सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटामा विश्व विद्यालय सञ्चालनका लागि बजेटको व्यवस्था गर्न मन्त्रीसँग माग

२०८० फाल्गुन २९, ०८:३९ कमल सावद

धनगढीः उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालनका लागि बजेट विनियोजनको माग गरिएको छ। कैलालीको गेटामा भौतिक संरचना तयार भएकाले विश्व विद्यालयको ऐन पारित र सञ्चालनका लागि बजेटको व्यवस्था गर्न सङ्घर्ष समितिले मन्त्री भण्डारीसँग माग गरेको हो।

सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालनार्थ सङ्घर्ष समितिले मङ्गलवार धनगढीमा मन्त्री भण्डारीको ध्यानाकर्षण गराएको छ। समितिका अध्यक्ष लोकराज पाण्डे (आगो)ले भौतिक संरचना तयारी अवस्थामा रहेकाले ६ सय शय्याको अस्पतालसहित अध्यापनको कामका लागि बजेटको व्यवस्था गर्न माग गरेका हुन्।

उनले जग्गा तथा भौतिक संरचनाहरू पर्याप्त रहेकाले विश्व विद्यालय सञ्चालनका लागि बजेट विनियोजन गर्न माग गरेका छन्। पाण्डेले भने, ‘एक सय शैयाको अस्पताल भनेर सञ्चालन गरिएको छ। त्यो अस्पताल नभई खाली ओपिडि सेवामा सीमित छ। चिकित्सकलाई घाम ताप्न ठिक्क भएको छ। न यहाँ अप्रेसन सेवा छ। न एम्बुलेन्स सेवा। न प्रस्तुति सेवानै छ। खाली नामको अस्पताल खोलिएको छ।’

पाण्डेले मन्त्री भण्डारीसँग सञ्चालनको कानुन प्रतिनिधि सभाबाट पारित र बजेट विनियोजनको माग गरेका हुन्। उनले मन्त्री भण्डारीसँग भने, ‘तपाई गेटा मेडिकल कलेजका लागि बजेट विनियोजनका बेलादेखि विश्वविद्यालय नामाकरणसम्म प्रत्यक्ष सहभागी हुनुहुन्छ। सरकार र सदन दुवैबाट तपाइको प्रयास अथक थियो। अहिले ठिक्क तपाइनै क्याबिनेट मन्त्री बन्नुभाछ। अब मेडिकल विश्वविद्यालयको काम तीव्र अगाडी बढ्नेमा हामी ढुक्क छौँ।’

मन्त्री भण्डारीले अर्थ राज्यमन्त्री हुँदा गेटाका लागि ठुलो मात्रामा बजेट विनियोजन गरेको बताए। उनले भने, ‘म राज्यमन्त्री थिए। त्यो बेला ठुलो बजेट परेको हो। नामाकरणसमेत गरिएको हो। त्यसपछि म पद बाहिर हुँदापनि संघर्ष समितिको आवाजलाई सदनबाट बुलन्द गरेको थिए। गत वर्ष म उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भएकै बेला गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णयपनि गर्न सफल भयौँ। त्यस कारण म गेटा सित सधैँ जोडिएको छु।

उनले केही व्यक्तिले गेटामा विश्व विद्यालय नचाहेको समेत बताएका छन्। उनले भने, ‘बिचमा केही राजनीतिक व्यक्ति र जनप्रतिनिधिबाटै कस्ता वक्तव्य आए, त्यो सबैलाई थाहा नै छ। तर, म सधैँ यहाँको जनताको आवाजको पक्षमा थिए। र रहने छु। अहिले फेरि सरकारमा जाने अवशर मिलेको छ। म गेटाका लागी सम्पूर्ण पहल गर्ने छु। सङ्घर्ष समितिले उठाएका मुद्‍दा सम्बोधनका लागी सम्बन्धीत मन्त्रीदेखि प्रधानमन्त्री र मन्त्रीपरिषद्मा यो एजेन्डा पेस गर्ने छु र सधैँ यो मुद्‍दा प्रति गम्भीर रहने छु।’

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस