साफ च्याम्पियनसिप आजबाट सुरु, नेपाल र कुवेत भिड्दै
काठमाडौं: पुरुष साफ च्याम्पियनसिप फुटबलको १४ औं संस्करण आज बुधबारबाट भारतमा सुरु हुँदैछ। बैंगलोरस्थित श्री कांतिराव स्टेडियम मा आयोजना हुने १४ औं साफमा ८ राष्ट्रको सहभागिता रहेको छ। यस संस्करणको च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन्।
यस संस्करणमा कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा खेल्ने छन्। साफको उद्घाटन खेलमा समूह ’ए’ मा रहेको नेपालले आज बलियो टोली कुवेतविरुद्ध प्रतिस्पर्धा गर्नेछ। साविक उपविजेता समेत रहेको नेपाल र कुवेतबीचको उद्घाटन खेल नेपाली समय अनुसार ३ः४५ बजे सुरु हुनेछ।
यस्तै पहिलो दिन भारत र पाकिस्तानबीच समेत प्रतिस्पर्धा हुनेछ। नेपाल आज कुवेतलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गर्न चाहन्छ। तर, बलियो टोली कुवेतविरुद्ध नेपाली सहज हुने छैन। कुवेत र नेपालबीच पछिल्लो पटक गत वर्षको जेठमा प्रतिस्पर्धा भएको थियो। एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत कुवेतमा भएको खेलमा नेपाललाई घरेलु टोलीले ४–१ गोल अन्तरले हराएको थियो।
नेपाल र कुवेतबीच हालसम्म ९ खेल भएको छ। जसमा ८ खेल कुवेतले जितेको छ भने एक खेल बराबरीमा सकिएको छ। यस संस्करणको साफमा नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेको छ। समूह ’बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन्। नेपालले दोस्रो खेलमा ९ असारमा आयोजक भारतसँग खेल्नेछ। यस्तै तेस्रो तथा समूह चरणको अन्तिम खेलमा १२ असारमा पाकिस्तानविरुद्ध खेल्नेछ।