भएका व्यक्तिले घर पाएकाले घरहरू रित्तै रहेको स्थानीय पदमबहादुर परियारले बताए। ‘यता घर पाएकाहरूको बसोबास वडा नम्बर ८ मा छ।

जग्गा उता घर यता भएकाले नबसेका हुन्’, उनले भने, ‘घर धनीहरूकहिलेकाही घर हेर्न आउँछन्, कोही भने रोजगारीको लागि भारत गएका छन्; केहीले अरूलाई बस्न दिएका छन्।’ सो वस्तीमा मुक्त हलिया आवास निर्माणका लागि २०७७ सालदेखि काम अघि बढाइएको थियो। आवास निर्माणका लागि सङ्घीय भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रति घर दुई लाख २५ हजार रुपैयाँका दरले एक करोड ७६ लाख ४७ हजार ५ सय रकम विनियोजन गरेको थियो।

त्यस्तै, ह्याविट्याट फर ह्युम्यानिटीको ६२ लाख ८७ हजार र पुनर्वास नगरपालिकाको ३ लाख ३५ हजार अनुदान तथा १३ लाख १७ हजार ४ सय २० रुपैयाँ बराबरको जनश्रमदान समेत गरी कुल दुई करोड ५५ लाख ८६ हजार रुपैयाँको लागतमा ४२ वटा घर निर्माण गरिएका हुन्। तर, निर्माण भएका ४२ घरमध्ये मान्छेको बसोबास भएका घरहरूमा अरू नै बसेका छन्। पुर्खौली जग्गा नभएकाले धर्म भाइको घरमा बस्न आएको कमला सुनारले बताइन्।

‘हाम्रो पुर्खौली जग्गा ससुराको नाममा थोरै थियो पहाडमा, ससुराको मृत्युपछि त्यो जग्गा कन्छा ससुराले आफ्नो नाममा गरे’, उनले भनिन्, ‘अहिले हामीसँग न पहाडमा न त तराईमै जग्गा छ। छोराछोरी पढेर केही गर्लान् भनेर धर्म भाइको घरमा बसेका छौँ।’
कमला जस्तै दाचुर्लाबाट बसाई सरेर आएका महेश दमाईले आफू अरुको घरमा बसोबास गरिरहेको बताए। उनले आफू पनि भूमिहीन भएकोले सरकारले व्यवस्था गर्न माग गरेका छन्।

पुनर्वास नगरपालिका वडा नम्बर ९‘ख’ गाउँको मुक्त हलिया बस्तीका अधिकांश मुक्त हलिया अर्कै वडामा बसोबास गरिरहेको पाइएको छ। वास्तविक घरधनीहरु अधिकांश वडा नम्बर ८ मा बसोबास गरिहेको र आफ्नो घरमा कहिलेकाहीँ मात्रै आउने गरेको स्थानीय अमर खड्काले बताए। ‘यी घरहरूमा ताला लगाइएको छ। चार÷पाँच घरमा पनि अरु नै बसिरहेका छन्’, उनले भने, ‘धेरैजसोका घर अर्को वडामा छन्। उनीहरू कहिलेकाही मात्रै घर हेर्न आउँछन्।

नल, शौचालय, बिजुली सबै जोडेको छ तर मान्छेले बस्न मन गरेका छैनन्।’ मुक्त हलिया बस्तीका केही परिवारका सदस्य रोजगारीका लागि भारत गएका छन्। अधिकांश वडा नम्बर ८ को  ऐलानी जमिन उपभोग गरेर बसिरहेका छन्।सरकारले मुक्त हलियाको पुनःस्थापनाका लागि आवास कार्यक्रम लागू गरे पनि बनेका घरमा बसोबास नभएपछि घरहरू बाझो जस्तै देखिएका छन्।

घर पाएका मुक्त हलिय परिवारलाई बसोबासका लागि पटकपटक अनुरोध गरिए पनि नमानेको वडा नम्बर ९ का वडासदस्य रामबहादुर खातीले बताए। ‘यता घर पाएकाहरू अर्को वडामा बसेका छन्। उहाँहरूलाई बसाइँसराइ गर्नुहोस् भन्दा पनि मान्नु हुन्न। ऐलानी जग्गा उता घर मात्रै यता भएर पनि बस्न नसकेका हुन्। उहाँहरूलाई घर दिने काम यसअघिको निर्वाचित टीमले गरेको हो’, खातीले भने। मुक्त हलिया परिवारका लागि आवास कार्यक्रम अन्तर्गत सरकारले पुनर्वास नगरपालिका वडा नम्बर ९ ‘ख’ गाउँमा ४२ वटा घर निर्माण भए पनि मान्छेको बसोबास नभएपछि अहिले सो वस्ती सुनसान जस्तै देखिएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस