सुदूर नेपाललाई विश्वसँग जोड्दै

पलियामा बेहोस भेटिएका तीन किशोरीलाई भारतीय प्रहरीले गौरीफन्टा पुर्‍यायो

२०८१ वैशाख २०, ११:५३ कमल सावद

धनगढी : भारतको पलियामा बेहोस भेटिएका तीन किशोरीलाई भारतीय प्रहरीले गौरीफन्टा पुर्‍याएको छ। भारतीय प्रहरीका अनुसार उनीहरू पलियामा लागुऔषध सेवन गरेर बेहोस भएका थिए।

सडकमा बेहोस भेटिएका दुर्व्यसनी किशोरीहरूलाई भारतीय प्रहरीले गाडिमा राखेर नेपाल–भारत सीमा क्षेत्र गौरीफन्टा पुर्‍याएको हो। धनगढीका तीन किशोरीलाई भारतीय प्रहरीले नेपाल प्रहरीको जिम्मा लगाएको बताएको छ। धनगढीकी चन्दा विक, रिया पाली र माया पालीलाई भारतीय प्रहरीले पलियाबाट गौरीफन्टासम्म ल्याएको हो। उनीहरूलाई सीमा क्षेत्रमा रहेको शान्ति पुनर्स्थापना गृहमा राखिएको थियो। उनीहरूका अभिभावकहरूले लगेर गएका नेपाल प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता कवीन्द्र सिंह बोहराले तीन किशोरीहरूलाई भारतीय प्रहरीले गौरीफन्टासम्म ल्याएको बताए। उनीहरू तीनै जना दुर्व्यसनीहरू रहेका उनले बताएका छन। मङ्गलवार एक जना र बुधवार २ जना किशोरीहरूलाई भारतीय प्रहरीले गौरीफन्टा सीमा क्षेत्रसम्म ल्याएको हो।

भारतीय प्रहरीले नेपाली दुर्व्यसनीहरूको सूचिसमेत बनाउदैछ। भारतीय बजार पलियामा नेपाली दुर्व्यसनीहरूको सङ्ख्या बढेपछि प्रहरीले सूचि बनाउने र उनीहरुलाई नेपालसम्म ल्याउने गरेको हो। भारतीय प्रहरीका अधिकारी यादवेंद्र यादवले पलिया, वन गाउँ लगाएतका सहरहरू लागुऔषध सेवनकर्ताहरूको अखडा बन्दै गएको बताएका थिए। नेपाली सेवनकर्ताहरूको कारण पलिया बदनाम हुन थालेकाले उनीहरूको सूचि तयार गर्ने, पक्राउ गर्ने र नेपालसम्म ल्याउने काम भारतीय प्रहरीले थालेको हो।

नेपाल–भारत सीमा क्षेत्रहरूमा नेपाल प्रहरीले उनीहरूलाई निगरानीमा राख्न सहज होस् भनेर भारतीय प्रहरीले सूचि तयार गर्ने काम थालेको बताएको छ। तर, नेपाल–भारत खुल्ला सीमानाका कारण नेपाल प्रहरीलाई दुर्व्यसनीहरूलाई रोक्न समस्या रहेको छ।

भारतमा लोक सभाको निर्वाचन हुँदैछ। लोक साभाको निर्वाचनका कारण भारतीय प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ। सोही कारण पलियाका सडकहरूमा भौँतारिएका उनीहरूलाई नेपालसम्म ल्याउने गरिएको हो। रातिको समयमा समेत पलियामा हुने उनीहरू माथि कुनै घटना भयो भनेपनि समस्या हुने भारतीय प्रहरीले बताउने गरेको छ।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस