सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहाडमा पनि औलोको संक्रमण, बैतडीमा २९ जना बिरामी फेला

२०७५ वैशाख १७, १०:०९

प्रदेश नं ७ को पहाडी जिल्ला बैतडी पनि औलोको जोखिममा रहेको पाइएको छ। पछिल्लो तीन वर्षयता औलोका बिरामी बढ्दै गएकाले बैतडी औलोको जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिष्टेन्ट सन्तोष पाण्डेयले जानकारी दिनुभयो। जिल्लाको तल्लोस्वराड क्षेत्रको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका विभिन्न वडामा औलोका बिरामी फेला परेका छन्। विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि पुगेका बिरामीको रगत जाँच गर्दा औलो फेला परेको उहाले बताउनुभयो। चालू आ.वमा  अहिलेसम्म २९ जना औलोका बिरामी फेला परिसकेका छन्।

गर्मीको समयमा औलोका बिरामी बढ्ने भएकाले यो संख्या अझै बढ्ने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। पहाडी क्षेत्रमा लामखुट्टेको वृद्धि भएसँगै औलोका बिरामी पनि देखिन थालेका छन्। औलोबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने हुन्छ। यसका लागि झुलको प्रयोग गर्नुपर्ने, आफ्नो घर वरिपरिको वातावरण सफा राख्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव रहेको छ। 
रासस
 

कमेन्ट लोड गर्नुस