सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेतीमा मातृशिशु भवन निर्माणको काम साढे पाँच वर्षदेखि अलपत्र

२०८० जेठ ३०, ०७:०१ नारायण अवस्थी

धनगढीः सेती प्रादेशिक अस्पतालमा मातृशिशु भवन निर्माणको काम अझै पूरा भएको छैन्। निर्माण सुरु भएको पाँच वर्ष सात महिना वितिसक्दा पनि काम पूरा नभएको हो। निर्माण कम्पनीको लापरबाहीका कारण भवन निर्माणका लागि पटक–पटक म्याद थप्ने काम मात्र हुँदै आएको छ। अस्पताल भवनको अझै १५ प्रतिशत काम बाँकी छ।

अन्तिम पटकका लागि भन्दै पुनः म्याद थप गरिएको छ। साढे ६ वर्षसम्म अस्पताल भवन निर्माणको काम पूरा नहुँदा उपचार सेवा प्रभावित बन्न पुगेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाहले बताए। ‘साढे ६ वर्षसम्म भवन बनेर हस्तान्तरण भएको छैन। अस्पतालको ओपिडी भवन सडक क्षेत्राधिकारमा पर्दा भत्काउनु परेको छ,’ उनले भने, ‘नयाँ भवन कहिले सम्पन्न हुने हो त्यो थाहा छैन।’

सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई धनगढीले सेती प्रादेशिक अस्पतालमा नयाँ भवन निर्माण गर्न थालेको जेठमा ५ वर्ष ७ महिना पूरा भइसकेको छ। तर, भवनको १५ प्रतिशत काम अझै बाँकी छ। २०७४ कार्तिक २८ गते ठेक्का सम्झौता हुँदा निर्माण कम्पनी रविना÷थेगिम जेभी, धनगढीले ३० महिना अर्थात २०७७ बैशाख २७ गते निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो।

निर्माण कम्पनीले अझै काम पूरा नगर्दा अधुरो भवनमै ओपिडी सेवा सुरु गरिएको छ। सो कम्पनीसँग १८ करोड ७४ लाख २८ हजार ५२९ रुपैयाँ ६५ पैसामा ठेक्का सम्झौता गरिएको थियो। २०७७ बैशाखदेखि पटक–पटक म्याद थप्दा पनि भवन निर्माणले पूर्णता पाउन सकेको छैन। तोकिएको समयभन्दा तेब्बर समय भइसक्दा पनि भवन निर्माणको काम अलपत्र छ। १५ प्रतिशत काम अझै बाँकी रहेको संघीय आयोजना कार्यान्वयन इकाई धनगढीका सूचना अधिकारी इन्जिनियर सौरभ कलौनीले बताए।

‘अस्पताल भवनको भौतिक प्रगति ८५ प्रतिशत पुगेको छ। निर्माण कम्पनीले सुस्त गतिमा काम गरिरहेको छ,’ उनले भने, ‘असार २५ सम्म अन्तिम पटकका लागि म्याद थप भएको छ। तर, काम गरेको स्पिड हेर्दा यो पटक पनि काम सकिने स्थिति छैन।’ निर्माण कम्पनीले गत माघमा ८० प्रतिशत काम गरेकोमा त्यसपछिका चार महिनामा थप ५ प्रतिशत मात्रै काम गरेको छ।

मार्बल, टायल, रङ्गरोगन, झ्यालढोका र बिजुली बत्ती जडान लगायत काम गर्न बाँकी छ। थपिएको म्यादभित्र काम सम्पन्न नगरिए असार ११ गतेदेखि हरेक दिन ठेक्का रकमको शून्य दशमलव शून्य ५ प्रतिशत जरिवाना लाग्ने भएको छ। तर, पनि निर्माण कम्पनीले बाँकी काम सक्ने तदारुकता देखाएको छैन। निर्माण कम्पनीलाई बारम्बार मौखिक र लिखित ताकेता गर्दा पनि काम नभएको सूचना अधिकारी इन्जिनियर कलौनीले बताए।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस