सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरपालिका विरुद्ध उच्च अदालतमा दायर रिट खारेज

२०८१ वैशाख ६, ०५:०४ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिका विरुद्ध उच्च अदालत दिपायलमा दायर रिट खारेज भएको छ।

धनगढी–३ केदार टोल जाने सडक चौडा गर्न हुन्न भन्दै स्थानीय नन्दा भट्टसहित २७ जनाले सडक चौडा गर्ने काम रोक्न अन्तरिम आदेश माग गर्दै उच्च अदालत दिपायलमा रिट दर्ता गरेका थिए। बिहिवार भएको सुनुवाइमा निवेदक २७ जनाको माग खारेज गर्दै उच्च अदालत दिपायलले उपमहानगरपालिकालाई सडक निर्माण गर्ने बाटो खोलिदिएको छ।

केदार टोल जाने सडक १४ मिटर चौडा गर्न सडक क्षेत्राधिकार छोड्न उपमहानगरपालिकाले सूचना जारी गरेपछि स्थानीय २७ जना अन्तरिम आदेशको माग गर्दै उच्च अदालत पुगेका थिए। बिहिवार भएको बहसमा धनगढी उपमहानगरपालिकाको तर्फबाट कानून अधिकृत खडक कुन्जेडाले बहस गरेका हुन् भने रिटकर्ताको तर्फबाट अधिवक्ता गम्भीरसिंह ऐरी तथा कर्णबहादुर महराले बहस गरेका हुन्।

उच्च अदालत दिपायले रिट खारेज गरेसँगै उपमहानगरपालिकालाई सडक निर्माण गर्ने बाटो खुलेको छ।

 

कमेन्ट लोड गर्नुस