भारतलाई दुई सय नौ रनले हराउँदै अस्ट्रेलिया बन्यो विश्व टेस्टको च्याम्पियनसिप
एजेन्सीः आइसिसी विश्व टेस्ट च्याम्पियनसिप क्रिकेटको उपाधिधि अस्ट्रेलियाले हात पारेको छ।
इङ्ल्यान्डको द ओभलमा सोमबार भएको फाइनलमा भारतलाई दुई सय नौ रनले हराउँदै अस्ट्रेलिया च्याम्पियन बनेको हो। अस्ट्रेलियाले प्रस्तुत गरेको चार सय ४४ रनको लक्ष्य पछ्याएको भारत पाँचौ दिनको पहिलो सेसनमा दुई सय ३४ रनमै समेटिएको हो। भारतका लागि विराट कोहलीले ७८ बलमा सात चौकाको मद्दतमा सर्वाधिक ४९ रन बनाए। अजिंक्या रहाणेले ४६, कप्तान रोहित शर्माले ४३, चेतेश्वर पुजारले २७, श्रीकर भरतले २३, शुभमन गिलले १८ र मोहम्मद सामीले अविजित १३ रन जोडे। चौथो विकेटका लागि कोहली र रहाणेले ८६ रनको साझेदारी गरे।
बलिङमा अस्ट्रेलियाका नाथन लायनले चार विकेट लिए। स्कट बोल्यान्डले तीन तथा मिचेल स्टार्कले दुई विकेट लिए। यसअघि अस्ट्रेलियाले चौथो दिनमा दुई सय ७० रनमा आठ विकेट गुमाएर दोस्रो इनिङ समाप्तिको घोषणा गरेपछि भारतले चार सय ४४ रनको लक्ष्य प्राप्त गरेको थियो।
अस्ट्रेलियाका लागि एलेक्स केरीले एक सय पाँच बलमा आठ चौकाको मद्दतमा अविजित ६६ रन बनाए। मिचेल स्टार्क र मार्नुस लाबुसेनले समान ४१÷४१ , स्टिभ स्मिथले३४, क्यामरु ग्रिनले २५, ट्रविस हेडले १८ र उस्मान ख्वाजाले १३ रन बनाए। सातौं विकेटका लागि केरी र स्टार्कले ९३ रनको साझेदारी गरेका थिए।
बलिङमा भारतका लागि रविन्द्र जडेजाले तीन विकेट लिए। मोहम्मद शामी र उमेश यादवले समान दुई विकेट लिए। यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले पहिलो इनिङमा सबै विकेट गुमाउँदै चार सय ६९ रन बनाएको थियो। पहिलो इनिङमा दुई सय ९६ रनमै समेटिएपछि भारत एक सय ७३ रनलेपछि परेको थियो।